विप्लव : पहिले विभाजन रोजे, अहिले एकताका लागि दौडधुप

किरण पौडेल ९ असार २०८२ २१:५९
54
SHARES
विप्लव : पहिले विभाजन रोजे, अहिले एकताका लागि दौडधुप

काठमाडौँ– कुनैबेला बन्दुक र गोलीको जोरजाम गर्दै हिँड्ने नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अहिले कुटोकोदालो कृषिजन्य हतियारसहित खेतीमा भेटिन्छन्।
१० वर्षे जनयुद्ध र त्यसपछि केही वर्ष ‘हिंसात्मक राजनीति’ गरेका विप्लव शान्तिपूर्ण राजनीतिमा अवतरण गरेसँगै कृषिकर्ममा रमेका छन्। अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका–११, मान्द्रेमा अकबरे खेती गरेका छन् भने अन्य कृषिजन्य वस्तु पनि फलाएका छन्।

केही समयअघि विप्लवले अर्बपति विनोद चौधरीलाई आलु बेचेको विषय चर्चामा थियो। चौधरीलाई बेचेको आलु विप्लवले आफ्नै बारीमा फलाएका थिए। अहिले उनी मुख्य राजनीति भन्दा पृथक रूपमा आफ्नो बर्चस्व बनाउन चाहिरहेका छन्।

हुन त विप्लवको बाटो केही समयअघि नै बदलिएको छ। जनयुद्धकालीन समयबाट पाठ सिकेर शान्तिपूर्ण राजनीतिमा उनी होमिएका हुन्। विप्लवको अबको बाटो संसद्–सरकारतिरै हो। किनकि, विप्लवले प्रधानमन्त्री बन्ने अभिलासा सार्वजनिक मञ्चबाटै राखेका छन्।

संसदीय राजनीतिमा होमिन पार्टी दर्ताको प्रक्रिया जारी छ। तर, अरूभन्दा भिन्न देखिन उनी कृषिका कुरा उठाउँछन् भने अहिले ‘वाममोर्चा’ वा कम्युनिस्ट एकताको कुरा लिएर आइरहेका छन्।

विप्लव तिनै नेता हुन्, कुनैबेला संसदीय प्रणालीलाई ‘दलाल’ आरोप लगाउँदै माओवादी पार्टीबाटै बाहिरिएका थिए। प्रचण्ड–बाबुराम भट्टराईसँगै १० वर्षे जनयुद्ध लड्दै विप्लव शान्तिप्रक्रियामा आएका थिए।

संविधानसभाको एजेन्डा लिएर प्रचण्ड–बाबुराम सत्तातिर लाग्दा विप्लव विद्रोही बने। उनी संसदीय राजनीतिकै विरोध गर्दै माओवादी छाड्दै फेरि भूमिगत राजनीतिमा होमिएका थिए।

२०६९ सालमा मोहन वैद्य माओवादीबाट फुट्दा विप्लव वैद्यतिरै लागेका थिए। तर, त्यहाँ पनि विप्लव टिकेनन्। पुग नपुग २ वर्षमै विप्लवले आफ्नै नेतृत्वमा नेकपा जन्माउँदै नयाँ बाटो लिए। त्यसो त, विप्लव त्यतिबेला पनि सशस्त्र क्रान्तिकै सपना देख्थे। संसदीय राजनीतिविरुद्ध प्रहार गर्ने भन्दै उनी फेरि भूमिगत बने।

संघर्षबाट राज्यक्रान्ति परिवर्तन हुने छाँटकाँट देखिएन। राज्यले उनीमाथि प्रतिबन्ध लगायो भने कार्यकर्ता पक्राउ पर्न थाले। अब भने विप्लवले बाटो मोडे र शान्तिपूर्ण राजनीतिमा होमिए।

२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गर्दै उनी शान्तिपूर्ण राजनीतिमा अवतरण भए। तिनै क्रान्तिकारी विप्लव अहिले वाम ध्रुवीकरणको कुरा उठाउँदैछन्।

यो बीचमा विप्लवले प्रचण्डसँग पार्टी एकताकै कुरा अघि बढाए। कुनैबेला छुटेर गएको थलोमा फेरि पुग्ने उनको योजना थियो। तर, एकताका लागि प्रचण्ड जति लचक हुनुपथ्र्यो, त्यति भएनन्। नेकपा नेताहरूकै अनुसार प्रचण्डले आफ्ना एजेन्डालाई गम्भीररूपमा नलिँदा एकता प्रक्रिया अघि बढेन।

नेकपा नेता सुमन सी अहिले पनि माओवादीसँग आफूहरू ‘मुन्टो जोडेर एकता भन्ने’ पक्षमा नलागेको सुनाउँछन्। आफूसँग भएका एजेन्डालाई माओवादीले लिन चाहेमा मात्र एकता हुने सुमनको भनाइ छ। यही कारण विप्लव ‘वाममार्ग’ को लाइनमा छन्। उनी सबै कम्युनिस्ट एकीकृत हुनुपर्ने बुझाइ विप्लवको रहेको बताउँछन्। अहिले विप्लव समाजवादी मोर्चाका संयोजक छन्। मोर्चा संम्बद्ध दलहरूले प्रगतिशील र वामपन्थी धारका नेताहरूलाई एक बनाउने योजनाले मोर्चा गठन गरिएको दाबी गर्दै आएका छन। समाजवादी मोर्चामा एकताबद्ध गर्न विप्लवले अनुरोध गरेको नेताहरूको भनाइ छ। पछिल्ला केही सातामा विप्लवले कम्युनिस्ट घटकका नेताहरूलाई भेटेका छन्।

एजेन्डामा ठीक, व्यावहारमा कठिनाइ

विप्लवले एकसाताभित्रै नेपालका मुख्य राजनीतिक हस्तीसँग भेटेका छन्। सबैसँगको भेटमा विप्लवले वामपन्थी ध्रुवीकरणको विषय उठाएका छन्। साथै, विश्वको राजनीति र देशको वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिँदै एक हुन अनुरोध गरेका छन्। विप्लवका एजेन्डामा सबै नेता सैद्धान्तिकरूपमा सहमत छन्।

प्रचण्डले भने : यात्रा समाजवाद हो, माओवादी साथीलाई ढोका खुला छ

वाम ध्रुवीकरणका विषयमा गत शनिबार विप्लवले प्रचण्डसँग छलफल गरेका छन्। उनले कम्युनिस्ट ध्रवीकरणका बारेमा प्रचण्डलाई प्रस्ताव राखेका थिए। विप्लव निकट स्रोतका अनुसार समाजवादको यात्रामा सबै एक हुनुपर्ने प्रस्ताव अघि सारिएको थियो। जसमा प्रचण्ड पनि सहमत थिए।

‘समाजवादी क्रान्ति नै हाम्रो पनि लक्ष्य हो। तपाईंहरू अघि बढ्नुहोस्,’ प्रचण्डको भनाइ उदृत गर्दैै स्वकीय सचिव गोविन्द आचार्य हिमालप्रेससँग भन्छन्,‘माओवादी साथीहरू त मलाई जहाँ गए पनि एउटै लाग्छ। आउँदा सबैलाई ढोका खुला छ।’

आचार्यका अनुसार शान्तिपूर्ण राजनीतिमा आएपछि अब संविधानसभाको मुद्दासम्म एक भएका कारण अब सहकार्य गर्न असहज नहुने प्रचण्डले बताएका थिए।

बाबुरामले भने : मोर्चाको औचित्य छैन, विद्रोहीहरू एक हुने हो भने जान सकिन्छ

समाजवादी मोर्चाका समेत संयोजक रहेका विप्लवले मोर्चालाई समेत गतिशिल बनाउने प्रयत्नमा छन्। मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र विप्लव नेकपा छन्।

विप्लवले नेसपा (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईसँग पनि एकताकै कुरा उठाउँदै मोर्चाका कुरा जोडेका थिए। ‘मोर्चाको औचित्य छैन। विद्रोही र वैकल्पिक शक्ति एक हुने हो भने सहमत हुन सकिन्छ,’ बाबुरामको भनाइ उदृत गर्दै स्वकीय सचिव रेखी गुरुङ भन्छन्,‘नयाँ ध्रुवीकरणको आवश्यकता छ। मोर्चाभन्दा विद्रोहीहरू एक हुँदा राम्रो हो।’ भट्टराईले परम्परागत राजनीतिक परिपाटीबाट मुलुक अघि बढ्न नसक्ने कुरा अघि बढाएका थिए।

मोहनविक्रमले भने : एकता भन्दा ध्रुवीकरण रोजौँ

विप्लवले यसबीचमा पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंहलाई समेत भेटेर ध्रुवीकरणका विषयमा धारणा राखेका छन्। सिंहले विप्लवका कुरामा सैद्धान्तिक रूपमा सहमति जनाएका छन्।

‘हामीले नयाँ धारणा बनाएर जान सकिने सहमति गरेका छौँ,’ मोहनविक्रम सिंहले हिमाल प्रेससँग भने,‘हिजै मात्रै पनि प्यालेस्टाइनको पक्षमा विप्लवजीहरूसँग संयुक्त विज्ञप्ति निकालेका छौँ।’

अमेरिकाले इरानमाथि आक्रामण गरेको विषयमा सबै एकजुट बनेको सिंहको भनाइ छ। तत्काल समाजवादी मोर्चामा जाने सम्भावना नभए पनि नयाँ तरिकाले ध्रुवीकरण गर्न सकिने सिंहले बताएका थिए।

उपेन्द्र र झलनाथले भने : मोर्चामा जादैनौँ तर ध्रुवीकरण आवश्यक छ

विप्लवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पनि भेटेका छन्। भेटमा यादवले समाजवादी मोर्चामा अहिलेकै अवस्थामा जान नसकिने बताएका थिए।

‘मोर्चामा पहिले थियौँ। अब त्यही अवस्थामा जाँदैनौँ,’ जसपा नेपालका महासचिव रामकुमार शर्मा भन्छन्,‘सत्ताका लागि मात्र मोर्चा बनेको भए त्यसको औचित्य छैन।’

यसअघि जसपा नेपाल पनि मोर्चामा आबद्ध थियो। प्रचण्डकै सक्रियतामा पार्टी विभाजन गरेको भन्दै जसपा नेपाल मोर्चाबाट बाहिरियो। पछिल्लोताका जसपा नेपाल मोर्चामा नजाने अडानमा छ।

‘विगतमा मोर्चालाई सत्ता हत्याउने कसी बनाइयो। जुन पीडामा विप्लवजी, माधव नेपालजी पनि पर्नुभयो। तर अब नयाँ ढंगबाट अघि बढ्छ भने सहकार्य गर्न सकिन्छ।’ शर्माले भने। समाजवादीका सम्मानित नेता खनालले समाजवादी मोर्चाको औचित्य नभएको बताएका थिए।

खनालले समाजवादी मोर्चाले अहिलेसम्म केही प्रगति नभएको बताएका थिए। ‘जनताको हित, राष्ट्रको हित चाहने हो भने वृहत्तम वाममोर्चा बनाएर जानुपर्छ’ झलनाथको भनाइ उदृत गर्दै स्वकीय सचिव कृष्ण भट्टराईले भने, ‘तपाईँहरू अरू साना दलहरूसँग पनि छलफल गर्नुहोस्, विचार मिल्नेसँग सुरुमा कार्यगत एकता गर्दै नीति विधि सिद्धान्त मिल्नेहरूसँग तत्कालै वाममोर्चा बनाउँदै पार्टी एकतामा जान सकिन्छ।’

के चाहन्छन् विप्लव?

विप्लव अब संसदीय राजनीतिमा होमिने तयारीमा छन्। उनी अब टुटफुटको राजनीतिबाट आजित हुँदै एकताका पक्षमा उभिएका हुन्। उनी निकट नेताहरूका अनुसार अब तत्काल पार्टी दर्ता गर्न चाहदैछन्।

‘हामी पार्टी दर्ता गर्ने तयारी छौँ। सम्भवतः पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल वा नेकपा (सी) नाम राख्ने तयारी छ,’ विप्लवका एक नेताले भने,‘अब हामी संसदमा समेत लड्नेगरी अघि बढेका छौँ।’

यसअघि पनि विप्लवले स्वतन्त्र तवरले उम्मेदवार लडाएका थिए। त्यसो त, गएका निर्वाचनमा विप्लवले अन्य दललाई समर्थन जनाउँदै संसदीय राजनीतिमा होमिएका थिए।
अब भने पार्टी नै दर्ता गरेर उम्मेदवार उठाउने तयारीमा छन्। नेताहरूका अनुसार अहिले विभिन्न जिल्लामा पार्टी विस्तारको प्रक्रिया चलिरहेको छ भने सिद्धान्त मिल्नेसँग एकता प्रक्रिया अघि बढेको छ। विप्लव अब मुख्य एजेन्डा वैज्ञानिक समाजवाद राख्दै छन्।

पार्टी महासचिव विप्लवले पुस्तक नै लेखेका छन्, ‘वैज्ञानिक समाजवाद’। उसो त विप्लवले तत्कालीन कार्यदिशाका रूपमा एकीकृत जनक्रान्तिको अवधारणा ल्याएका छन्। उनको भनाइमा यो वैज्ञानिक समाजवादमा पुग्ने बाटो हो।

घुमिफिरी प्रधानमन्त्री बन्ने रणनीति

विप्लवले जुन एजेन्डा उठाए पनि अन्ततः उनको बाटो कार्यकारी प्रमुख बन्ने हो भन्ने लुकेको छैन। उनले यसअघि नै प्रधानमन्त्री बन्ने इच्छा रहेको बताएका छन्। देशको परिवर्तनका लागि अब आफ्नै नेतृत्व आवश्यक परेको उनले बताएका छन्।

यसअघि एक कार्यक्रममा उनले भनेका थिए, ‘हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौँ। एकचोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्नेकुरा हामीले राखेका छौँ।’

उनले आफूहरुको एकता कुनै दरबार खान, टिस्टेट खान र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउनका लागि नभएको बताएका थिए।

प्रकाशित: ९ असार २०८२ २१:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast