
काठमाडौँ- खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीको लागि ट्यांकरको भर पर्नुपर्ने अवस्था अन्त्य हुने दाबी गरेको धेरै समय बितेको छैन। खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले २५ जेठमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले मेलम्ची खानेपानी अब उपत्यकावासीका लागि बाह्रै महिना सञ्चालनमा ल्याई यहाँका नागरिकको पानीको समस्या अन्त्य हुने बताएका थिए।
‘अब पानीका लागि ट्यांकरको भरमा बस्नुपर्ने दिन सकिएको छ। असार महिनामा पनि मेलम्चीको पानी बन्द हुने छैन। नियमित पानी आपूर्ति सुनिश्चित गर्न सरकारले आवश्यक सबै विकल्प र पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ,’ मन्त्री यादवले भनेका थिए।
खानेपानीका लागि समस्या नहुने मन्त्री यादवले दाबी गरेको दुई साता नबित्दै उपत्यकावासी समस्या भोग्न बाध्य भएका छन्। ललिपुरको ठमेल भनेर चिनिन्छ झम्सिखेल। त्यस आसपास क्षेत्रका उपभोक्ता एक सातादेखि खानेपानीको हाहाकार झेलिरहेका छन्। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण हुने समयतालिका दिइरहेको छ। केयूकेएलले तोकेको तालिका अनुसार पानी आउला भनेर उपभोक्ता कुरेर बसिरहेका हुन्छन्। तर पानी आइदिँदैन।
केयूकेएल आफैँले जारी गरेको सूचनाअनुसार पानी उपलब्ध नगराउँदा उपत्यकावासी मध्य असारमै पानीको अभाव झेल्न बाध्य भएका छन्। शुल्क तिर्न एक महिना ढिला हुँदा जरिवाना लिन तम्त्यार भएर बस्ने केयूकेएलले समयतालिका अनुसार पानी वितरण नगर्दा उपभोक्ता चुप भएर बस्नुपर्ने अवस्था छ।
पानी आउने सूचना सार्वजनिक भएको अघिल्लो रात जतनले बाल्टीमा राखेको पानीसमेत उपभोक्ताले खाली गरेका हुन्छन्। भोलिपल्ट पानी आइहाल्छ भन्ने बुझाइ उनीहरूको हुन्छ। तर, केयूकेलले जारी गरेको समयअनुसार पानी नै आइदिँदैन। सूचनाअनुसार तोकिएको समयमा पानी वितरण नगर्ने केयूकेएलले ढिला गरी पनि पानी पठाउँदैन।
कतिपयले पानी आएपछि बालबालिकाका लागि लुगा धुने तयारी गरेका हुन्छन्। खानका लागि भाँडोमा पानी स्टोर गरेर राख्ने ध्याउन्नमा उपभोक्ताहरू हुन्छन्। मन्त्री यादवले दाबी गरिरहेजस्तो मेलम्चीको पानी खानयोग्य छैन नै। किनकि ट्यांकीमा जम्मा गरेको पानीसमेत पिँधमा हिलो जमेको हुन्छ। तर अन्यकामका लागि उपयोगी पक्कै।
गर्मीको समय भएकोले नुहाई धुवाईका लागि अन्य समयभन्दा बढी पानी खर्च हुने स्वभाविक हो। तर, उपभोक्ताले भोगिरहेको समस्याबारे सरोकारवाला निकाय गम्भीर देखिएको छैन। झम्सिखेलमात्र होइन, त्यो आसपास र काठमाडौँ महानगरकै कैयौँ क्षेत्रमा पनि पानी आएको छैन। कतिपयले यसलाई ट्यांकरसँगको कर्मचारीको मिलेमतो भनेर आरोपसमेत लगाउने गरेका छन्।
‘अहिले पानी नहुने भन्ने हुँदैन। काम गर्ने कर्मचारीहरू ट्यांकर व्यवसायी (पैसा लिएर ट्यांकरमा घरमा पानी पुर्याउने) हरूसँग मिलेमतो गर्दा यस्तो अवस्था आएको हो,’ एक उपभोक्ताले आक्रोश पोख्दै भने,‘सांसद र वडाका प्रतिनिधिसमक्ष समस्याबारे जानकारी गराइसकेको छु। तर केही सुनुवाइ भएको छैन। भोट माग्न आउने दिनमा खाली बाल्टी दिएर पठाउने हो।’
मेलम्चीको पानी वितरण हुन थालेपछि उपत्यकावासीलाई पानीको समस्या हुँदैन भनेर खानेपानीमन्त्री यादवले निरन्तर दाबी गर्दै आइरहेका छन्। तर, केयूकेएलले गरिरहेको लापारबाहीका कारण उपभोक्ताले भोगिरहेको समस्यातर्फ उनले ध्यान पुर्याउन सकेका छैनन्।
उपभोक्ताले भोगिरहेको पानीको समस्या अन्त्य गर्न बोरिङको पानी पनि वितरण गर्न सकिन्छ। धमिलो पानी भए पनि फिल्टर गरेर आउने हुनाले वितरण गर्दा खासै समस्या देखिँदैन। काठमाडौँको हजारौँ घरधुरीमा पानी नपुग्दा उपभाेक्ताले सरकारी संयन्त्रलाई नै विश्वास गर्न छाडिसकेका छन्।
उपभोक्ताको गुनासो सुन्न, आवश्यक जानकारी दिन केयूकेएलले प्रवक्ताको व्यवस्था गरेको छ। केयूकेएलको वेबसाइटमा उल्लेख भएअनुसार अहिले केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई हुन्। उनलाई सम्पर्क गर्न टेलिफोन नम्बर पनि दिइएको छ। तर, उनको फोन उठ्दैन। कार्यालयकै समयमा सोमबार पटकपटक फोन गर्दा पनि राईको फोन उठेन। त्यस्तै केयूकेएलका प्रमुख अशोककुमार पौडलको पनि फोन उठेन। यसबाटै स्पष्ट हुन्छ केयूकेएल उपभोक्ताप्रति कति जिम्मेवार छ।
केयूकेएलका एक सुपरभाइजर तहका कर्मचारीले भने,‘उहाँहरूले पानीको समस्याबारे खासै गाम्भीर्यता देखाउनु भएको छैन। गाली खाने हामीले हो। हामीले भन्ने हो, तर उहााहरूले खै के गर्नुहुन्छ थाहा छैन। पानी नआउनुपर्ने कुनै कारण छैन। मेलम्चीबाट केही दिन रोकिए पनि सुन्दरीजलमा पानी पर्याप्त छ। अनि यहाँ बोरिङ गरिने ट्यांकीमा पनि पानी छ। मिलाएर पठाउनु प¥यो नि। कामभन्दा गफ बढी गर्ने र कमाउनेमा ध्यान हाकिमहरूको।’
ती कर्मचारीका अनुसार जडिबुटी, जाउलाखेल, बंगलामुखी, सानेपामात्र होइन बत्तिसपुतली, रातोपुल, नरेफाँट, त्रिभुवन विमानस्थल क्षेत्र, पेप्सीकोलालगायतका क्षेत्रमा पनि पानी नआएको साता दिन बढी भइसकेको छ। बोरिङ भएकाले बोरिङको र नभएकाले ट्यांकर खरिद गरेर समस्या टारिरहेका छन्।
अग्रज पत्रकार ध्रुवहरि अधिकारीले आफ्नो सानेपा क्षेत्रमा पानी नआएको गुनासो गर्दै बिलमा जरिवाना तिरेको सम्झिएका छन्। पानी नआएको धाराको बिल के तिर्नु भनेर चुप लागेर बसेको बताउँदै उनले ढिलाई गर्दा जरिवाना लिएको तर पानी नआउँदा केयूकेएलले केही गर्न पर्ने प्रश्न गरे।
मेलम्चीको पानी ल्याएको भनेर सरकार र सम्बन्धित मन्त्रीले जस लिने होडबाजी चलाए पनि पानी वितरणले निरन्तरता पाउन सकेको छैन। मेलम्चीको पानीले उपत्यकावासीलाई जीवन दिने सपना बाँडिए पनि निरन्तरता पाउन नसक्दा सपनामै सीमित भएको छ। खानेपानी कार्यालयका अनुसार सिन्धुपाल्चोक खण्डमा पाइपलाइन जोड्ने काम भइरहेकाले अहिले मेलम्चीको पानीको आपूर्ति बन्द गरिएको हो।
विभिन्नखाले कारण देखाएर पानीको आपूर्ति बन्द गरिनु कुनै नयाँ विषय होइन। कहिले सुरुङ, कहिले पहिरो, कहिले निर्माणमा ढिलाइ, कहिले ड्याम बगेकोलगायतका समस्या देखाएर पटकपटक पानीको आपूर्ति बन्द हुने गरेको छ। अर्वौ लगानी गरेर निर्माण गरिएका खानेपानी प्रणालीमा किन लापरबाही गरिएको भन्ने आमनागरिकको प्रश्न बन्न थालेको छ।
मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी आउने भनिए पनि त्यो अझै सम्भावनामै सीमित छ। उपत्यकाको आवश्यकता दिनप्रतिदिन बढ्दै गइरहे पनि आपूर्ति व्यवस्था मिलाउन सरोकारवालाको चासो देखिएको छैन। सरकार र सम्बन्धीत मन्त्रीले भनेअनुसार ‘मेलम्चीको काम सकियो, अब पानी सहज हुन्छ’ उपभोक्ता पनि आशावादी देखिएका थिए नै, उत्साहित पनि थिए। तर, उपभोक्तामा देखिएको त्यो उत्साह बेलाबेला निराशामा परिणत हुँदै गइरहेको छ।
खानेपानी कार्यालयले सोमबार साँझसम्म पाइपलाइन मर्मत सकिएर पानी आपूर्ति निरन्तर हुने बताए पनि उपभोक्ताहरूले विश्वास गरेका छैनन्। खानेपानी संस्थानले भने ट्यांकरमार्फत पानी आपूर्ति गर्ने प्रयास भइरहेको भने पनि प्रक्रियाबारे केही बोलेको छैन।