धरानको बीपी प्रतिष्ठानमा सेवा विस्तार : घरमै क्यान्सर उपचार

हिमाल प्रेस ६ असार २०८२ १५:४८
14
SHARES
धरानको बीपी प्रतिष्ठानमा सेवा विस्तार : घरमै क्यान्सर उपचार

इटहरी – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार, प्रविधि र विद्यार्थी हितका विविध पक्ष समेटेर सेवाहरूको विस्तार गरिएको छ।

प्रतिष्ठानले गम्भीर क्यान्सर पीडितहरूलाई लक्षित गर्दै घरमै उपचार सेवा सुरु गरेको छ।

मोबाइल एपमार्फत ओपीडी सेवा र ल्याब रिपोर्ट हेर्न सकिने व्यवस्था मिलाएको छ भने विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि विशेष इकाईसमेत गठन गरेको छ।

क्यान्सरका गम्भीर बिरामीहरूलाई लक्षित गर्दै प्रतिष्ठानले ‘घरमै उपचार सेवा’ सुरु गरेको प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारले जानकारी दिए।

उनका अनुसार अस्पताल आउन नसक्ने अवस्थामा रहेका बिरामीहरूको घरमै गएर आवश्यक उपचार प्रदान गरिनेछ। प्रशिक्षित चिकित्सक र नर्सको टोलीले सेवा दिने व्यवस्था मिलाइएको उनले बताए।

यो सेवा काठमाडौं बाहिर पहिलोपटक धरानबाट सुरु भएको हो। प्रारम्भिक चरणमा धरान उपमहानगरभित्र मात्र उपलब्ध रहने सेवा वापत एक हजार पाँच शुल्क तोकिएको छ भने विपन्न बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराइनेछ।

मोबाइल एपमार्फत डिजिटल सेवा

सेवा सरल बनाउन प्रतिष्ठानले मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गरेको छ। अब बिरामीहरूले घरमै बसेर सामान्य ओपीडी टिकट दर्ता गर्न सक्नेछन्।

एपमार्फत ओपीडी समय, चिकित्सकको टोकन नम्बर र भुक्तानी विवरण थाहा पाउन सकिनेछ। साथै, ल्याब रिपोर्ट पनि एपमै हेर्न र डाउनलोड गर्न सकिने सुविधा थप गरिएको छ।

साथै, प्रतिष्ठानले विद्यार्थीसँग सम्बन्धित स्वास्थ्य सेवा विस्तारसमेत गरेको छ। उपकुलपति डा. संजीवकुमार शर्माको अगुवाइमा ‘विद्यार्थी स्वास्थ्य प्रवर्द्धन इकाई’ गठन गरिएको छ। यसले विद्यार्थीको शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य, पोषण र तनाव व्यवस्थापनमा काम गर्नेछ।

व्यायामशाला, खेलकुद, योगा कक्षा, साइकल भाडामा उपलब्ध गराउने, मानसिक परामर्श, हेल्पलाइन सेवा, व्यक्तिगत ‘मेन्टर(प्रिसेप्टर)’ प्रणाली पुनःसञ्चालनजस्ता कार्यक्रम सुरु गरिएको छ।

त्यसैगरी, स्नातक तहका विद्यार्थीको चिकित्सकीय अभ्यास विस्तार गर्ने उद्देश्यले ‘क्यान्सर जनचेतना क्लब’ र ‘अनुसन्धान क्लब’ गठन गरिएको छ। यी क्लबमार्फत विद्यार्थीहरूले क्यान्सर शिक्षामा योगदान दिने, सामुदायिक सञ्जाल निर्माण गर्ने र अनुसन्धानमा अभ्यस्त हुने वातावरण तयार गरिने विश्वास लिइएको छ।

सेवा विस्तारको उद्देश्य बिरामीलाई सहज सेवा दिनु मात्र नभई, डिजिटल प्रविधि, भावनात्मक हेरचाह, र विद्यार्थी कल्याणलाई समेत संस्थागत बनाउनु रहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast