
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै संविधान र गणतन्त्रको अभिष्ट भएको बताएका छन्।
नेकपा संस्थापक नाममा स्थापित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२’ वितरण समारोहमा उनले अग्रज नेताको संघर्ष, त्याग र जनताको बलिदानबाट गणतन्त्र प्राप्त गरेकाले गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको बताए।
राष्ट्रपति पौडेलले भने,‘सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र संविधानले राखेको लक्ष्य पूरा हुनेछ। यो लक्ष्य पूरा गरे मात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।’
राष्ट्रपति पौडेलले राजनीतितर्फ शान्त मानवी, इतिहासतर्फ डा.मेदिनीप्रसाद सेडाईं र साहित्यतर्फ राममणि पोखरेललाई सम्मान गरेका थिए। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ।