
काठमाडौँ- म्युजिक भिडियो र फिल्ममा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरूले ‘अनिवार्य’ बाहेक त्यस्ता दृष्य नराख्न आग्रह गरेका हुन्।
कार्यक्रममा ‘दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोगः कथाले माग्छ?’ शीर्षकमा छलफल आयोजना गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार शंकर बिसीलगायतले यस्तो धारणा राखेका हुन्।
कला क्षेत्रको सुर्तीजन्य पदार्थ सेवनका दृष्यले प्रत्यक्ष प्रभाव पर्ने बताउँदै डा. देवकोटाले यसको विकल्प खोज्न आग्रह गरे। उनले भने, ‘हामी अहिले पनि टोपी मिलाउँदा राजेश हमाल (हिरोजस्तो) देखिएँ कि देखिनँ सोच्ने गर्छौं। महिलाले कसैलाई सोच्नुहुन्छ होला। त्यो फिल्मको प्रत्यक्ष प्रभाव हो। त्यहाँकागतिविधिले आम मान्छेको जीवनमा प्रभाव पारिरहेको हुन्छ।’ उनले सर्जकलाई सिर्जनाका विषयमा सुझाव दिन भन्दा पनि आफैंले त्यस्ता दृष्यका विकल्पमा संसारमै मानक बनाउनेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए।
विकास बोर्डका अध्यक्ष डिसीले सुर्तीजन्य पदार्थको प्रयोगलाई सृजनशीलताका उच्चतम प्रयोगबाट न्यूनिकरण गर्न सकिने बताए। फिल्ममा देखाइएको दृष्यबाट बालबालिकामा प्रभाव पर्ने कुरामा आफू केही हदसम्म सहमत रहेको बताए। फिल्म निर्देशक जनकदीप पराजुलीले प्रहरी, स्वास्थ्य, निजामतीलगायत विभिन्न क्षेत्रले आग्रह गरेअनुसार फिल्म नै नबन्ने चिन्ता व्यक्त गरे। तर, फिल्म बनाउनुअघि गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो।
एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले कला क्षेत्र समाजको ऐना भएकाले विशेष सचेतना जरुरी भएको उल्लेख गरे। अध्ययनरअनुसन्धानलाई अघि सार्दै फिल्ममा चुरोट सेवन गरेको दृष्य देखेर सिकेको बताउनेहरुको संख्या उल्लेख्य रहेको बताए। उनले थपे, ७३घढसजसरी अहिले फिल्म र गीतका म्युजिक भिडियोमा त्यस्ता दृष्य देखिइरहेका छन्, अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थ उत्पादकले सहयोग गरिरहेको जस्तो देखिन्छ। सर्जकहरुले सचेत हुनुपर्छ।’ उनले भने।
म्युजिक भिडियो कलाकार संघका पूर्वअध्यक्ष तथा कलाकार शंकर बिसीले पहिले भन्दा अहिले दृष्यहरु कटौती गर्दै लगिएको बताए। देखासिकीमा त्यस्ता दृष्य निर्माण भइरहेको बताउँदै कलाकारमा बढ्दो सचेतनाले दृष्यमा कटौती भइरहेको उनको भनाइ थियो।
स्वास्थ्य मन्त्रालयका कानु उपसचिव गोपीकृष्ण रेग्मीले फिल्म हेर्ने क्रममा यस्ता दृष्य निकै नै देखिएपछि कार्यक्रमको अवधारणा आएको बताए। उनले कलाकर्मीलाई कानुन र जनस्वास्थ्य जानकारी दिएर थप जिम्मेवार बनाउन कार्यक्रम गरिएको बताए।
कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डसेनले आयोजना गरेको हो।