
बुटवल– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते (आइतबार) बजेट प्रस्तुत गर्ने भएको छ ।
आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले ‘राजश्व र व्ययको वार्षिक अनुमान’ प्रदेशसभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ।
प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पनि सभामा पेस गर्नेछन्।
सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ।
कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट ल्याइने उल्लेख गर्दै यस बजेटले समग्र लुम्बिनी प्रदेशको समृद्धि र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
प्रदेश सरकारको नीति तथा कार्यक्रमको निरन्तरतामा आधारित यो बजेटले प्रदेशवासीको जीवनस्तर उकास्ने विश्वास सरकार लिएको छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक बर्षमा ३८ अर्ब ९७ करोडको बजेट ल्याएको छ। यो आकारको तुलनामा आगामी वर्षको बजेट घटाएर ल्याउने तयारी सरकारले गरेको छ।