
काठमाडौँ- न्यायका लागि वीर अस्पतालमा एक दशकभन्दा बढी समयदेखि सत्याग्रहमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले आफ्नो दिवंगत लोग्नेको शव संयुक्त राष्ट्रसंघलाई बुझाउने चेतावनी दिएकी छन्। २१ वर्षदेखि आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको न्यायका लागि याचना गर्दै आएकी गंगामायाले यस्तो चेतावनी दिएकी हुन्।
१७ वर्षीय किशोर कृष्णप्रसादको २०६१ जेठ २४ गते तत्कालीन विद्रोही माओवादी कार्यकर्ताबाट हत्या भएको थियो। एसएलसी परीक्षा दिएर चितवनको रत्ननगरस्थित मामाघरमा गएका बेला कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध सुराकी गरेको आरोपमा बुकलहर चोकमा गोली हानी हत्या गरेका थिए। छोराको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै उनी लामाे समयदेखि सत्याग्रहमा छिन्।
सत्याग्रहमा रहेका बेला उनका पति नन्दप्रसाद अधिकारीको ११ वर्षअघि नै निधन भइसकेको छ। गंगामायाले आफूले न्याय नपाएसम्म अन्त्येष्टि नगर्ने अडान राखेपछि नन्दप्रसादको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
गंगामायाले नेपाल सरकारले न्याय नदिएपछि आफ्नो लोग्नेको शव डोकामा बोकेर भए पनि यूएनको अफिसमा बुझाउने चेतावनी दिएकी छन्। उनले भनिन्, ‘मलाई न्याय दिएनन् भने मेरो बूढाका लास लिएर यूएन अफिसमा बुझाएर म पनि त्यहीँ अनशनमा बस्नेछु।’
‘मेरो बच्चा मारेको आज २१ पूरा भएर २२ वर्ष भयो। अहिलेसम्म न्याय दिने जंगबहादुर कोही जन्मिएका छैनन्। म न्याय खोज्न छाडेर अन्त लाग्दिनँ’, शनिबार वीर अस्पताल पुगेका मानवअधिकारकर्मीको टोलीसँग गंगामायाले भनिन्। उनले बाँचुन्जेल न्यायका लागि लडिरहने बताइन्। उनले भनिन्, ‘मलाई पनि मारोस् बरु सरकारले। त्योभन्दा विकल्प मेरो केही छैन।’
उनले मिठो खान दिएर, पैसा दिएर फकाउँछु भन्ने सोच नराख्न पनि दलका नेता र सरकारलाई आग्रह गरेकी छन्। उनले भनिन्, ‘मलाई कसैले फकाउनु पर्दैन। म फक्किनेवाला पनि छैन। मलाई धनको आश नेदखाए हुन्छ। बरु म यत्तिकै मरेर जान्छु। तैपनि न्यायको खोजीमा लागिरहन्छु। अहिले अदालतको बाटो हेरौँ भनेर मात्र पर्खिरहेकी छु।’
छोराको हत्यापछि गंगामाया र उनका पति नन्दप्रसाद अधिकारी गोरखा फुजेलबाट लखेटिएका थिए। त्यसपछि उनीहरू सदरमुकाम गोरखा सरेका थिए। त्यहाँ पनि माओवादी कार्यकर्ताले बस्न नदिएपछि काठमाडौँ आएका थिए। नन्दप्रसाद दम्पती न्यायका लागि पटकपटक सिंहदरबार धाए। दलका नेताहरू गुहारे। तर उनीहरूको आवाज कतैबाट सुनुवाइ भएन।
घटनाको नौ वर्षपछि कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा फुजेलकै रामप्रसाद अधिकारी काठमाडौँबाट पक्राउ परेका थिए। उनी पक्राउ परेपछि माओवादीले काठमाडौँमा विरोध प्रदर्शन गरेको थियो। त्यसपछि रामप्रसाद रिहा भए।
न्यायका लागि गंगामायाले सत्याग्रह जारी राखिन्। सरकारले घटनाका आरोपित छविलाल पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल, भीष्मराज पौडेलविरुद्ध २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। केही व्यक्तिहरूलाई पक्राउ पनि गरेको थियो। अदालतको आदेशमा पौडेललाई केही समय पुर्पक्षका लागि थुनामा राखिएको थियो।
न्याय प्रक्रिया अगाडि बढ्यो भनेर गंगामाया आश्वस्त भएकी थिइन्। पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति राजनीतिक प्रभावका आधारमा रिहा भए। जिल्ला अदालतले पनि गंगामायाको विपक्षमा फैसला गरेपछि पीडित पक्षले उच्च अदालतमा पुनरावेदन दियो।
उच्चले पनि जिल्ला अदालतको निर्णयलाई सदर गरिदिएको थियो। सर्वोच्च अदालतमा पुनरावेदन भए पनि मुद्दा प्रक्रिया अघि बढेको छैन।
न्यायकै लागि गंगामाया र नन्दप्रसाद दम्पतीले २०७० सालदेखि अनशन सुरु गरेका थिए। नन्दप्रसादको ३३४ दिनसम्म आमरण अनशन बसेपछि २०७१ असोज ६ गते मृत्यु भएको थियो। मानवअधिकारवादीहरूको पहलमा ३५९ दिनपछि गंगामायाले अनशन स्थगित गरेकी थिइन्। गंगामायाले वीर अस्पतालमा सत्याग्रह थालेको एक दशक नाघिसकेको छ।
गंगामाया अहिले वीर अस्पतालमा छिन्। उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको अधिकारवादीहरूले बताए। गंगामायालाई भेट्न वरिष्ठ मानवअधिकारकर्मीहरू चरण प्रसाई, एमनेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया, द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारी, शंकर बुढाथोकीलगायत वीर अस्पताल पुगेका थिए।
वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईले कृष्णप्रसादको घटनामा सरकार र न्यायालय संवेदनशील नदेखिएपछि गंगामायाले आक्रोश पोखेको बताए। उनले भने, ‘यो उहाँको चरम आक्रोश हो। राज्यले त न्याय दिएन। अदालतले पनि कहिल्यै पेसी नचढाएपछि उहाँ आक्रोशित हुनुभएको हो।’
गंगामायालाई राज्यका तर्फबाट न्याय पाउने आश मरेपछि यूएन गुहार्न खोजेको प्रसाई बताउँछन्। ‘न्यायालयले पनि नहेर्ने र सरकारले पनि नहेर्ने, पीडितलाई योभन्दा पीडा अरू के हुन्छ? उहाँमा यूएनले केही गर्छ कि भन्ने केही आशा छ’, प्रसाईले भने।