२० वर्षदेखि न्यायको पर्खाइमा रहेकी गंगामाया भन्छिन्, मेरो बच्चा र लोग्नेका हत्यारालाई फाँसी दिनुपर्छ

हिमाल प्रेस २४ जेठ २०८१ १३:०६
144
SHARES
२० वर्षदेखि न्यायको पर्खाइमा रहेकी गंगामाया भन्छिन्, मेरो बच्चा र लोग्नेका हत्यारालाई फाँसी दिनुपर्छ वीर अस्पतालमा सत्याग्रहमा रहेकी गंगामाया अधिकारी। तस्बिर सौजन्य : चरण प्रसाई

काठमाडौँ– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीकी आमा गंगामायाले  न्यायको याचना गरेको २० वर्ष बितेको छ। १७ वर्षीय किशोर कृष्णप्रसादको २०६१ जेठ २४ गते तत्कालीन विद्रोही माओवादी कार्यकर्ताबाट हत्या भएको थियो।

न्यायको माग गर्दागर्दै अनशनका बसेका बेला पिता नन्दप्रसादको २०७१ असोज ६ गते निधन भयो। आमा गंगामाया अधिकारीले वीर अस्पतालमा सत्याग्रह थालेको पनि एक दशक नाघेको छ।

एसएलसी परीक्षा दिएर चितवनको रत्ननगरस्थित मामाघरमा गएका बेला कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध सुराकी गरेको आरोपमा बुकलहर चोकमा गोली हानी हत्या गरेका थिए।

गंगामाया भन्छिन्, ‘अस्पतालको कोठामा बसिरहेको छु, छोरा सम्झिएकी छु, लोग्ने सम्झिएकी छु। कहिले यता फर्कन्छु, कहिले उता फर्कन्छु।’ उनले विगतका घटना बिर्सन पनि नसक्ने र सम्झिएर पनि साध्य नभएको बताइन्। उनले भनिन्, ‘सम्झिएर साध्य छैन। बिर्सन पनि सक्दिनँ। त्यही भएर रोइकराई बसिरहेकी छु।’

छोराको हत्यापछि गंगामाया र उनका पति नन्दप्रसाद अधिकारी गोरखा फुजेलबाट लखेटिएका थिए। त्यसपछि उनीहरू सदरमुकाम गोरखा सरेका थिए। त्यहाँ पनि माओवादी कार्यकर्ताले बस्न नदिएपछि काठमाडौँ आएका थिए। न्यायका लागि पटकपटक सिंहदरबार धाए। नेताहरू गुहारे।

घटनाको ९ वर्षपछि कृष्णप्रसाद अधिकारीको हत्याको आरापमा फुजेलकै रामप्रसाद अधिकारी काठमाडौँबाट पक्राउ परेका थिए। उनी पक्राउ परेपछि माओवादीले काठमाडौँमा विरोध प्रदर्शन गरेको थियो। त्यसपछि उनी रिहा भएका थिए।

न्यायका लागि गंगामायाले सत्याग्रह जारी राखिन्। सरकारले घटनाका आरोपित छविलाल पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल, भीष्मराज पौडेलविरुद्ध २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। केही व्यक्तिहरूलाई पक्राउ पनि गरेको थियो। अदालतको आदेशमा पौडेललाई केही समय पुर्पक्षका लागि थुनामा पनि राखिएको थियो।

न्यायकै लागि गंगामाया र नन्दप्रसाद दम्पतीले २०७० सालदेखि अनशन सुरु गरेका थिए। नन्दप्रसादको ३३४ दिनसम्म आमरण अनशन बसेपछि २०७१ असोज ६ गते मृत्यु भएको थियो। मानवअधिकारवादीहरूको पहलमा ३५९ दिनपछि गंगामायाले अनशन स्थगित गरेकी थिइन्।

न्याय प्रक्रिया अगाडि बढ्यो भनेर गंगामाया आश्वस्त भएकी थिइन्। पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति राजनीतिक प्रभावका आधारमा रिहा भए। जिल्ला अदालतले पनि गंगामायाको विपक्षमा फैसला गरेपछि पीडित पक्षले उच्च अदालतमा पुनरावेदन दियो।

उच्चले पनि जिल्ला अदालतको निर्णयलाई सदर गरिदिएको थियो। सर्वोच्च अदालतमा पुनरावेदन भए पनि मुद्दा प्रक्रिया अघि बढेको छैन। गंगामाया अहिले वीर अस्पतालमा छिन्। उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।

उनी भन्छिन्, ‘मेरो बच्चा र लोग्नेका हत्यारालाई फाँसी दिनुपर्छ। नेपालमा फाँसीको कानुन छैन भनेर भन्नु होला तर बनाउन मिल्छ।’ आफ्नो संसार उजाड बनाउनेहरूको कहिल्यै भलो नहुने उनको भनाइ छ। उनले भनिन्, ‘मेरो बुढाले फाँसी खाएर मर्नुपरेको छ, मेरो छोराले गोली खाएर मरेको छ। मेरो गाईभैँसी खुवाएर मारिएको छ।’

‘मेरो लोग्नेको शवले पनि न्याय खोजिरहेको छ’

छोराको न्यायका लागि आमरण अनशन बसेका बेला निधन भएका नन्दप्रसादको अन्त्येष्टि गरिएको छैन। नन्दप्रसादको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आफूले न्याय नपाएसम्म लोग्नेको अन्त्येष्टि नगर्ने अडान गंगामायाको छ। उनले भनिन्, ‘मैले न्याय नपाएसम्म लोग्नेका अन्त्येष्टि गर्दिनँ। उहाँको सास नभए पनि न्याय माग्दै शव लडिरहेको छ। त्यसले पनि न्याय नै खोजिरहेको छ।’

सरकार न्यायप्रति संवेदनशील नभएको सन्देश गयो : प्रसाई

वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाई कृष्णप्रसादको घटनाबाट राज्य नागरिकलाई न्याय दिलाउन संवेदनशील नभएको सन्देश गएको बताउँछन्। उनी भन्छन्, ‘राज्यले अन्याय सहिरहू भनेर नागरिकलाई विवश पारेको अवस्था छ। ३३४ औँ दिन आमरण अनशन बसिरँदा पनि नन्दप्रसादको माग सम्बोधन नहुनु र न्याय खोज्दाखोज्दै उनको हत्या हुनुले हाम्रो सरकार पीडितप्रति संवेदनशील नरहेको स्पष्ट हुन्छ।’

साथै सरकार नागरिकप्रति जबाफदेही छैन भन्ने कुराको ज्वलन्त नमुना रहेको उनले बताए। ‘नेपाल सरकार मानवअधिकार गम्भीर मानव उल्लंघनकर्तालाई जोगाउन चाहन्छ, आपराधिक गतिविधिलाई संरक्षण गर्न चाहन्छ र दण्डहीनतालाई संस्थागत गर्न चाहन्छ भन्ने कुरा विश्वले बुझेको छ’, प्रसाईले भने।

प्रकाशित: २४ जेठ २०८१ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =