सहिदपत्नी रुचाल गण्डकीको सार्वजनिक विकास तथा कृषि समिति सभापतिमा निर्वाचित

हिमाल प्रेस २३ जेठ २०८२ २१:०६
24
SHARES
सहिदपत्नी रुचाल गण्डकीको सार्वजनिक विकास तथा कृषि समिति सभापतिमा निर्वाचित

पोखरा- गण्डकी प्रदेश सभा सामाजिक विकास तथा कृषि समिति सभापतिमा नेकपा (माओवादी केन्द्र) की समानुपातिक सांसद दमयन्ती रुचाल निर्वाचित भएकी छन्।

नेपाली कांग्रेसको प्रस्ताव र नेकपा एमालेको समर्थनमा सहिदपत्नी रुचाल शुक्रबार सर्वसम्मत निर्वाचित भएकी हुन्। बिहीबारको मनोनयनमा उनको मात्र एकल उम्मेदवारी परेको थियो। रुचालको प्रस्तावकमा कांग्रेसका महेश भट्टराई र समर्थकमा एमालेका लिलाबहादुर थापा थिए। शुक्रबार उनी निर्वाचित भएको घोषणा गरिएको हो।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, एमाले संसदीय दलका नेता खगराज अधिकारी र नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानबीच समझदारीपछि सर्वसम्मतरुपमा रुचाललाई सभापति बनाउने निर्णय भएको हो।

गत जेठमा तत्कालीन सभापति फणीन्द्र देवकोटा मन्त्री नियुक्तपछि उक्त सभापति पद खाली रहँदै आएको थियो। १ वर्षपछि बल्ल समितिले नयाँ सभापति पाएको हो।

समिति सभापति चयन गर्न प्रदेश सभा नियमावली नै संशोधन गर्नुपरेको थियो। अब प्रदेश सभाका सबै चारवटै समितिले पूर्णता पाएका छन्। यसअघि प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसबाट २, नेकपा (एमाले) बाट १ जना सभापति छन्। कांग्रेसले आर्थिक विकास र प्रदेश मामिला तथा कानून समितिको सभापति पाएको छ। एमालेले सार्वजनिक लेखा समितिको नेतृत्व गरेको छ।

संसदीय परम्परामा सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दलले नेतृत्व गर्नुपर्ने हो। तर यो नियम गण्डकीमा भंग भएको छ। सत्ता साझेदार दल एमालेका सांसद सुधीरकुमार पौडेल लेखा समितिको सभापति छन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा माओवादी इतिहासमै कमजोर प्रतिपक्षी बनेको छ। उसका ७ सदस्य मात्र छन्। सामाजिक विकास तथा कृषि समिति सभापति माओवादीले पाएपछि केही सान्त्वना भएको छ। पूर्व माओवादी लडाकू रुचालका पति पनि माओवादी लडाकू थिए। उनको दोहोरो भिडन्तमा मृत्यु भएको हो। रुचालले पछि म्याग्दीका टेकबहादुर विक (सुवास) सँग बिहे गरेकी हुन्।

प्रकाशित: २३ जेठ २०८२ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast