
पोखरा– यस वर्षको ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका २ जना पर्यटनकर्मी पुरस्कृत भएका छन्। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को सातौँ साधारणसभा तथा चौथो साधारणसभा अवसरमा अग्रज पर्यटन उद्यमी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङ पुरस्कृत भएका हुन्।
संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उनीहरूलाई नगद १५ हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरेका थिए।
पुरस्कार पोखराका अग्रणी पर्यटन उद्यमी हुतराज श्रेष्ठको स्मृतिमा स्थापना गरिएको हो। हुतराजको निधन भइसकेको छ।
पर्यटनविज्ञ सञ्जयकान्त सिग्देलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिस आधारमा उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको टेवान अध्यक्ष कमला गिरीले बताइन्।
पोखरामा ड्रागन होटल खोलेर पर्यटनमा होमिएका तुलाचन ८१ वर्षका भए। उनी पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रका नक्षत्र हुन्। विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाको स्थापना र नेतृत्व गरिसकेका उनले ६ दशकभन्दा लामो समयदेखि पर्यटनमा योगदान पुर्याउँदै आएका छन्।
त्यसैगरी नेपालको पहिलो पर्यटन गाउँ सिरुबारी (स्याङ्जा) मा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी ३६ वर्षीया उर्मिला गुरुङ उदाहरणीय युवा हुन्। पोखराको सुविधायुक्त बसाइ त्यागेर एक दशकदेखि उनी सिरुबारी गाउँमा फर्केर सबैको प्रेरणास्रोत बनेकी छिन्। उनी अतिथि सत्कार, होमस्टे व्यवस्थापन, सांस्कृतिक कार्यक्रमलगायत कामको नेतृत्व गर्छिन्। त्यति मात्र होइन, मुलुकभित्रका विभिन्न गाउँमा होमस्टे व्यवस्थापन तालिमसमेत दिँदै आएकी छिन्।
कार्यक्रममा मन्त्री पाण्डेले लगानीका लागि रातो कार्पेट ओछ्याएर निजी क्षेत्रको स्वागत गर्नुपर्ने बताए। उनले होटलको मापदण्ड बनाउनेदेखि लिएर पर्यटन ऐन, नागरिक उड्डयन ऐन बनाउन सरकार लागिपरेको पनि बताए। पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियता २०७४ सालमा टेवान स्थापना भएको अध्यक्ष कमला गिरीले बताइन्।