
काठमाडौँ- वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ। क्यान्सरपीडित रसिकको आइतबार नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन भएको संगीतकार बुलु मुकारुङले जानकारी दिए। ७८ वर्षीय रसिक पाँच वर्षदेखि क्यान्सरबाट पीडित थिए।
छोरी बेलायतबाट आएपछि मात्र उनको अन्त्येष्टि गरिने भएको छ। त्यतिन्जेलसम्म उनको शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिने मुकारुङले बताए।
परिवारको जेठो छोरा रसिकका कान्छा भाइदेखि छोरासम्मको निधन भइसकेको छ। माइँला भाइ नेपाल प्रहरीको इन्सपेक्टर थिए, माओवादी द्वन्द्वकालले ज्यान लियो। साहिँला भाइ दुर्घटनामा बितेका थिए। कान्छा भाइको पनि मृत्यु भइसकेको छ। केही वर्षअघि छोरा गुमाएका रसिककी श्रीमती पनि २०७७ सालमा कोभिडका कारण बितेकी थिइन्। उनी परिवारमा बुहारी र नातिनीका साथ बस्दै आएका थिए।
रसिक गायक, संगीतकार, साहित्यकारका कलासाहित्यसँग सम्बन्धित विभिन्न संस्थाको नेतृत्वमा रहेर काम गरेका व्यक्तित्व हुन्। रसिकका ‘रातो भाले क्वाँया क्वाँया’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’ चर्तित गीत हुन्। साथै उनी सांगीतिक समूह लेकाली समूहका संस्थापक पनि हुन्।
उनका ‘क्षितिजलाई छुन खोज्दा’ (कथासंग्रह) २०२४, ‘एउटा सारंगी छुन खोज्दा’ (कथासंग्रह) २०२७, ‘रसिकका गीतहरू’ (गीतसंग्रह) २०४५, ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास) २०४८, ‘जब सिस्नुहरू टेक्दै हिँडे’ (संस्मरण) २०५५, ‘बिलाउँदै गएका गीत’ (कथा संग्रह) २०५८, ‘दसगजामा उभिएर हेर्दा’ (उपन्यास) २०६३, ‘स्वाधीनताको पीडा’ (गीतसंग्रह) २०६८, पेरुंगो संस्करण (पाँच कृति) २०७३ लगायत प्रकाशित छन्।
रसिकले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८-२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०-२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२-२०५५), नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव (२०७२-२०७५)जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदाका गहन जिम्मेवारी निर्वाह गरेका थिए।
भोजपुर छिनामखु नौलेगाउँमा जन्मिएका गणेश रसिकको वास्तविक नाम गणेशकुमार राई हो।
‘एउटा सीमारेखाभित्र बन्धक हुनुपर्ने कस्तो जीवन हो यो?’ [भिडियोसहित]