गणेश रसिकका अनुभव र अनुभूति

‘एउटा सीमारेखाभित्र बन्धक हुनुपर्ने कस्तो जीवन हो यो?’ [भिडियोसहित]

विवेक विवश रेग्मी १२ असोज २०८१ १४:१०
380
SHARES
‘एउटा सीमारेखाभित्र बन्धक हुनुपर्ने कस्तो जीवन हो यो?’ [भिडियोसहित]

लेख्न खोज्छु, हातपाखुरा गल्छ। हिँड्न खोज्छु, खुट्टा दुखेर थचक्कै बस्छु। साथीभाइ भेट्न आउँछन्, अलिकति गफिँदैमा स्याँस्याँ हुन्छ। घरी छटपटीमा पर्छु, के गरौँ, कसो गरौँ हुन्छ। उमेरले ८० पुग्न लागेका प्रसिद्ध साहित्यकार, संगीतकार तथा गायक गणेश रसिकको पछिल्लो अवस्था हो यो।

क्यान्सरसँग लडाइँ गरिरहेका उनी जीवन, मृत्युसँग संघर्षरत छन्। उनको नाम रसिक छ, जीवन झन् के होला? यसको उत्तर पाउन धेरै सोच्नै नपर्ने रहेछ। किनभने रसिकको नाम भन्दा ठीक विपरीत छ उनको जीवन। कारण हो, उनीसँग यतिबेला हर्षभन्दा बढी बिस्मात छ, संयोगभन्दा ज्यादा वियोगका खात धेरै छन्।

रसिकले सानै उमेरदेखि पारिवारिक सुख गुमाउँदै गए। आठ वर्षको उमेरमा आमा गुमाएका उनले जीवनको उत्तरार्धमा आइपुग्दा परिवारका सबै सदस्य गुमाएका छन्।

परिवारको जेठो छोरा रसिकका आफ्ना कान्छा भाइदेखि छोरासम्म यो संसारमा छैनन्। माइँला भाइ नेपाल प्रहरीको इन्सपेक्टर थिए, माओवादी द्वन्द्वकालले ज्यान लियो। साहिँला भाइ दुर्घटनामा बिते। कान्छा भाइको पनि मृत्यु भइसकेको छ।

केही वर्षअघि छोरा गुमाएका रसिककी श्रीमती पनि पनि ‘भगवानको प्रिय’ भइसकिन्। रसिकले जीवनमा गुमाउन अब केही बाँकी छैन। रसिकको यो भोगाइ कुनै सिनेमाको कथाभन्दा कहाँ कम छ र? त्यसैले त उनी भन्ने गर्छन्, नामजस्तो जीवन रसिक कहाँ हुँदो रछ र?

साहित्य, संगीतका शिखर पुरुष रसिक भन्छन्, ‘मैले जीवनमा मेरो कर्मभन्दा धेरै पाएँ। पारिवारिक सुखचाहिँ सधैँ गुमाएँ। मैले कहिल्यै पनि पारिवारिक सुख भोग्न पाइनँ।’

कार्यक्रममा बोलाउँदा जान नसक्नु, स्वतन्त्र भएर हिँड्न नपाउनु र बन्धकजस्तो जीवन बाँच्दा दिक्क लाग्ने उनी सुनाउँछन्। क्यान्सरजस्तो रोगसँग लड्नुपरेको र प्रत्येक २१ दिनमा किमो दिनुपर्दा बुढ्यौली शरीर आलसतालस हुने उनको भनाइ छ।

‘एउटा सीमारेखाभित्र बस्नुपर्ने जीवन भयो। बन्देज भएर बाँच्नुपरेको छ, यो कस्तो जीवन हो?’ उनले बाँच्नेशैलीबारे प्रश्न गर्दै भने,  ‘बिहान उठ्यो, औषधि खायो। दिउँसो साथीहरू भेटघाट गर्न आउनुहुन्छ। बेलुका पनि दबाई खाएर साढे नौ बजेतिर सुत्छु। कुनै सिर्जनशील काममा लागिएको छैन। लेख्न मन हुन्छ, जाँगर चल्दैन। जाँगर चलिहाले पनि हातपाखुरा गल्छ, खुट्टा दुख्छ। मानसिक रूपमा पनि तयार छैन लेख्नका लागि।’

भोजपुर छिनामखु नौलेगाउँमा जन्मिएका गणेश रसिक (गणेशकुमार राई) को परिवार साहित्य, राजनीति र सैनिकसँग जोडिएको थियो। बाजे हर्कराज २००७ सालको क्रान्तिमा होमिएका थिए। बुबा दार्जिलिङमा जागिरे थिए। घरमै पुस्तकालय थियो।

‘आमा’ प्यारो

आमाको लाडप्यार कस्तो हुन्छ भन्ने रसिकलाई सम्झना छैन। यद्यपि उनी कठिन अवस्थामा उनी आमा शब्द नै उच्चारण गर्छन्। ‘सधैँ आमाको अभाव मनमा खट्किरह्यो, त्यसैले मलाई बढी संवेदनशील र भावुक बनायो। साथै मलाई भाषा, साहित्य, संगीतप्रति रुझान पैदा भयो,’ गहभरि टिलपिल आँसुसहित रोदनमिश्रित भावमा रसिकले थपे, ‘अहिले पनि मलाई कहीँ दुख्यो भने ऐय्या आमा भन्छु। आमा भन्ने शब्द चैँ कस्तो भावनात्मक हुँदोरहेछ।’

उनी गफ गर्दागर्दै केहीबेर टक्क रोकिए।

रसिकले भने, ‘कहिलेकाहीँ लड्दा दुख्छ, अनि आमा सम्झन्छु। मैले सानैमा धेरै समय आमाको माया पाइनँ। दुःखको बेला आमा भन्ने शब्द फुत्किन्छ। दुईतीन वर्षभन्दा बढी आमासँग बस्नै पाइएन।’ त्यसपछि एकान्तप्रेमी हुन थालेको उनले बताए।

मानिसलाई एकाकीपनले कि आत्महत्याको बाटोमा पुर्याउने, कि पागलपनमा पुर्याउने, कि स्रष्टा बनाउने उनी सुनाउँछन्।

‘प्राय: स्रष्टाको जीवनी हेर्दा कोही न कोही पीडामै हुन्छन्। बच्चामा भएको एकाकीपनले मान्छे सिर्जनामा संवेदनशील र भावुक बनाउँदोरहेछ। म जन्मिएको १४ महिनामा बहिनी जन्मिइन्। म पनि दूध खान खोज्थेँ, तर मलाई आमाबाट सधैँ टाढा राखियो,’ रसिकले आफू नाबालक रहँदाको क्षण सम्झिए।

नौलेगाउँमा ६ कक्षा पास गरेपछि भोजपुर सदरमुकाममा अध्ययन गर्न पुगेका उनमा साहित्यको चेत भने सानैदेखि रहेछ।
‘हाइस्कुल पढ्दा साहित्यिक वातावरण थियो। हरेक शुक्रबार कवि गोष्ठी र सांस्कृतिक कार्यक्रम हुन्थ्यो, हामी सुन्थ्यौँ। जाग जाग अब जाग न जाग… बोलका कविता कण्ठस्थ हुन्थ्यो,’ उनी विगततर्फ फर्किए, ‘दार्जिलिङबाट आउनुभएका सरहरूले पनि साहित्य पढाउनुभयो।’

नाम कसरी रसिक भयो?

उनको जवाफ छ, ‘त्यतिबेला साहित्यकार बन्न उपनाम राख्ने चलन थियो। हाम्रो एउटै परिवारभित्र गणेश नाम गरेका धेरै थिए। बुबा दार्जिलिङ पढेका कारण, अच्छा राई रसिकको एउटा उपन्यास ल्याउनुभएको थियो। त्यो मेरो साथी हो भन्नुहुन्थ्यो, बुबाले। मैले यसो विचार गरेँ, अब यही नाम राख्नुपर्यो। त्यसपछि मैले आफ्नो नामको पछाडि रसिक थपेँ, मेरो नागरिकतामा पनि रसिक नै छ, मलाई सबैले यही नामले चिन्नुहुन्छ।’

बुबाको साहित्य, संगीतप्रति रुचि हुनु र घरमै पुस्तकालय रहेकाले पनि आफूलाई सानै उमेरमा साहित्यतर्फ रुचि बढेको उनले स्मरण गरे।

कलामा जीवन कहाँ छ? जीवनमा कला कहाँ छ? भन्ने जिज्ञासामा रसिक भन्छन्, ‘कलामा जीवन त्यहीँ छ, जहाँ सिंगो जीवन व्यक्त गरिन्छ। मान्छेको मात्रै नभईकन प्रकृति, देश, समाज समेटिएको हुन्छ। साहित्यमा आफू हराउनुपर्छ।’

सिर्जना गर्दा आमसर्जक आफैँ उपस्थित हुने भएकाले त्यहाँ समाज जोडिने हुँदा आफैँभित्र हराउनुपर्ने उनको तर्क छ। रसिकले गीत, कविता, कथा, निबन्ध विधामा मात्रै कलम चलाएनन् नाटकमा पनि त्यत्तिकै योगदान दिएका छन्। कहिले आफैँ कलाकार भए। कहिले आफैँले लेखेको नाटक मञ्चन पनि गरे। रसिक भोजपुरको दुर्गम छिनामखुस्थित आफ्नै गाउँमा नाटक मञ्चन गरेको स्मरण गर्छन्।

एक दशकअघि उनले नाट्यकर्मी सोनु जयन्तीसहितलाई लगेर स्थानीयलाई प्रशिक्षण गराए। इलामका विभिन्न विद्यालयमा अभिनय प्रशिक्षणमा सक्रिय बने रसिक। भोजपुरमा आफैँ जन्मिएको ठाउँमा प्रशिक्षण गराएपछि त्यहीँ नाटक मञ्चन गरिएको थियो। भाषा, साहित्य, संगीतमा समूहलाई जोड्न नसकेका कारण नाटक मञ्चनतर्फ आकर्षित भएको उनी बताउँछन्।

अरू विधामा के थिएन, जुन कुरा नाटकमा थियो? रसिक उत्साहित हुँदै भन्छन्, ‘संगीत व्यापक छ। साहित्य सिर्जना व्यक्तिले पनि गर्न सक्छ। नाटकमा टिम चाहिन्छ, त्यो टिमलाई समेट्न र नाटकमा हुने प्रभाव र महत्त्वबारे परिचित छु। त्यसकारण गाउँमा नाटक लैजानुपर्छ भन्ने बोध भयो।’

उनले परम्परागत नाटक र अहिलेको नाटक फरक रहेको सुनाए। नाटकमा लाग्ने मानिसले साधन, स्रोतको अभावका कारण निरन्तरता दिन नसक्नु दुःखद रहेको उनी बताउँछन्।

‘नाटकमा सामूहिक भावनाको विकास हुन्छ, मान्छे अहिले व्यक्तिवादी भइरहेको छ। कति दुर्व्यसनमा युवालाई समेटेर सही ट्याकमा लैजान सकियो भने राम्रो हुन्छ भन्ने भएकाले पनि गाउँगाउँमा नाटक प्रशिक्षण गरायौँ,’ एक दशकअघिका ती दिन सम्झँदै उनले भने, ‘जो नपढ्ने, हावाको भरमा कुदिहिँड्ने, त्यस्ता मान्छे नाटक प्रशिक्षणमा सहभागी भएँ। एक वर्षपछि हामी पुनः त्यो ठाउँमा पुग्दा पहिला गुण्डागिरी गर्नेहरू कक्षाका मनिटर रहेको र पढाइमा पनि अब्बल रहेको सुन्दा दंग भएँ।’

नाटकले एकाग्रता हुन सिकाउने रसिकको अनुभव छ। नाटकले दिने प्रभाव छुट्टै किसिमको रहेका कारण पनि आफूले यसबारे चासो राखेको रसिक सम्झन्छन्।

गीतसंगीत, साहित्यमा समूहका मानिसको कुनै योगदान नहुने र ताली पिट्ने मात्रै तर नाटकमा समूह हुने र यसमा समुदाय पनि जोडिने रसिकको तर्क छ। नाटक प्रशिक्षणले एउटा वातावरण तयार पार्ने काम भएकाले इलाममा लेप्चा जातिमा पनि केन्द्रित गरी विद्यालयमै पुगेर नाटक प्रशिक्षण गराएको उनी सुनाउँछन्।

राष्ट्रिय नाचघरको महाप्रबन्धक भएका बेला नाटक किन्न खोज्दा पनि नपाएपछि आफैँले नाटक लेखको स्मरण गर्छन् रसिक।

आफैँले लेखेको ‘के सक्कली, के नक्कली’ नाटक एक सय दिनसम्म चलेको रसिकलाई सम्झना छ। यद्यपि, नाट्यशास्त्रबारे भने आफूलाई गहिरो ज्ञान नभएको उनले सुनाए।

अचेल नाटक लेखनको परम्परा हराउँदै गएकोमा उनलाई चिन्ता छ। साहित्यका आख्यान र कविताभन्दा नाटक कमै लेखिन्छ। राजधानीका थिएटरमा मञ्चन हुने नाटकमा टिकट काटेर हेर्ने दर्शकको उपस्थिति उत्साहजनक रहेको रसिकको बुझाइ छ। नेपाली मिथक, परम्परा, संस्कृति र इतिहाससँग सम्बन्धित नाटक लेखन र अभिनय हुनुपर्ने रसिक सुनाउँछन्।

मेरो सिर्जना खण्डित भयो

रसिकले विविध विधामा कलम चलाएका कारण आफ्नो समय खण्डित भएको सुनाए। ‘म एउटै पक्षमा लागेको भए धेरै राम्रो गर्थेँ होला जस्तो लाग्छ। धेरै विषयमा लागेर खण्डित भएँ। मेरो प्रतिभा, सिर्जना र समय खण्डित भयो,’ उनी भन्छन्, ‘जुन कुरा कथामा लेख्न सकिन्छ, त्यो गीतमा लेख्न सकिँदैन। भोगेका कुरा कथा र निबन्धमा लेख्न सकिन्छ। कति गोप्य कुरा कथामा भन्न सकिन्छ। एउटै विधामा लागेको भए अझै धेरै राम्रो गर्थेँ कि भन्ने लाग्छ।’

रसिक गीतमा सन्तुष्ट भए पनि कथामा भने जति लेख्नुपर्ने त्यति लेख्न नसकेको बताउँछन्।

हरेक मानिस सिर्जनासँग जोडिने र कहीँ न कहीँ मुडअनुसार गीत, संगीत, साहित्य, कलामा जोडिने रसिकको तर्क छ। बहुआयामिक व्यक्तिका रूपमा परिचय स्थापित गरेका रसिक गीतहरू बाँचेपछि अहिले विगत सम्झँदा कहिलेकाहीँ आनन्दित बन्छन्।

काव्य नभएका गीतको आयु लामो हुँदैन

‘गीत भनेको साहित्यको लयात्मक अभिव्यक्ति हो। गीत हृदयसँग सम्बन्धित छ। साहित्य मष्तिष्कसँग सम्बन्धित छ। दुवैको सन्तुलन मिलाउँदा संगीतको सिर्जना हुन्छ,’ रसिकले भने, ‘जुन गीतमा काव्य हुँदैन, त्यो गीतको आयु हुँदैन। गीतमा पनि बिम्ब हुन्छन्। कविहरूले लेखेका गीत कालजयी हुन्छन्।’

अल्झेछ क्यारे पछ्यौरी तिम्रो, चियाको बोटमा।
बल्झेछ क्यारे सुनको काँडा, कलिलो खुट्टामा। -भूपि शेरचन

उक्त गीतको उदाहरण दिँदै रसिकले भने, ‘काव्यात्मक र बिम्बात्मक भयो भने मात्रै गीत हुन्छ। जुन गीतमा बिम्ब हुन्छ, काव्य हुन्छ, त्यो गीतको आयु लामो हुन्छ। जसको गीतमा कुराकानी मात्रै हुन्छ, त्यो हप्ते गीत हो। हप्ता दिनपछि त्यसको आयु सकिन्छ।’

अहिले स्थापित गायकहरू स्टेज सोले बाँचेको उनको टिप्पणी छ। उतिबेला सबै गीत राम्रा नभए पनि रेडियो नेपालबाट एउटा गीत बज्दा देशैभरि एकैपटक हरेक मानिसले सुन्ने गरेको उनले बताए।

रसिकले नातिकाजी, नारायण गोपाल, अम्बर गुरुङ, तारादेवी, गोविन्दबहादुर गुरुङ, गोपाल योञ्जन, बच्चु कैलाश, प्रेमध्वज प्रधानलगायतसँग उठबस गरे। पहिलो पुस्ताका गायकका आआफ्नै स्वभाव रहेको उनी स्मरण गर्छन्। तीमध्ये हाल बच्चु कैलाश मात्रै जीवित छन्। उनैलाई आफ्नो आदर्शको पात्र मान्ने गरेको रसिक सुनाउँछन्।

रसिकको मानसपटलमा ती संगीतसाधकसँग बिताएका क्षण ताजै छ। ‘सबैका आआफ्नै चरित्र भएका कारण एकअर्कासँग नमिल्ने र प्रतिस्पर्धाजस्तो देखिन्थ्यो। सबैका आआफ्नै आनीबानी थिए,’ रसिक भन्छन्, ‘नातिकाजी दाइ रेडियो नेपाल स्थापनादेखि ४० वर्षभन्दा बढी काम गर्नुभयो। उहाँले रेडियोमा काम गर्दा आउनुहोस्, यो साता तपाईँको समय राखेको छु भन्नुहुन्थ्यो।’

व्यक्तिगत रूपमा रसिकले सबैलाई आदर गर्ने सुनाए। उनले भने, ‘त्यसमध्ये पनि मेरो आदर्शको पात्र बच्चु कैलाश हुनुहुन्छ। उहाँको स्वर, संगीतले म मन्त्रमुग्ध भएँ।’

सही समालोचक देखेकै छैन 

अहिलेको नेपाली साहित्य व्यापक भएको उनी बताउँछन्। एक महिनामै दर्जन बढी पुस्तक प्रकाशन हुनु र एक वर्षमा एक सयभन्दा बढी पुस्तक प्रकाशन हुनुले पनि लेखक र साहित्य फस्टाउँदै गएको रसिकको बुझाइ छ।

समालोचकहरूले कृतिको सही मूल्यांकन गरेका छन् त भन्ने प्रश्नमा उनले भने, ‘सही रूपमा र खोजेर समालोचना गर्ने मान्छे देखेकै छैन। प्राध्यापकले आफ्नै प्राध्यापककै बारेमा मात्रै लेख्ने प्रचलन छ। प्राध्यापक साहित्यकारको मण्डली छ, उहाँहरू त्यहाँभन्दा बाहिर जानु पनि हुन्न, त्यहीभित्र लेख्ने गरेको पाइन्छ।’ समालोचकहरू ऐँचोपैँचोजस्तो गर्ने गरेको उनी सुनाउँछन्।

राजा महेन्द्रलाई सर भनेपछि…

२०२६ सालतिरको कुरा हो। लेकाली समूहबाट एउटा कार्यक्रम आयोजना भयो। उक्त समूहले ‘लहरा, पहरा, छहराको देश’ भन्ने गीत गाएको थियो। ‘त्यो गीत राजा महेन्द्रको जन्मदिनको दिन हामीलाई गाउन लगाए। गीत गाएपछि हामीलाई दरबारमा डाकियो,’ उनले सम्झिए, ‘दरबारमा गयौँ, पहिलोचोटि म दरबारमा पसेँ। हामीसँग दौरासुरुवाल थिएन, सुट लगाएका थियौँ।’

त्यसबेला लेकाली समूहमा रसिकसहित हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ थिए। निर्मला, उर्मिला, इन्द्रनारायण, शशि भण्डारी, न्हुच्छे डंगोल, नवीनकिशोर, निरा श्रेष्ठलगायत समूहका अन्य सदस्य हुन्। रसिकले भेट्दा राजा महेन्द्र पातलो शरीरका थिए। सेतौ दौरामा कालो चस्मा लगाएर बसेका थिए।

रसिकले राजा महेन्द्रसँगको संवाद सम्झिए।

महेन्द्रले सोधे, ‘को हौ तिमीहरू?’

‘हामी कलाकार हौँ सर।’ त्यसबेला सर भनेको क्षणले पछि सम्म आफू हाँस्ने गरेको उनले सुनाए। रसिकले त्यो क्षण सम्झिँदै भने, ‘सुरुमा त सरकार भन्ने थाहा भएन, त्यसैले सर भनेछु।’

‘कहाँ हो तिमीहरूको घर?’ महेन्द्रले सोधेछन्।

रसिकले भने, ‘मेरो भोजपुर, उहाँको धनकुटा।’

महेन्द्रले रसिकका बुबालाई राम्ररी चिन्थे।

‘ए, तिमी नरोत्तमको छोरा!’ राजाले भनेका थिए रे।

दरबारमा बसेर गीत गाउने हुकुम भएपछि महेन्द्रले भनेका थिए, ‘तिमीहरूलाई कहाँ बसेर गीत गाउन सजिलो हुन्छ?’
त्यसपछि महेन्द्र स्वयम्ले माइक, हार्मोनियन, अन्य वाद्यवादनका सामग्री कहाँ-कहाँ राख्ने भनेर मिलाए।

‘सर, हामी गर्छौँ भनेर हार्मोनियम मैले बोकेँ, उहाँलाई बाजा-गाजाका सामान राख्नलाई सहयोग गरेँ,’ रसिकले भने, ‘हामीले सामान ओसारपसार गरेको देखेर एडीसी शेरबहादुर मल्लले आँखा तरेर हेर्नुभयो। पछि मात्रै थाहा भयो कि, राजाले चलाएको बेला अरुले केही छुनु नहुनेरहेछ, हुकुम हुनुपर्दोरहेछ। मलाई दरबारको नियम थाहा थिएन। मैले त राजासँग सँगै काम गरेँ।’

कार्यक्रममा तत्कालीन युवराज वीरेन्द्र तथा अधिराजकुमार  धीरेन्द्र र ज्ञानेन्द्रले मादल बजाए। त्यो क्षण सम्झँदा रमाइलो अनुभूति हुने रसिक बताउँछन्। उनले भने, ‘राजाले म पछि आएर तिमीहरूलाई भेट्छु भनेर चितवन जानुभयो, त्यसपछि कहिल्यै आउनुभएन, उतै अस्ताउनुभयो।’

वीरेन्द्रका सचिवले झम्टिए…

रसिक रत्न रेकर्डिङका महाप्रबन्धक थिए। उनी कलाकारको टोली लिएर पूर्व गए। राजा वीरेन्द्र धनकुटामा थिए। त्यसबेला उनले कलाकारलाई वीरेन्द्रसँग परिचित गराए।

वीरेन्द्रलाई भेटेर बाहिर आएपछि मोहनबहादुर पाण्डे भन्ने सचिवले रसिकसँग झम्टिए। वीरेन्द्रसँग कुरा गरिरहेको बेला पाण्डेले पछाडिबाट तानेर लडाउनै खोजेका रहेछन्।

‘जब म भित्र आएँ, अनि के खालको मान्छे तपाईँ, त्यसरी अगाडि गएर कुरा गर्ने भनेर हकारेपछि मैले पनि प्रतिवाद गरेँ,’ रसिक भन्छन्, ‘सरकारबाट कुरा भएकाले म आएँ भनेर भन्दा दरबारको अनुशासनहीन भएको भन्दै हप्काए। मैले पनि प्रतिवाद गरेँ, भोलिपल्ट सरी भनेर माफी मागेँ। पछि भने राम्रै सम्बन्ध भयो। उनीहरू कहाँ छन्? मरे, बाँचे केही थाहा छैन।’

एक महिनामा ७२ वटा कार्यक्रम

रसिक जतिबेला नेपाली संगीतमा आए, त्यतिबेला नारायण गोपाल, प्रेमध्वज प्रधान, अम्बर गुरुङ, अरुणा लामा, तारादेवीहरूको रजगज थियो।

भारतीय संगीतबाट मुक्त हुन लेकाली समूह स्थापना गरेको उनले जानकारी दिए। समूहले आधुनिक, लोक गीतजस्तो र देउडा गरी तीन किसिमका गीत उनीहरूको प्रस्तुत गथ्र्यो। तत्कालीन अवस्थामा कार्यक्रम प्रस्तुत गर्दा श्रेताहरूले एकै कार्यक्रममा विभिन्न किसिमको ‘टेस्ट’ प्राप्त गर्थे।

एकपटक उक्त समूह क्यानडा गएको थियो। एक महिनासम्म क्यानडामा विभिन्न कार्यक्रम आयोजना गरेको रसिकले सुनाए। ‘एक महिनामा हामीले ७२ वटा कार्यक्रम गरेका थियौँ। क्यानडामा संगीतका लागि शिक्षा, शिक्षाका लागि संगीत भनेर एउटा अभियान चलाइएको थियो,’ रसिकले भने, ‘पछिल्लो अवधिमा त हामी आआफ्नो ठाउँमा विभक्त भयौँ। घर, व्यवहार, परिस्थिति अनुकूल नहुँदा निरन्तरता दिन गाह्रो भयो।’

उर्मिला श्रेष्ठ नेपाल सरकारकी सहसचिव थिइन्। उनी पनि रसिककै समूहमा गीत गाएर हिँड्थिन्। ‘मान्छेहरू सहसचिवले गीत गाउने हाहाहा गर्थे। अवकाशपछि तिनै सहसचिव गीत लेख्न थाले, अरूको नामको गीत पनि आफ्ना नामको भन्दै भजन लेखिहिँडे, त्यस्ता मान्छे पनि देखियो,’ रसिकले सम्झिए।

संगीतमा लाग्दा दुखिया काममा लाग्यो भन्थे

रसिक गाउँघरमा एक्लै बस्न रुचाउँथे। अन्तरमुखी स्वभावका उनको एक्लै गुनगुनाउने र एक्लै रमाउने स्वभाव थियो। संगीतप्रतिको रुचि गाउँमा छँदै भए पनि काठमाडौँ पुगेपछि उनी त्यसमै केन्द्रित भए। गीतसंगीतमा लागेको थाहा पाएर गाउँलेले उनलाई दुखिया काममा लाग्यो भन्ने गरेको उनी सम्झन्छन्।

‘यो मान्छे दुखिया काममा लाग्यो भन्थे। गीत गाउनु भनेको दुखिया काम हो भन्ने गरिन्थ्यो,’ उनी भन्छन्। उनी पनि त्यसलाई सहजै लिन्थे ‘मलाई लाग्थ्यो, दुःखलाई अनुभूति गर्न नसक्ने, संवेदनशील हुन नसक्ने मान्छे त गायक हुनै सक्दैनन् नि’, रसिकले भने।

समवेदना र भावना अभिव्यक्त गर्ने, मसिना कुरालाई कसरी अनुभूत गर्न सकिन्छ भनेर भाषा, साहित्य, संगीत र कलामा लागेको उनले सुनाए। ‘दुःखलाई अभिव्यक्त गर्ने माध्यम कला, साहित्य हो, त्यसैले यो विधामा लागेको हुँ,’ उनी भन्छन्। प्रशासनिक क्षेत्रमा काम गर्दा भावनाले मात्रै नहुने र सरकारले तोकेको नियम, कानुन, ऐनमा निहित हुनुपर्ने बताए।

रसिकले प्रशासक हुँदाको क्षण सम्झिए, ‘कहिलेकाहीँ प्रशासक हुँदा आफूले नचाहँदा-नचाहँदै पनि अरूलाई व्यक्तिगत रूपमा नोक्सान हुने काम गर्नुपर्नेरहेछ। त्यस्तो काममा साह्रै कठिन महसुस गर्थेँ म।’

रसिकले रत्न रेकर्डिङको महाप्रबन्धक हुँदा आफैँले नियुक्त गरेको मान्छेलाई पदबाट हटाइदिएको घटना सम्झिए। ‘आफैँले नियुक्त गरेको मान्छेलाई जागिरबाट निकालेँ। त्यतिबेला कानुनी प्रक्रियामा पनि गए। मैले रिजेक्ट गरिदिएँ। कविहरूलाई तितो निर्णय गर्नुपर्दा चैँ गाह्रो हुँदोरहेछ,’ उनी भन्छन्, ‘एउटा कर्मचारीको रोजगारीलाई उसको रोजगारी हट्दा जति नोक्सान हुन्छ, एउटा कर्मचारीलाई संस्थाले पाल्दा त्यति नोक्सान हुँदैन। त्यसैले बहाल गर्नु भनियो, तर मैले मानिनँ।’

त्यसबेला कति मान्छेहरूले त क्यासेट बेचेर खाइदिने पनि थिए। ‘तिनीहरूलाई निकालौँ, खाएको पैसा आउँदैन, राखौँ फेरि खान्छ भन्ने डर! प्रशासक भनेको अर्कै हो, यो सिर्जनशील मान्छे भनेको अर्कै हो रहेछ,’ उनले भने।

नेपाली भाषासहित्य प्रकाशनको अग्रणी संस्था साझा प्रकाशनको महामप्रबन्धक रहेर पनि रसिकले सेवा गर्ने मौका पाएका थिए। त्यहाँका कर्मचारीले साझाका नाममा किताब तयार पारेर आफ्नै छापाखानामा छाप्थे। वितरक अर्कैलाई दिन्थे। त्यस्ता कर्मचारीलाई ठाउँको ठाउँ नियन्त्रणमा लिए पनि थ कारबाही गर्न नसकेको रसिकले सुनाए।

साझा यति बेला भूमिकाविहीन अवस्थामा छ। साझा प्रकाशनको औचित्य सकिएको हो? भन्ने जिज्ञासामा उनले केही सुझाव दिएका छन्।

‘पछिल्लो समय साझामा विकृति घुसेकै हो। म साझाबाट निस्किँदा संस्था डेढ करोड नाफामा थियो। बीचमा यति विकृति आयो कि साझालाई कसरी अगाडि लैजाने भन्दा पनि कसरी दुहुने भन्नेतर्फ केन्द्रित भयो’, उनले भने।

साझाको अस्तित्व जोगाउन देशका हरेक गाउँपालिकामा एउटा पुस्तकालय सञ्चालन गर्नुपर्छ। त्यसको जिम्मा नेपाल सरकारलाई दिनुपर्ने सुझाव रसिकको छ। साझा प्रकाशनले पुस्तकालयका कर्मचारीलाई तालिमको व्यवस्था गर्नुपर्छ भने बिक्री गरेको किताबले अरुलाई कमिसन दिनेको सट्टा ढुवानी खर्चमा लगाउनुपर्छ।

‘अहिले त साझा कर्मचारीलाई तलब दिन नसकेर ऋणमा डुबेको छ भन्ने पनि सुनिन्छ। मैले छाड्ने बेलामा एउटा मास्टर प्लान बनाएर दिएको थिएँ, त्यो कार्यान्वयन भएन। अझै पनि काम गर्दा त हुन्छ नि!’ रसिकले भने, ‘साझाको कति ठाउँमा जग्गा, जमिन छ। भवन बनाएर, कम्प्लेक्स बनाएर आधा भाडामा दिने र आधामा पुस्तकालय बनाउँदा कति राम्रो हुन्छ।’
देशका जुनसुकै क्षेत्रमा पनि काम गर्ने मान्छेको अभाव भएको र पद ओगटेर बस्नेहरू मात्रै धेरै रहेको उनी सुनाउँछन्।

‘काम गर्छु भन्ने मान्छेको अभाव छ, पद पाएर ओगटेर बस्ने चाहना चैँ धेरै छ। कतिपयलाई काम गर्नुपर्छ भन्ने थाहा भएर पनि अरूको सहयोग लिएर काम गर्दा म तल पर्छु भन्ने सोचाइ पनि छ,’ उनले भने, ‘अरू देशहरूमा आफूले नजानेका कुरा अरुहरूबाट लिन्छन्। पैसा तिरेर सुझाव माग्छन्, यहाँ त सुझाव लिनुपर्छ कि भन्ने डर छ। समूहलाई समेट्ने प्रयत्न कम भएको छ, एक व्यक्तिले के गर्न सक्छ?’

सार्वजनिक संस्थाहरूमा राजनीतिक सिद्धान्त र विचारका प्रभावले काम हुन नसकिरहेको उनको तर्क छ। साझा प्रकाशनको जुन इज्जत र गरिमा थियो, त्यसको प्रभाव कम हुँदै गएको उनी सुनाउँछन्। रसिकले भने, ‘सत्तामा बस्ने मान्छेहरूले अवमूल्यन गरे। हरेक संस्थाको जुन गरिमा र इज्जत थियो, यसको प्रभाव कम हुँदै गएको छ।’

बाँच्नलाई प्रेम चाहिन्छ

जीवनमा हरेक मानिसले प्रेम गर्छ। प्रेम चैँ के रहेछ? उनको जवाफ छ, ‘प्रेम त आवश्यक चिज हो नि। बाँच्नलाई प्रेम चाहिन्छ। जीवनमा प्रेम त सबैले गरेका छौँ, त्यो ढाँट्ने कुरै छैन।’

विभिन्न कालखण्डमा प्रेम हुने उनको भनाइ छ। विद्यार्थी कालको प्रेम, जागिर खाँदाको प्रेम, जीवनको प्रेम।

‘कोही मान्छेले प्रेम नै गरेको छैन भन्छन् भने त्यो फट्याइँ हो। हरेक मान्छेको प्रेम हुन्छ, प्रेम गरिन्छ,’ रसिक भन्छन्, ‘उमेरअनुसार एउटै किसिमको समय, चाहना राख्नुचाहिँ हुँदैन। प्रेमका लागि विभिन्न कुरा आवश्यकता हुन्छ।’

जीवन सृष्टिको अनुपम उपहार हो

रसिकको अनुभवमा आफ्नो चाहना पूरा हुनु नै जीवनको सफलता हो। ‘अघि प्रेमको कुरो जोड्नुभयो नि! मैले मेरो सफलता चैँ श्रीमतीको श्रेयलाई दिन्छु। उनले व्यवस्थित गरेर मेरो जीवन सञ्चालन नगरिदिएको भएदेखि, यो सबै कर्म हुन्थेन,’ उनी भन्छन्, ‘मेरो जीवनमा उनको अतुलनीय योगदान छ, तर आज उनी संसारमा छैनन्।’

सफल हुन परिवारको प्रेम र साथ आवश्यक पर्ने रसिक बताउँछन्।

उनले भने, ‘म विवाह गर्दा एउटा झोलासहित ट्याक्सीमा हालेर निस्किएको मान्छे हुँ। छोरा जन्मिएपछि मलाई मिनीबस चाहिने भयो, छोरी भएपछि घर जाँदा ट्रक चाहियो। यही नै पारिवारिक प्रेम र सद्भाव रहेछ। आफ्नो परिवारको अवस्थालाई बुझ्ने कुरा प्रेममा चाहिँदोरहेछ, त्यही नै सफलता रहेछ।’

जीवन भने सृष्टिको अनुपम सिर्जना रहेको उनको अनुभव छ। ‘सितिमिति यस्तो जीवन पाइँदैन। यो जीवनमा भोग्ने हो, असल काम गर्ने हो। सांसारिक मायामोहमा बसेर पनि साहित्य, संगीतमा योगदान दिन सकिन्छ। जीवन सृष्टिको अनुपम सिर्जना हो,’ रसिकले भने, ‘मैले मेरो कर्मभन्दा धेरै पाएँ। मैले पारिवारिक सुख सधैँ गुमाएँ।’

यति भन्दै गर्दा रसिकले जीवनदेखि विरक्त लाग्न थालेको निराशावादी कुरा सुनाए। आफू भोलिबारे सोच्ने भएका कारण कहिलेकाहीँ विरक्त लाग्ने रसिक बताउँछन्।

‘कहिलेकाहीँ त लाग्छ कि, सिर्जना भन्ने पनि के रहेछ र! यी प्रमाणपत्रहरू म मरेको एक वर्षसम्म रहला, त्यसपछि रहँदैनन्। घरको भित्तामा झुन्ड्याएका प्रमाणपत्र देखाउँदै उनले भने, यसको केही अर्थ छैन जस्तो लाग्छ, कुन कुनामा लगेर फाल्लान्। आखिर के रहेछ त? म भोलिबारे अलिक बढी चिन्ता गर्छु, त्यसले पनि पीडा दिन्छ,’ उनी पुनः भावुक बने।

राष्ट्रकवि माधवप्रसाद घिमिरेका घरमा प्रमाणपत्र खाटमुनि थन्किएको, किताबहरू यत्रतत्र रहेको सुनेर उनी दिक्क मान्छन्। उनी भन्छन्, ‘देखेको छु नि यस्ता फ्रेम फाँकिएको। त्यसकारण अब यी चैँ असुन्दर कुरा हुन्। हामीजस्तो मान्छेको संग्रहालय स्थापना गरोस् भनेर सरकारले पनि थेग्न सक्दैन। राष्ट्रकविको त हालत छ, खाटमुनि फ्याँकिए भन्ने सुनिन्छ।’
रसिकले बाँचुञ्जेलको मात्रै चिन्ता गर्नुपर्ने र मृत्युपछिको चिन्ता गर्न नहुने बताए।

यो उमेरमा पनि ऊर्जा कसरी प्राप्त हुन्छ? उनले जवाफ फर्काए, ‘के ऊर्जा प्राप्त भएजस्तो लाग्छ? हरेक मान्छेको आ-आफ्नो चरित्र हुँदोरहेछ। म क्यान्सरले पीडित छु भनेर कहिल्यै आफूलाई सम्झिन्नँ। म तपाईँहरूसँग कुरा गर्दा त्यही उमेर भएर बाँच्छु। मेरा साथीहरू मभन्दा धेरै कम उमेरका छन्।’

जीवनलाई राम्रो सम्झिँदा सधैँ हराभरा र सृष्टिको सुन्दर फूल रहेको उनी सुनाउँछन्। ‘मेरो उमेरको मान्छेले युवापुस्तासँग संगत नै गर्दैनन्। भाषा, साहित्य, कलाले गर्दा म युवा पुस्तासँग जोडिएको छु,’ उनी भन्छन्, ‘फोर्थ स्टेजको क्यान्सर भएको दुई वर्ष भइसक्यो। दिल्लीबाट मलाई डाक्टरले फर्काएको हो। तपाईँ केमा खुसी हुनुहुन्छ, कहाँ घुम्दा खुसी हुनुहुन्छ, त्यही गर्नु भनेको थियो।’

क्यान्सरका कारण दुखाइ असह्य हुँदा आफूले भगवान्सँग प्रार्थना आध्यात्मिक कुरा पनि रसिकले बताए। ‘म भगवान्सँग प्रार्थना गर्थेँ। भगवान् तुरुन्तै प्राण लिएर जानुहोस् भनेर पनि भन्थेँ,’ उनी भन्छन्, ‘पछि औषधिले काम ग¥यो। एक वर्ष हुन लाग्यो किमो दिन थालेको।’

रसिकले दुःखी भएर कोठामा बस्न नहुनेसमेत सुनाए। ‘मैले एक्लै दुःखी भएर कोठामा बसेर के गर्ने? मेरो दुःख कसले देख्ने? आफू दुःखी हुनुबाहेक अरु केही छैन। मर्नु त एक दिन छँदैछ। म कहिलेकहिले सोच्छु, अब चाहिँ मर्न पाए हुन्थ्यो। म दुःखी भएर भनेको होइन, मैले आफ्नो गर्ने कम गरिसकेँ,’ रसिक बहकिए।

उनलाई बाँच्ने चाहना पनि बिस्तार कम हुँदै गएको छ।

‘एक्लै कति बाँच्नु? जति बाँच्यो त्यति अरुलाई पनि दुःख छ जस्तो लाग्छ। अब चैँ यी सब कुराबाट मुक्ति दिए पनि हुन्छ। मर्न चाहन्छु, म चाँडै’, रसिक बोल्दाबोल्दै अडिए।

रसिकले बाँच्न कठिन रहेको तर बाँच्नु ठूलो कुरा रहेको सुनाए। उनले भने, मेरो उपचारमा महिनाको एक लाख खर्च हुन्छ। त्यति महँगो जिन्दगी बाँचेर मैले के गर्नु छ?’

हरेक मानिसले बाँच्नुको अर्थ खोज्नुपर्ने उनी बताउँछन्। ‘कि लेख्न सक्नुपर्यो, कि साथीभाइसँग घुम्न सक्नुपर्यो, भर्याङ चढ्न लौरो चाहिन्छ। कोठाभित्र बन्धक भएर जीवन बाँच्नुपरेको छ। मेरो इच्छा केही छैन। चाँडै मुक्ति पाऊँ भन्ने पनि लाग्छ,’ रसिकले भने।

पछिल्लो समय आमपुरुषलाई प्रोस्टेट र महिलालाई पाठेघरको रोग लाग्ने भएकाले रोगको चाँडै उपचार गरिनुपर्ने उनले सुझाए।

सामान्य कर्मचारीको जागिरे हुँदै व्यावसायिक जीवन पार गरेका उनका क्षितिजलाई छुन खोज्दा (कथासंग्रह) २०२४, एउटा सारंगी छुन खोज्दा (कथासंग्रह) २०२७, रसिकका गीतहरू (गीतसंग्रह) २०४५, आकाशगंगाको ओतमुनि (उपन्यास) २०४८, जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण) २०५५, बिलाउँदै गएका गीत (कथा संग्रह) २०५८, दसगजामा उभिएर हेर्दा उपन्यास २०६३, स्वाधीनताको पीडा (गीतसंग्रह) २०६८, पेरुंगो संस्करण (पाँच कृति) २०७३ लगायत प्रकाशित छन्।

तीमध्ये पनि आकाशगंगाको ओतमुनि आफूलाई असाध्यै मन परेको रसिक बताउँछन्।

रसिकले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८-२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०-२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२-२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२-२०७५)जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदाका गहन जिम्मेवारीहरू निर्वाह गरेका छन्।

रसिक यी संस्थाहरूको जिम्मेवारीमा रहँदा पनि सधैँ कला, साहित्य, संगीतमै केन्द्रित भए। जसकारण आज उनको परिचय एक सर्वोच्च व्यक्तित्वको रूपमा परिचित छ।

प्रकाशित: १२ असोज २०८१ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =