सर्लाही : चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २९ जेठ २०८२ २०:४७ | Thursday, June 12, 2025
सर्लाही : चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र विभिन्न सामान आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सो गाउँपालिकाको वडा नं १ देखि ९ सम्मका लागि सौर्यबत्ती जडानका लागि आर्थिक वर्ष २०७८/७९ मा २ करोड १६ लाख बराबरको बजेट विनियोजन गरिएको थियो। विनियोजन भएको बजेटविपरीत खम्बा, सोलार प्यानल, लाइट, तार, नटबोल्ट, ब्याट्री, चार्ज कन्ट्रोलर खरिद तथा जडानसमेतका लागि बदनीयत राखी टुक्र्याएर पाँच वटा प्याकेज बनाइएको पाइएको छ।

विनियोजित बजेटभन्दा बढी २ करोड ५३ लाख १७ हजार २५० बराबरका लागि अनुमान स्वीकृत गरी बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको थियो। त्यसमा तीन वटा फर्मबीचमा मात्रै प्रतिस्पर्धा गराइएको थियो। सो कार्यका लागि गाउँपालिकाले २ करोड ४९ लाख ४० हजार ११० बराबरको रकम विभिन्न सौर्यबत्ती कम्पनीलाई भुक्तानी दिएको थियो।

सो कार्यमा भ्रष्टाचार भएको भन्दै आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साहविरुद्ध २ करोड ४९ लाख ४० हजार ११० बराबरको बिगो माग दाबी गर्दै आज (बिहीबार) विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यसै गरी लेखापाल सञ्जयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख रामकैलाश राय यादव, सबइञ्जिनियर सन्तोष राय र राजु रायविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ। यस्तै लेखा अधिकृत शिवशंकरप्रसाद कुशवाहाविरुद्ध ४७ लाख ४९ हजार ५६०, स्काई राइज ट्रेडिङ कन्सर्न मलङ्गवा सर्लाहीका सञ्चालक जयप्रकाश यादवविरुद्ध ५८ लाख ३९ हजार ८४० माग दाबी गरिएको छ।

त्यस्तै  एसके स्टोर्स मलंगवाका सञ्चालक रञ्जुकुमारी साहविरुद्ध ९५ लाख २३ हजार ९१० र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्टचर सोलुसनका सञ्चालक संगीताकुमारीविरुद्ध ९५ लाख ७६ हजार ३६० बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

प्रकाशित: २९ जेठ २०८२ २०:४७ | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast