 
                             
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधका कारण अवरुद्ध भएको प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भए पनि कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भयो। बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ‘भिजिट भिसा’का नाममा भइरहेको मानव तस्करीको विरोधमा उभिएर नाराबाजी गरेका थिए।
विरोधका बीच सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा भण्डारी कार्कीलाई मन्तव्य राख्न समय दिए। उनले मानव तस्करीका घटनाको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग गरिन्। त्यसपछि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बोल्न खोजे पनि रास्वपाका सांसदहरू वेलमा पुगेपछि सदनमा अव्यवस्था उत्पन्न भयो।
प्रमुख सचेतक घिमिरेले केही सांसदहरूले लगाएको ‘रिबन’ संसदको मर्यादासँग मेल नखाने पोसाक भएको भन्दै त्यसप्रति आपत्ति जनाए। उनले संसद्को गरिमा जोगाउन मर्यादित पोसाकमा मात्र उपस्थित हुनुपर्ने बताए।
विपक्षी दलको निरन्तर विरोधपछि सभामुख घिमिरेले बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए। तर, त्यसपछि बैठक पुनः नबसी स्थगित भएको हो। अब प्रतिनिधिसभाको अर्को बैठक पर्सि बिहीबार बिहान ११ बजे बस्ने तय भएको संसद् सचिवालयले जानकारी दिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 