बजेटको बचाउमा सत्तापक्ष, विरोधमा प्रतिपक्ष

हिमाल प्रेस २ असार २०८२ १५:१८ | Monday, June 16, 2025
बजेटको बचाउमा सत्तापक्ष, विरोधमा प्रतिपक्ष

काठमाडौँ– सत्तारुढ दलका सांसदहरुले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै स्वागत गरेका छन् भने विपक्षी दलका सांसदहरुले बजेटको विरोध गरेका छन्।

सोमबार रास्वापा सांसदहरुको वेल घेराउकाबीच प्रतिनिधिसभा बैठकमा भएको बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताए।

बजेटले उच्च, दिगो, फराकिलो आर्थिक वृद्धि दर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सावर्जनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने विषय प्राथमिकतामा राखेको उनले बताए।

सांसद कार्कीले बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको धारणा राखे।

त्यस्तै एमाले सांसद पदम गिरीले मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा केन्द्रित गर्दै बजेट आएको बताए। सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न योग्य रहेको र आर्थिक लक्ष्य हासिल गर्नका लागि सहयोग गर्ने सांसद गिरीको भनाइ छ।

सांसद गिरीले युवा पुस्ताहरुलाई नेपालमा नै रोजगारी दिएर विदेश पलायन हुनबाट रोक्ने सरकारको नीति सही रहेको जिकिर गरे।

त्यस्तै माओवादी सांसद शक्ति बस्नेतले सरकारले बिनियोजन गरेको बजेट संघीयतालाई कमजोर पार्ने प्रकारको रहेको आरोप लगाए। योजना र बजेटको असन्तुलनले संघीयतामाथिको धारणालाई कमजोर पार्ने उनको भनाइ छ। उनले ऊर्जा विकास मार्गचित्र कार्यान्वयन गर्नका लागि कहिँपनि ध्यान नदिइएको बताए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बजेटलाई मन्त्रीहरुले आफ्नो क्षेत्र केन्द्रीत गरेको आरोप लगाए।

प्रकाशित: २ असार २०८२ १५:१८ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast