 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने गरी स्थगित भएको छ। आइतबार करिब ६ मिनेट बसेर स्थगित भएको बैठक बुधबारका लागि सारिएको संसद् सचिवालयले जनाएको छ। दुई सातादेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक सोमबार सुरु हुनेबित्तिकै प्रतिपक्षी सांसदहरू उठेर होहल्ला गर्न थालेका थिए।
सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिन्छु भन्दा पनि सांसदहरूले उठेर विरोध गरिरहेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो। आधा घण्टामा पनि सहमति जुटाउन नसकिएपछि बैठक बुधबारसम्मका लागि सारिएको हो।
प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतले संसद् अवरुद्ध गर्दै आएका हुन्। सरकार प्रतिपक्षीको सर्त मान्न तयार नहुँदा संसद्मा बजेटमाथिको छलफल नै रोकिएको छ। बैठक सञ्चालनका लागि दलहरूबीच सहमति जुट्न सकेको छैन।
नेपाली कांग्रेसले संसद् सञ्चालनका लागि प्रतिपक्षी दलहरूसँग छलफल गरिरहेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठक सञ्चालनका लागि आफू सकारात्मक रहेको प्रतिक्रिया दिँदै आएका छन्। कांग्रेसले रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहितका विपक्षी दललाई मनाउन नसक्दा बैठक अगाडि बढ्न नसकेको नेताहरू बताउँछन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 