 
                             
                                            काठमाडौँ- नेपाली फिल्म उद्योगमा यति बेला ‘ऊनको स्वीटर’ ले नयाँ कीर्तिमान स्थापित गरेको छ। आज प्रदर्शनको ३७ औँ दिनमा फिल्मका सबै गीतले युट्युबमा करोड क्लबमा स्थान बनाउन सफल भएका छन्।
सांगीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै ‘ऊनको स्वीटर’को म्युजिक एल्बम नै सुपरहिट साबित भएको छ। हालै ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीतले पनि १ करोड भ्यूज कटाएसँगै यो गौरवपूर्ण माइलस्टोन हासिल भएको हो।
समाचार तयार पार्दासम्म ‘फूलहरू मुस्काउँछन्’ ले २ करोड १० लाख (२१ मिलियन) भ्यूज, ‘मखमली’ ले १ करोड ३० लाख (१३ मिलियन) भ्यूज, ‘काफ्ले’ ले १ करोड ३० लाख (१३ मिलियन) भ्यूज र ‘चाइनेजो जिन्दगानीमा’ ले १ करोड (१० मिलियन) भ्यूज पाइसकेको छ।
यो सफलताप्रति आर्टमाण्डु परिवारले दर्शक तथा श्रोताहरूलाई हार्दिक कृतज्ञता व्यक्त गरेको छ। ‘नेपाली फिल्मले पाएको यो सफलता धेरै समय पछि नै हुनुपर्छ। हामी हजुर दर्शक श्रोताहरू प्रति कृतज्ञ छौँ’, आर्टमाण्डु परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ। यो सफलताले आगामी दिनका लागि थप सकारात्मक दबाब र चुनौती थपेको पनि आर्टमाण्डु परिवारले जनाएको छ।
फिल्मका निर्देशक नवीन चौहानले भविष्यमा पनि यस्तै मिहिनेतका साथ राम्रा फिल्महरू निर्माण गरिरहने प्रतिबद्धता व्यक्त गरे।
‘ऊनको स्वीटरल २०८२ सालको पहिलो सुपरहिट फिल्म बन्न सफल भइसकेको छ। हाल नेपालभरका दर्जनौँ हलसहित अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा प्रदर्शन भइरहेको छ।
फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमू, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायत कलाकारको अभिनय छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 