
जीवा लामिछाने नेपाली उद्यमी, अन्तर्राष्ट्रिय व्यवसायी र साहित्यिक व्यक्तित्व हुन्। विश्वका १३० भन्दा बढी मुलुकको यात्रा गरिसकेका उनी रुसमा उच्च शिक्षा प्राप्त गरी युरोप र नेपालमा विभिन्न व्यवसायमा संलग्न छन्। गैरआवासीय नेपाली संघका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष जीवा नेपाली पासपोर्ट बोकेर संसार घुमिरहने कमै नेपालीमध्येमा पर्छन्।
गत वर्ष उनी पहिलोपटक सन् १९११ मा मानिस पुगेको महाद्वीप (अन्टार्कटिका) मा पनि पुगे। अध्ययनअनुसन्धानका नामले त्यो महाद्वीप क्षत भएको र अहिले पर्यटन व्यवसायी पुग्दा पनि अक्षत अवस्थामा रहेको उनको पुस्तकबाट स्पष्ट हुन्छ। त्यो कसैको सांस्कृतिक वा अन्य क्षेत्राधिकारभित्र नपरेको स्थान हो। पृथ्वी सबैको साझा घर हो। बिनाभिसा त्यहाँ जान पाइन्छ। त्यसैले अझै पनि अक्षत नै छ।
दुई साताअघि काठमाडौँको रमदा होटलमा कफीको चुस्कीसँगै उनी अन्टार्कटिकाको मौनता सम्झिएर भावनामा डुबिरहेका थिए। त्ससो त उनले त्यही मौनतालाई शब्दमा बदल्दै ल्याएका थिए– ‘अक्षत अन्टार्कटिका’ कृति। यसअघि ‘सरसर्ती संसार’ र ‘देश-देशावर’ जस्ता यात्रा निबन्ध कृतिहरूले पाठकको मन जितिसकेका लामिछानेको यो तेस्रो कृति हो।
अन्टार्कटिका जहाँ मौनता बोल्छ र हिउँ पनि इतिहास हुन्छ। संसारको यो सबैभन्दा चिसो, एक्लो र अपूरो भूभागमा पुग्नु यात्रुका लागि सामान्य होइन। यो एउटा जीवनभरिको सपना अनि योजनाबद्ध संघर्ष हो। जीवाले यही सपना साकार पार्न जुन मार्ग रोजे, त्यो यात्राको नक्सा यस्तो थियो। उनको यात्राले न केवल भूगोलको सीमाना नाघ्छ, मनोभूमिको गहिराइमा पनि डुबुल्की मार्छ।
यति मात्रै होइन सामाजिक सञ्जालमा लेखिएका उनका पोस्टहरू पाठकमाझ सूचनामात्र होइन, अनुभूतिको सेतु बनेका छन्। तिनै यात्राको अनुभव, सूचना, चिन्तन र भावनाको सेरोफेरोमा लामिछानेसँग हिमालप्रेसका चन्द्रशेखर अधिकारीले गरेको छोटो संवाद :
तपाईं जहाँ पुग्नुहुन्छ त्यहाँका बारेमा जानकारी दिन आवश्यक ठान्नुहुन्छ कि लेख्ने प्रेरणा या अरू केही हो?
हरेक ठाउँमा पुग्दा मनमा जिज्ञासाको हिमचट्टान उभिन्छ। यो ठाउँको कथा के हो? यहाँको हावा, माटो र मान्छेले के भन्छ? म त्यही कथालाई शब्दको क्यानभासमा उतार्न रुचाउँछु। स्थानीय कथा, पढेका तथ्य, मानिसका धारणा यी सबैलाई समेटेर लेख्छु। कहिलेकाहीँ स्रोतहरू प्रमाणित गर्छु। शंका लागे गुगलमा सर्च गर्छु र सही वेबमा पुगेर नियाल्छु। नबुझे स्थानीय अनुभवीलाई सोध्छु। मेरो लेखनले पाठकको मनमा एउटा सानो स्पर्श होस् भन्ने चाहन्छु जसले उनीहरूलाई पनि यात्राको रङमा रंगाओस्।
यस्ता जानकारी साझा गर्दा पाठकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ?
पाठकभन्दा पनि मेरा सामाजिक सञ्जालमा जोडिनुभएका साथीहरुको माया र प्रेरणा मेरो लेखनको इन्धन हो। अन्टार्कटिकाको यात्रामा म निस्कँदै छु भन्दै गर्दा मेरा साथीहरूले भने, ‘यो त पुस्तक बन्नुपर्छ।’ त्यही उत्साहले म टिपोट गर्दै गएँ र त्यही मौनताले ‘अक्षत अन्टार्कटिका’ को रूप लियो। सामाजिक सञ्जालमा लेख्ने बानीले नै मलाई लेखक बनायो। सञ्जालमा रहेका साथीहरूले ‘तपाईँको लेखनले हामीलाई त्यो स्थानमा पुर्यायो नै अन्ततः’ भन्ने प्रतिक्रियाले मन तात्छ। यो मेरा लागि सबैभन्दा ठूलो पुरस्कार हो। कतिपयले म त्यहाँ पुग्दा नदेखेको तर यहाँले लेखिदिँदा फेरि त्यही मुलुक पुगेको अनुभव भएको समेत प्रतिक्रिया पाएको छु।
तपाईँको लेखन पढेर कसैलाई घुम्न जाने प्रेरणा मिलेको सुन्नुभएको छ?
अवश्य नै। कैयन् उदाहरण साक्षी छन्। धेरै विदेशी साथीहरूले मेरो पोस्ट पढेर सौराहा, पोखरा, नारायणी र्याफ्टिङ वा अन्य ठाउँ घुम्न गएको सुनाएका छन्। कतिपय नेपाली साथीहरूले ‘तपाईँले लेखेका कुरा हामी त्यहाँ घुम्दा देखेनौँ तर तपाईँको शब्दले हामीलाई फेरि त्यहाँ पुर्यायो’ भन्छन्। यस्ता प्रतिक्रियाले लेखन यात्रालाई झनै रमाइलो बनाउँछ। म लेख्छु किनभने मलाई लाग्छ- मेरो शब्दले कसैको मनमा यात्राको सानो बीज रोप्न सकोस्। घुम्ने कौतूहल जागोस्। जुन मानव जीवनका लागि अत्यावश्यक हो भने राज्य संयन्त्रको राजस्व ‘पल्स’ हो। मानिस चेतनशील, जिज्ञासु र अस्थिर प्राणी पनि हो।
नेपाल घुम्दा अंग्रेजीमा र विदेश घुम्दा नेपालीमा पोस्ट गर्नुहुन्छ, खास कारण?
विदेशमा हुँदा मातृभाषाको मोहले नेपालीमा लेख्छु। त्यहाँको अनुभव नेपाली शब्दमा बुन्दा मनको तार जोडिन्छ। नेपालमा हुँदा भने अंग्रेजीमा लेख्छु किनभने मलाई लाग्छ– नेपालको सौन्दर्य विश्वसामु चिनाउनु मेरो पनि कर्तव्य हो। मेरो लेखनले सौराहा, पाेखरा, इलाम मात्र होइन नारायणीमा र्याफ्टिङ वा नेपालको कुनै कुनामा विदेशी पाहुनालाई ल्याउन सक्यो भने त्यो मेरो तर्फबाट सानो योगदान हुनेछ। त्यसैले फरक फरक शैलीमा लेख्ने गरको छु। लेखिरहने नै छु।
कफीको चुस्कीमा अन्टार्कटिकाको मौनता सम्झिनुभयो, त्यही मौनता पुस्तक बनेछ। लेखन प्रक्रिया कस्तो रह्यो?
‘अक्षत अन्टार्कटिका’ लेख्नु भनेको अन्टार्कटिकाको सेतो सन्नाटालाई शब्दमा उभ्याउने संघर्ष थियो। हो, अंग्रेजी अन्य भाषामा अन्टर्काटिकाको बारेमा धेरै आइसकेको भए पनि नेपलीमा आएको देखिनँ अनि मैले यो किताब लेखेँ। पुस्तक फरक र मिठो बनाउन आफैँले पटक-पटक पुनर्लेखन गरेँ किनभने म सूचना मात्र होइन भावनाको लय पनि पाठकसम्म पुगोस् भन्ने चाहन्थेँ। त्यहाँको सेतो साम्राज्यले मनमा कविता लेखिदियो र मैले त्यसलाई ‘मौनालाप’ को रूपमा शब्दमा उतारेँ। ‘यो किताब पढ्दा हामी अन्टार्कटिकाको हिउँमा हिँड्यौँ,’ पाठकको यस्तो प्रतिक्रियाले लेखनको थकान हराउँछ।
‘अक्षत अन्टार्कटिका’को प्रतिक्रिया कस्तो आइरहेको छ?
पाठकको माया अपार छ। ‘अक्षत अन्टार्कटिका’ एउटा सानो किताब हो। एकै बसाइमा पढिन्छ तर पाठकको प्रतिक्रियाअनुसार ‘यो त शब्दको सागरमा डुबुल्की हो।’ साथीहरूबाट नै अन्टार्कटिका पुग्ने प्रेरणा पाएँ किनभने यो ठाउँमा विरलै पुगिन्छ। मैले सुनेको अन्टार्कटिका र त्यहाँ पुग्दाको अनुभव फरक थियो।
सन् १९५८ को अन्टार्कटिका सन्धि, त्यहाँको संघर्ष र प्रकृतिको मौनताले मलाई लेख्न बाध्य बनायो। पृथ्वीको अन्तिम हुलाकको पोस्ट अफिस पनि त्यहीँ छ। त्यहाँ मैले श्रीमतीलाई एउटा पत्र किन नलेख्ने भनेर लेखेर पठाएँ। म फर्किसक्दा त्यो पत्र पुग्यो। मैले नखोली श्रीमतीलाई दिएँ। ढिला हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पत्र पठाएकाे थिएँ।
अहिले हुलाकको कुरा गर्दा अनौठो लाग्छ तर जुन सुविधा त्यहाँ देख्दा पत्यार लाग्दैन। त्यहाँबाट फकल्यान्ड, त्यसपछि बेलायत अनि जर्मनीस्थित हाम्रो निवासमा पुगेको रहेछ पत्र। यस्तैयस्तै विषयले मेरो पुस्तकमा फरकपन छ जस्तो लाग्छ। अन्य भाषामा अन्टार्कटिकाबारे धेरै पढ्न पाइए पनि नेपालीमा सामग्री कमै छन्। त्यसैले यो किताब मेरो सानो योगदान हो झैँ लाग्छ।
अन्टार्कटिकाको यात्राको रुटबारे केही बताइदिनुहोस्।
अन्टार्कटिकाको यात्रा मेरो जीवनको एउटा काव्य थियो। म त्यहाँ जाँदा नेपालबाटै यात्रा तय गरेको थिएँ। नेपालबाट युनाइटेड अरब इमिरेट्सको सहर दुबई, ब्राजिलको रियो दि जेनेरियो, अर्जेन्टिनाको ब्युनस आयर्स हुँदै उसुआइया (जसलाई अन्टार्कटिकाको ढोका भनिन्छ।) पुगेँ। त्यहाँबाट क्रुज (पानीजहाज) मा विश्वको सबैभन्दा कठोर जलमार्ग पार गरेँ।
समुद्रको छाल, हिमचट्टान र पेन्गुइनको हिँडाइले मलाई मात्र होइन जोकोहीलाई कवि बनाउँछ। अन्टार्कटिका पुगेर फर्कँदा त्यहाँको मौनतामा डुब्दा लाग्यो- यो पृथ्वीको साझा घर हो जहाँ मन र प्रकृति एकाकार हुन्छन्। यो यात्रा केवल भूगोलको होइन, आत्माको पनि थियो। अन्टार्कटिकामा स्नान गर्ने समयमा निकै सोचेँ। अन्तत: डुबुल्की मारेँ नै।
तपाईँको लेखनको थालनी कहिलेदेखि भयो?
स्कुलमा लेखन प्रतियोगिता जित्दा लेखनको बीज रोपिएको थियो। रुसमा पढाइले लेखनमा विराम लाग्यो तर सामाजिक सञ्जालले मलाई फेरि लेखक बनायो। बीपी कोइरालाको ‘तीन घुम्ती’ को भावनात्मक गहिराइ, ध्रुवचन्द्र गौतम र अमर न्यौपानेको शैलीले मलाई प्रेरित गर्छ। अनि नामचलेका नेता, व्यापारीको आत्मकथा पनि मेरो रुचीको विषय हुन्। लेखन मेरो लागि यात्रा हो, जसमा दर्शन, अनुभव र भावनाको मिश्रण हुन्छ। म यात्राबाहेक अन्य साहित्य सायद लेख्न सक्दिनँ किनकि यात्रामा जस्तो सहजता अन्य विषयामा हुँदैन। तर सबै विधाका पुस्तक म रुचाउँछु।
फेसबुकमा लेख्दा भाषा चयन, शब्द छनोट र समय व्यवस्थापन कसरी गर्नुहुन्छ?
म जहाँ पुग्छु तुरुन्तै लेख्छु। तर पोस्ट गर्नुअघि दुईतीनपटक पढ्छु। तीनचार सय शब्द तत्काल बग्छन् तर शब्द र भावनाको सन्तुलनमा ध्यान दिन्छु। समय सबैलाई बराबर छ- २४ घण्टा। सकारात्मक सोच र कर्मले त्यसलाई सार्थक बनाउन सकिन्छ। मेरो लेखन समयको कला हो जसले अनुभवलाई अमर बनाउँछ।
तपाईँको परिवारमा अरू पनि लेखनमा सक्रिय हुनुहुन्छ कि?
मेरो भाइ लेख्छ। छोराहरू मेरो शैली पछ्याउँछन्। उनीहरूको लेखन र छलफलले मलाई गर्व लाग्छ। म सधैँ लेख्न र पढ्न प्रोत्साहन गर्छु। हामी नेपालीले रामायण र महाभारत पढ्नैपर्छ। ती हाम्रा ज्ञानका सागर हुन्। लेखन र पढाइले नै जीवनलाई गहिरो बनाउँछ।
नाटक पढ्न वा हेर्न कत्तिको रुचाउनुहुन्छ?
नाटक हेर्ने मनपर्छ तर तारतम्य मिलिरहेको छैन। नाटकजस्ता पुस्तकहरू भने रुचिपूर्वक पढ्छु। फरक शैलीका किताबहरूले सोच्ने तरिकालाई नयाँ आयाम दिन्छ। विश्वेश्वरप्रसाद कोइरालाको ‘तीन घुम्ती’ पढ्दा उनको लेखन शैलीले मन पग्लिन्छ। त्यो समयमा एक महिलाको त्यो संघर्ष पक्कै सामान्य थिएन। ध्रुवचन्द्र गौतम, अमर न्यौपाने र विदेशी लेखकहरूको शैलीले मेरो दृष्टिकोण फराकिलो बनाएको छ। पढाइबिना लेखन अधुरो हुन्छ। त्यसैले म सधैँ पढिरहन्छु र अन्य साथीहरूलाई पनि जति व्यस्तता रहे पनि पढ्न समय निकालुनु भन्छु।