पुस्तक चर्चा

२० नियात्राभित्रका ४० अनौठा कुरा

माधवप्रसाद नेपाल १६ असार २०८० १४:३६
316
SHARES
२० नियात्राभित्रका ४० अनौठा कुरा

‘देश देशावर’ जीवा लामिछानेको नियात्रा सङ्ग्रह हो। यसमा २० वटा यात्रा विवरण सङ्कलित छन्। नियात्रा लामिछानेले सन् २०१२ देखि २०१९ सम्म गरेका अफ्रिका, उत्तर अमेरिका, युरोप र एसियाली मुलुक भ्रमणमा आधारित छन्। तीमध्ये केहीचाहिँ सन् १९८० को उत्तरार्धका छन्। ग्रन्थमा १६ देशको यात्रा वृत्तान्त छ।

लामिछानेले चीन, रुस, जर्मनीको भ्रमण पटकपटक गरेका छन्। अधिकांश नियात्रा गैरआवासीय नेपाली सङ्घको सङ्गठन विस्तारसँग सम्बन्धित छन्। केही नियात्रा व्यापारिक भ्रमणमा  आधारित छन्। अनि केही पत्नी विन्दिता र दुई छोरा अनुराग तथा अनुकृतसँगै गरिएका भ्रमणसँग सम्बन्धित छन्। हङकङ भ्रमणमा भने उनको हनिमुनकाल पनि जोडिएको छ।

लामिछाने यात्राअघि सूचना सङ्कलन गर्छन्। कुनै देश घुम्न जाँदा त्यहाँको राजनीतिक र आर्थिक अवस्थाप्रति सधैँ जिज्ञासु बन्नु उनको विशेषता हो। अनि सम्बन्धित देश र भूगोलसँग जोडिएका ऐतिहासिक सन्दर्भ खोजतलास गर्छन्। कुनै व्यक्तिबारे पढेको वा सुनेको रहेछ भने त्यसबारे थप खोजीनिती गर्छन्। यसरी सङ्कलित सूचना र जानकारीले लेख्न सजिलो बनाउने उनको विश्वास छ।

भ्रमण गर्दागर्दै लामिछानेको मनमस्तिष्कमा एउटा नियात्राले आकार लिइसकेको हुन्छ। यो ग्रन्थ पनि त्यसरी नै तयार भएको उनको स्वीकारोक्ति छ। ग्रन्थका नियात्राले पाठकलाई युरोप, अफ्रिका, उत्तर अमेरिका र एसियाका विभिन्न देशमा पुर्‍याउँछ, जसरी लेखक डुलेका छन्। अनि त्यहाँको हावापानी, भूगोल, राजनीतिक अवस्था, इतिहास, आर्थिक अवस्था सविस्तार जानकारी हुन्छ। त्यसले गर्दा पाठकलाई स्वयं भ्रमणमा गएको अनुभूति हुन्छ। कुनै विकसित ठाउँमा पुगेपछि नेपाल पनि यस्तै बनिहालोस् भन्ने चाहना देखिन्छ।

एसिया, युरोप र अमेरिकाका विभिन्न सहरमा नेपाली धेरै अघिदेखि व्यापार-व्यवसायमा आबद्ध छन्। अफ्रिकी सहरमा पनि नेपालीले लोभलाग्दो गरी व्यवसाय गरिरहेका रहेछन्। उपल्लो तहमा रहेका ती नेपालीको लगावले जोकसैलाई श्रद्धावनत बनाउने लामिछानेको बुझाइ छ।

लामिछानेले वीरगन्ज निवासी अयुब अलीलाई रुवान्डामा भेटेका छन्। अयुब रुवान्डाको सेवा क्षेत्रमा माथिल्लो पदमा पुग्ने पहिलो नेपाली हुन्। रुवान्डाको एउटा रेस्टुराँमा पाल्पाली युवा हेड कुक रहेछन्। मोजाम्बिकको प्रसिद्ध कम्पनी मेरेक इन्डस्ट्रिजको उच्च तहमा पुग्ने नेपाली वासुदेव घिमिरे हुन्। जीवनाथ पंगेनी युगान्डाको एटेम्बेस्थित एउटा होटल व्यवस्थापनको उच्च तहमा कार्यरत रहेछन्।

गैरआवासीय नेपाली संघ युगान्डाका अध्यक्ष बनेका स्याङ्जाका राजमणि भण्डारीको सङ्घर्ष र सफलताको कथा प्रेरणादायी छ। युगान्डाको प्रसिद्ध मेफेयर क्यासिनो व्यवस्थापनको उच्च पद सम्हालिरहेका दुई नेपाली श्यामकृष्ण मानन्धर र अशेषध्वज खड्का हुन्। सोही देशमा हाइवे निर्माणको नेतृत्व गरिरहेका वरिष्ठ इन्जिनियर कृतिबहादुर थापा र इन्जिनियर हेम श्रेष्ठको जाँगरको पनि बयान छ। लामिछाने आइसल्यान्डको रिक्याभेकमा नेपाली रेस्टुरेन्टमा पुगेका रहेछन्।

नेपालीसँग जोडिएका यस्ता रोचक प्रसङ्ग पुस्तकमा बग्रेल्ती छन्। पुस्तकमा रहेका २० वटा नियात्रालाई भिन्नाभिन्नै शीर्षकमा विश्लेषण गर्न सकिन्छ। यहाँ भने पुस्तकभित्रका ४० वटा रोचक प्रसङ्गलाई समावेश गरिएको छ। ती यस प्रकार छन् :

१. सन् १९९४ मा रुवान्डामा सय दिनभित्र १० लाख मानिस मारिएका थिए। नरसंहारको कारण हुतु र तुत्सी जातिबीचको विद्वेष थियो।

२. युद्धबाट गुज्रिएर विकास यात्रामा कस्सिएको रुवान्डाको संसद्‌मा ६७.५ प्रतिशतसम्म महिलाको प्रतिनिधित्व छ।

३. तान्जानियाको कुल भूमिमध्ये झन्डै ४० प्रतिशत राष्ट्रिय निकुञ्जले ढाकेको छ। त्यसैले जंगली जनावरको घनत्वको हिसाबले यो देश विश्वमा नम्बर १ मा पर्छ।

४. कालो काठ पनि भनिने संसारको सबैभन्दा बलियो र महँगोमध्येको एपपिंगो नामक काठ तान्जानियामा मात्र पाइन्छ।

५. मोजाम्बिकको राष्ट्रिय झन्डामा एके फोर्टी सेभेन राइफलको तस्बिर छ।

६. मानव तस्करहरूले नेपालीलगायत दक्षिण एसियाली मुलुकका नागरिकलाई युरोप-अमेरिका पठाउन विभिन्न जोखिमयुक्त यात्रा गराउँदा जाम्बिायाको रुट पनि प्रयोग गर्छन्। यो थाहा पाएपछि जाम्बियाले नेपाली राहदानीवाहकलाई अन अराइभल भिसा दिन बन्द गरेको छ।

७. १५ पत्नीका पति र ३३ सन्तानका पिता स्वाजिल्यान्डका राजा मस्वती विश्वका धनाढ्यको सूचीमा छन्।

८. चीनले अफ्रिकी मुलुकको यातायात, ऊर्जा, पर्यटन, खानी, प्रविधि, रियल स्टेट, व्यावसायिक कृषि क्षेत्रमा लगानी गरेर अफ्रिकालाई आफ्नो प्रभावमा पारेको छ।

९. युगान्डाका सनकी शासक इदी अमिनले सन् १९७२ मा एसियाली मूलका ८० हजार मानिसलाई देशनिकाला गरेका थिए।

१०. सन् १९७१ देखि १९७९ सम्म सत्तामा बसेका इदी अमिनले आफ्नो कार्यकालमा झन्डै पाँच लाख विरोधीलाई मार्न लगाएका थिए।

११. युगान्डाको भिक्टोरिया तालबाट उद्गम भएको नाइल नदीले ६ हजार ६ सय ५० किलोमिटर आफ्नो यात्रामा ११ देशलाई सिञ्चित गरेको छ।

१२. बितेका ७० वर्षमा बर्मुडा ट्रयांगलबाट १ सय २० भन्दा बढी हवाईजहाज एवम् पानीजहाजसहित कैयौँ पर्यटक बेपत्ता भएका छन्।

१३. ८७ वर्गकिलोमिटर क्षेत्रफल भएको सेन्ट मार्टिन टापुलाई दुई भागमा चिरा पारेर डच र फ्रेन्चले शासन गरिरहेका छन्।

१४. सर्बियनहरूले बेलग्रेडको अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘निकोला टेस्ला’ विमानस्थल राखे पनि विश्वप्रसिद्ध वैज्ञानिक निकोला टेस्लाको जन्मस्थान आफ्नै देशभित्र पर्छ भनेर क्रोएसियनहरू गर्व गर्छन्।

१५. जोसिप ब्रोज टिटोको नाम नेपालसहित असंलग्न आन्दोलनमा सहभागी मुलुकमा श्रद्धाका साथ लिइन्छ। तर उनलाई जन्मस्थल क्रोएसियामा भने परपीडक तानाशाह भनेर चिनिन्छ।

१६. आइसल्यान्ड भ्रमणमा गएका पर्यटकलाई त्यहाँका होटलले भ्रमण अवधिभर सिमकार्डसहितको मोबाइल सेट निःशुल्क उपलब्ध गराउँछन्।

१७. आइसल्यान्डमा जङ्गलविहीन राष्ट्रिय निकुञ्ज छ। त्यसको नाम थिङ भेलिर हो।

१८. आइसल्यान्डमा जुन महिनामा दुईतीन घण्टामात्र रात पर्छ भने डिसेम्बरमा दिनको उज्यालो साढे चार घण्टामात्र हुन्छ।

१९. विश्वको एकमात्र पुरुष जननेन्द्रियको अनौठो सङ्ग्रहालय आइसल्यान्डको रिक्याभिकमा छ।

२०. नोकिया मोबाइलको जन्मदाता मुलुक फिनल्यान्ड हो।

२१. फिनल्यान्डमा ७० प्रतिशत भूमि जंगलले घेरेको छ। यो देशमा सरकारले १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई न्यूनतम तलब दिन्छ।

२२. अमेरिकाको नेभादालाई क्यापिटल अफ इन्टरनेसनल इन्टरटेनमेन्ट अर्थात् अन्तर्राष्ट्रिय मनोरञ्जनको राजधानी भनेर चिनिन्छ।

२३. कोलोराडो नदीमा बनाइएको हुभर बाँध अमेरिकाको विशाल बाँध हो। उक्त बाँध बनाउँदा एक हजार किलोमिटर सडकका लागि चाहिने रोडाढुंगा प्रयोग गरिएको छ।

२४. साइप्रसमा उत्पादन हुने कमान्डेरिया ब्रान्डको वाइन संसारमै सबैभन्दा पुरानो वाइन मानिन्छ।

२५. श्रीलङ्काको क्यान्डी सहरनजिकै हात्ती अनाथालय छ।

२६. कोलम्बोस्थित हिन्द महासागरको तटमा रहेको ताज समुद्रा होटलमा नेपालका प्रसिद्ध उद्योगपति विनोद चौधरीको लगानी छ। यस्तै रुवान्डाको किगालीमा पनि चौधरी ग्रुपको लगानीमा पाँचतारे उबुम्बे ग्रान्ड होटल निर्माण भएको छ।

२७. विश्वको दोस्रो ठूलो जमिन भएको देश क्यानडा कम गुरुत्वाकर्षण भएको देश हो। यहाँ संसारमा उपलब्ध पिउने पानीको २० प्रतिशत छ।

२८. क्यान्सर उपचार अभियानमा टेरी फक्स फाउन्डेसनअन्तर्गत संसारका ६० देशका लाखौँ युवा बर्सेनि एक दिन दौडेर क्यान्सर उपचारका लागि रकम जम्मा गर्छन्।

२९. चीनको बेइजिङस्थित तिआननमेन चोकमा नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका हजारौँ चिनियाँमाथि सन् १९८९ मा त्यहाँको सरकारले ट्यांक र गोली चलाएर नरसंहार गरेको थियो।

३०. रुसमा लेनिन र चीन माओको शवलाई हँसिया हथौडा अङ्कित लालझन्डा ओडाएर राखिएको छ।

३१. चीनको सेन्जेन हङकङजस्तै परिकल्पना गरी निर्माण गरिएको सहर हो।

३२. जर्मनीको वाइमर सहरमा रहेको हिटलरकालीन बुखेनभाल्ड बन्दीगृहमा आठ वर्ष अवधिमा ५६ हजार बन्दी मारिएका थिए।

३३. रुसी विद्यार्थीले जीवनमा एकपटक भए पनि लियो टल्सटोयद्वारा लिखित ‘युद्ध र शान्ति’, ‘इभान इल्विचको मृत्यु’, ‘अन्ना करेनिना’ लगायत कृति पढ्नुपर्ने र यास्नाया पोल्यानाको भ्रमण गर्नैपर्छ।

३४. अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले जर्मनी भ्रमणका क्रममा सोभियत राष्ट्रपति मिखाइल गोर्बाचोभलाई गरेको सम्बोधनको एक अंश ‘मिस्टर गोर्बाचोभ टियर डाउन दिस वाल’ चर्चित छ। सोही पृष्ठभूमिमा लोकप्रिय बेलायती पपगायक बिल्ली ओसियनले गाएको ‘टियर डाउन दिस वाल’ त्यति बेलाकोे बेस्ट सेलर अडियो डिस्क थियो।

३५. सोभियत राष्ट्रपति मिखाइल गोर्बाचोभको सदासय र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको दबाबका कारण सन् १९९० अक्टोबर ३ मा पूर्वी जर्मनी र पश्चिमी जर्मनी एकीकरण घोषणा भएको थियो।

३६. रुसी गणराज्यभित्र पर्ने दागेस्तानका महाकवि रसुल गाम्जातोभको ‘जीवित देवी कुमारी’ कृतिमा नेपालको कुमारी पूजाको चलनलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।

३७. स्विट्जरल्यान्डको एउटा बियर उत्पादक कम्पनीले टिम्मुरको स्वादमा ‘वीरेन्द्र’ ब्रान्डको बियर उत्पादन गर्दा सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि बन्द गरिएको छ।

३८. निकोसिया सहरमा साइप्रस र टर्कीको आधाआधा हिस्सा छ।

३९. जर्मनीको फ्य्राङ्फर्टबाट तीन सय किमि टाढा पर्ने रेगेन्सबुर्ग सहरनजिक भिसेन्ट गाउँमा नेपाल चिनाउने हरेक सम्पदालाई सुरक्षित गरिएको छ।

४०. जर्मनीमा १ हजार ५ सयभन्दा बढी बियर उत्पादक कम्पनी छन्। प्रतिस्पर्धाका कारण कुनै ठाउँमा त पानीभन्दा बियर सस्तो छ।

****

यी ४० वटा रोचक तथ्यबारे थप जानकारी हासिल गर्नचाहिँ पुस्तक पढ्नैपर्छ। ‘देश देशावर’ का नियात्रा पाठकलाई लेखकसँगसँगै तत् तत् स्थानको यात्रा गरिरहेको अनुभूति प्रदान गर्न सफल छन्। त्यसैले लामिछानेका सबै नियात्रा गतिशील छन्। यिनका नियात्रामा पाइने अर्को विशेषता हो, स्थानीयता। लेखक आफू पुगेको ठाउँको प्राकृतिक, भौगोलिक, सामाजिक, भाषिक, सांस्कृतिक विशेषता र परिदृश्यलाई सरल भाषामा प्रस्तुत गर्छन्। त्यस्ता परिदृश्य तथ्यपरक छन्।

लामिछानेका नियात्रामा निजात्मकता पनि प्रशस्त पाइन्छ। वस्तुतथ्यमा आधारित भएर कुनै ठाउँको वर्णन गर्न खोजे पनि लेखकको निजात्मकता अगाडि आइहाल्छ। लेखकको आनीबानी, रुचि र स्वभावले नियात्रालाई थप जीवन्त बनाएका छन्। नियात्रा लालित्यपूर्ण बनाउन कल्पना तत्त्वको विशेष भूमिका देखिन्छ। पुस्तकको भाषा सरल छ। शैली विवरणात्मक छ।  त्यसैले त पुस्तकका हरेक नियात्राले पाठकको मन जित्न सफल छन्। पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो।

प्रकाशित: १६ असार २०८० १४:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =