
विजय दाइ निकै बिरामी पर्नुभएको सामाजिक सञ्जालबाट थाहा पाएकी थिएँ। अनि केही दिनअघि त्रिजल झालाई समेत लिएर हामी नइ विजय दाइलाई भेट्न आरूबारीस्थित विजय निवास पुगेका थियौँ।
सोफामा ढल्केर बसिरहनुभएका विजय दाइको शारीरिक स्थिति गतिलो थिएन। अझ हामी बस्ताबस्तै उहाँलाई शौचालय जानुपर्दाको उहाँको कष्टप्रद अवस्था हेर्दा मलाई निक्कै नरमाइलो लागेको थियो।
विजय दाइसँग म असाध्य सामीप्यता महसुस गर्थेँ। घट्टेकुलोबाट विजय दाइको घर नजिक पनि थिएन। त्यसैले चाहेरै पनि भौतिक रूपमा विजय दाइसँग हामी नजिक थिएनौँ।
श्री ५ को सरकारद्वारा २०६२ सालमा गोरखापत्रको १०५ वर्षको इतिहासमा गोरखापत्र संस्थानमा पहिलो महिला कार्यकारी अध्यक्षमा मलाई नियुक्ति गरिएको थियो।
हुन त गोरखापत्रमा मैले लामो कार्यकाल बिताउन त पाइनँ तर मेरै कार्यकालमा गोरखापत्रमा कार्यरत पत्रकारहरूमध्येका योग्य, अनुभवी र वरिष्ठ पत्रकार विजय चालिसेलाई नै मैले प्रधानसम्पादकमा नियुक्त गर्ने सौभाग्य पाएकी थिएँ। सञ्चारमन्त्री र सञ्चार सचिवका विपरीत भएर पनि मैले यो विशेष काम गरेकीमा मलाई सधैँ गौरवीबोध पनि भइरह्यो।
विजय दाइ प्रधानसम्पादक भएपछि केही समय उहाँसँग मैले काम गर्ने अवसर पाएकी थिएँ। त्यसैबेला मैले विजय दाइमा भएको अनुशासन, शिष्टता, मर्यादा, राष्ट्रभक्ति र पत्रकारिताका मूल्य र मान्यताका परिपालकजस्ता गुणले परिपूर्ण गौरवी व्यक्तित्वका रूपमा देख्न र अनुभव गर्न पाएकी थिएँ।
यति हुँदाहुँदै पनि मानिसमा देवत्व नै भए पनि केही न केही दोष विनाका मानिसले पृथ्वीमा बस्न पाउँदैनन् भनिन्छ। मैले सम्मान गर्ने गरेका विजय दाइमा पनि एउटा निर्गतिलो आदत भने नराम्रोसँग उहाँमा टाँस्सिएको देखेकी थिएँ। गोरखापत्र संस्थानका सबै कोठाचोटा हेर्ने क्रममा एक दिन विजय दाइका कोठामा पनि म पुगेकी थिएँ। ढोकाबाट भित्र छिर्नासाथ धुवाँको मुस्लोमा मलाई सास फेर्न पनि गाह्रो भएको थियो।
विजय दाइ कुर्सीमा बसेर आनन्दले चुरोट तानिरहनुभएको रहेछ। कोठामा दुईतीनजना अरू पनि सम्पादक थिए। मलाई देखेर तानिरहेको चुरोट टेबलमा भएको एसट्रेमै राखेर विजय दाइ मलाई सम्मान दिनका लागि उभिनुभएको थियो। अन्य सम्पादकहरू भने मलाई नदेखेजस्तो गरेर आफ्नै काममा मस्त रहेको अभिनयमा थिए। त्यसैले मैले त्यहाँ विजय दाइसँग केही कुरा गरिनँ। ‘विजय दाइ, हजुरलाई अनुकूल भएका बेलामा एकपटक मेरो कार्यकक्षमा आउनुस् है’ भनेर म बाहिरिएकी थिएँ। ‘हवस् म्याडम्’ विजय दाइले सधैँ झैँ शिष्टतापूर्वक जवाफ फर्काउनुभएको थियो।
त्यसै दिन कार्यालय समय सकिनुअघि नै विजय दाइ मेरा कोठामा आउनुभएको थियो। कोठामा भएका व्यक्तिसँग फेरि भेट्ने अनुरोध गरेर बिदा गरेपछि विजय दाइ र ममात्र कोठामा थियौँ। म अध्यक्षको खास कुर्सीबाट ओर्लेर अतिथि कुर्सीमा विजय दाइको नजिकै उहाँको सामुन्ने भएर बसेकी थिएँ। मैले के कुरा गरूँला भन्ने उत्सुक हँसिलो अनुहारमा विजय दाइ हुनुहुन्थ्यो।
‘दाजु, हजुरजस्तो विद्वान् र शीर्षस्थ पत्रकारले यसरी कोठामा अरूले पनि सास फेर्न नसक्ने गरी चुरोट खाएको त पटक्कै सुहाएन। यो अम्मलले हजुरलाई त खराब गर्छै-गर्छ, यसबाहेक हजुरका नजिक हुने सबैलाई झनै खराब गर्छ। दाजु अन्यथा नलिनु होला। एउटी बहिनीले दाजुप्रति माया र सम्मान गरेर मैले अनाधिकृत रूपले यसरी भन्दै छु।’ मैले आफ्ना कुरा राखेकी थिएँ। मेरा कुरा सुनेपछि मन्द मुस्कानमा रहेको विजय दाइको अनुहारमा बादल लागेको थियो।
‘हेर्नुहोस् म्याडम, यी कुराको जानकार त म पनि अवश्यै छु। यहाँको अनुरोधलाई स्वीकार गरेर अबदेखि म कार्यकक्षभित्र चुरोट खाने छैन। माफ गर्नु होला, चुरोटै
छोड्नसक्ने अवस्थामा भने म छैन।’ अनुहारमा दृढताको भाव साथमा राखेर विजय दाइले जवाफ दिनुभएको थियो। यस विषयमा फेरि हामीबीच कहिल्यै कुराकानी भएन। यत्तिचाहिँ हो, त्यस दिनदेखि विजय दाइले कार्यकक्षभित्र चुरोट तान्नुभएन तर कौसीमा उभिएर भने उहाँले चुरोट तानिरहेको मैले पटकपटक देख्ने गर्थेँ।
हुनत मानवीय जीवन त नश्वर नै हो, विविध कारकतत्त्वप्रति दोष देखाएर प्राणीलाई जगत्बाट अलप पार्ने विधि निर्मित नियमभित्र साँगुरिन प्राणी जगतै वाध्य छ। तबै पनि मेरो मनको एउटा कुनोमा बसेको एउटा विचार ‘त्यसरी विजय दाइ चुरोटको अम्मली नभइदिएको भए उहाँको जीवनको डोरी यसरी असमयमै चुँडिने थिएन होला’ भन्ने पनि लाग्छ।
तथाकथित मण्डले प्रवृत्तिका व्यक्तिहरूलगायत शरदचन्द्र शाहहरूले विजय दाइलाई प्रधानसम्पादक नियुक्ति गरेका कारण मलाई गोरखापत्रबाट लखेटेका थिए। तर हामी नइ कुनै पनि वादका पुजारी वा अनुयायी नभएर असल र योग्य व्यक्तिका अनुयायी भएका कारण मैले हिम्मत हारेकी पनि थिइनँ। त्यसैले विजय दाइ काण्ड लगाएर मलाई हटाउन चाहने मण्डलेहरू सफल हुँदा पनि मलाई खासै दुक्ख लागेको थिएन।
यत्तिचाहिँ हो, समस्याग्रस्त गोरखापत्र संस्थानमा आफूले प्रारम्भ गरिसकेका केही अत्यावश्यक सुधार गर्ने मेरा योजनामा म असफल भएकी थिएँ। यति हुँदाहुँदै पनि व्यक्तिगत रूपले चाहिँ मैले दु:ख मान्ने अवस्था थिएन, किनभने तत्कालीन अवस्थामा श्री ५ ज्ञानेन्द्रको कृपादृष्टि ममाथि भएका कारण गोरखापत्रमा मैले खाइपाई आएका कुनै सुविधा नघटाउने गरी श्री ५ को सरकारको सल्लाहकारमा म नियुक्ति भएकी थिएँ। मौसुफको यस कार्यमा साथ दिने श्री ५ का प्रमुखसचिव पशुपतिभक्त महर्जन, आदरणीय दिदी राज्यमन्त्री डा.दुर्गा पोखरेल र मुख्यसचिव आदरणीय दाजु लोकमानसिंह कार्कीको पनि मैले गुन मान्नैपर्ने हुन्छ।
श्री ५ को अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकमा मलाई ‘यी महिला राजावादी होइनन्। यी त, गोरखापत्र ‘लाई बल्खु दरबारमा बुझाउने बहुदलवादी रहिछिन्’ भन्ने मन्त्रीद्वय टंक ढकाल र श्रीशशमशेर राणाबाट मलाई आरोप लगाइएको थियो भने पत्रकार जगतमा बहुदलवादीहरूले विजय दाइलाई पनि ‘मण्डलेको पक्षपोषकको’ दोषारोपण गर्न बाँकी राखेका थिएनन्।
यसरी विजय दाइ र म कुनै वादप्रतिभन्दा आआफ्नो लक्ष्य र योजनामा कटिबद्ध हुँदाहुँदै पनि कुण्ठित, कलुषित र संकीर्ण मनस्थिति भएका तत्त्वहरूका कारण आरोपित भएका थियौँ।
विजय दाइले आफ्नो आत्मकथा ‘जीवनका वक्ररेखा’मा पनि संक्षिप्त रूपमा यी कुराहरूको चर्चा गर्नुभएको छ।
पछिल्लो र अन्तिम हुन गएको विजय दाइसँगको हाम्रो भेटघाटमा पनि ‘यहाँले मलाई लाउनुभएको गुन मैले कहिल्यै बिर्सेको छैन, मैले मेरो आत्मकथामा पनि लेखेको छु’ विजय दाइले डा. देवीप्रसाद सुवेदी, सोमनाथ घिमिरे र नरेन्द्रराज प्रसाईका सामु भन्नुभएको थियो।
‘मैले पढेकी छु, दाजु! हजुरले पनि मलाई धेरै गुन गर्नुभएको छ।’ त्यति बेला मैले यति नै भनेकी थिएँ र अरू कुरा केही भन्न सकेकी थिइनँ।
कठोर संघर्ष गर्न सक्ने, अब्बल लेखकीय व्यक्तित्व भएका जीवनमा हार्न नजान्ने विजय दाइको व्यक्तित्वलाई विशाल रूखलाई धमिराले खोक्रो पारे झैँ, असाध्य रोगले खोक्रो पारेको उहाँको अवस्था देख्ता म स्तब्धजस्तै भएकी थिएँ।
विजय दाजुसँग मेरो अर्को सम्बन्ध प्राध्यापकीय पनि थियो। उहाँ र म पशुपति बहुमुखी कलेजमा सँगसँगै प्राध्यापन गर्थ्यौँ। २०६३ सालको समय गणतन्त्रमय थियो र गणतन्त्रवादीहरूको उछृङ्खल व्यवहारले राजनीति नै दुर्गन्धित हुन प्रारम्भ भएको थियो। त्यसै क्रममा तिनै उछृङ्खल राजनीतिका भातृ संगठनले मेरो राजावादी छविका कारण अनावश्यक अत्तो थापेर मलाई उक्त कलेजबाट निष्कासन गर्ने भएका थिए। यो कुरा थाहा पाएपछि विजय दाइले ती उछृङ्खल तत्वहरूलाई थुम्थुम्याउँदै मसँग भेटाएर मेरो तत्कालीन जागिर जोगाएर बिर्सिनसक्नुको गुन मलाई लाउनुभएको थियो।
•
त्यस दिनको भेटपछि फेरि पनि अनुकूल मिलाएर विजय दाइसँग भेट्न आउने हाम्रो सल्लाह समयले लत्याइदिएको थाहा पाउँदा म फेरि पनि स्तब्ध भएकी छु।
वरिष्ठ पत्रकार, स्रष्टा र साहित्यिक अभियन्तासमेतको भूमिकामा अब्बल ठहरिनुभएका विजय चालिसे दाइले आफ्ना पिता सुप्रसिद्ध साहित्यकार रमेश विकललाई थप अमरत्व गराउन खेल्नुभएको भूमिकासमेत महत्त्वपूर्ण र स्तुत्य मात्र नभएर उदाहरणीय छ।
हरेक स्रष्टाका सन्तानले आफ्ना मातापिताप्रति विजयपथ अवलम्बन गर्न सके नेपाली भाषासाहित्यको थप विकास हुनेथ्यो भन्ने मलाई लाग्दछ।
नइ ईश्वरवल्लभ पुरस्कारद्वारा २०७० सालमा पुरस्कृत विजय चालिसे दाइप्रति मेरा सहयात्री नरेन्द्रराज प्रसाईका तर्फबाट समेत हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु। साथै विजय दाजुका शोकमा रहेका छोराछोरीहरू र सपरिवारप्रति हार्दिक समवेदना समर्पण गर्दछु।
(मेरो प्रकाशोन्मुख आत्मकथा ‘आकाश खसेको छैन’ बाट समेत सारसंक्षेप)