विकलका पदचिह्न पछ्याउँदै पछिल्लो पुस्ता

रमेशप्रसाद खनाल ७ माघ २०७९ १९:०३
562
SHARES
विकलका पदचिह्न पछ्याउँदै पछिल्लो पुस्ता

बुझ्ने भएदेखि आमाबाको मुखबाट सुनिरहने नाम थियो, रमेश विकल। उहाँको वास्तविक नाम रामेश्वर चालिसे थियो। तर उहाँ रमेश विकलका नामले प्रख्यात हुनुहुन्थ्यो।

विकल नेपाली साहित्यका बलियो खम्बा हुन्। जसको उल्लेख नगरी नेपाली साहित्यलेखनको इतिहास पूर्ण हुन सक्दैन। कथा, उपन्यासलगायत साहित्यका विभिन्न विधा पोख्त उहाँ नेपाली साहित्यमा विशिष्ट पहिचान छोड्ने सफल सर्जक हुनुहुन्छ।

विकल यस लोकबाट अन्तिम प्रस्थान गरेको १४ वर्ष पुगिसकेछ। तर हिजोजस्तो लाग्छ, उहाँसँग बिताएका पल अनि साहित्यिक संवाद, परिसंवाद र गोष्ठी सम्झिँदा।

काठमाडौँको पूर्वी भेग अर्थात् चाबहिल, बौद्ध, जोरपाटी, गोकर्ण, कपन, आरुबारी, मूलपानी आदि। त्यस भेगलाई साहित्य र कलाको निमित्त जागरुक राख्ने केही प्रख्यात नाम छन्, मनुजबाबु मिश्र, भैरव अर्याल, वासु शशि, उत्तम कुँवर, कुमारबहादुर जोशी, कञ्चन पुडासैनी, घटराज भट्टराई, पूर्णप्रकाश नेपाल यात्री। यी नाम सँगसँगै रमेश विकलको नाम अग्रपंक्तिमा आउँछ।

योपछिको पुस्तामा नारायण ढकाल, गोविन्द वर्तमान, शार्दूल भट्टराई, गणेश योञ्जन, देविका तिमिल्सिना आदि नाम छन्। यस क्षेत्रमा पछि बसोबास गर्न आए, डा. ध्रुवचन्द्र गौतम अनि खगेन्द्र संग्रौला। उहाँहरूको उपस्थितिले पूर्वी क्षेत्रलाई थप साहित्यिक मलजल पुग्न गयो।

साहित्य लेखन पुस्ता दर पुस्ता अगाडि बढिरहने क्रम विश्वमै विरलै देखिएको छ। तर रमेश विकलले भने आफ्नो भेग र क्षेत्रमा मात्र होइन आफ्नै पछिल्ला सन्तानमा पनि यो प्रतिभाको बीजारोपण गरेर जानुभएको छ।

रामेश्वर चालिसे, रमेश विकल उपनामबाट लेखनमा स्थापित भए पनि उहाँको पछिल्ला पुस्ताले भने आफ्नो वास्तविक नामबाट नै लेखनयात्रा कायम गरेको देखिन्छ। कुनै उपनाम राखेको देखिँदैन। विकलका ज्येष्ठ सुपुत्र विजय चालिसे नेपाली पत्रकारिता र साहित्य लेखनमा स्थापित नाम हो। कान्छा सुपुत्र महेन्द्र चालिसे पनि अनवरत रूपमा लेखन र विभिन्न कृति प्रकाशनमा आबद्ध छन्।
विकलका सुपुत्रमात्र होइन तेस्रो र चौथो पुस्ता पनि विकलकै पदचिह्न पछ्याउँदै साहित्य लेखन खासगरी कथा लेखनमा अगाडि बढेको छ।

प्रतीकस्वरूप हालै प्रकाशित भएको छ एक नौलो कृति, ‘चार पुस्ताका कथा’। एकाघरका बराजुदेखि पनातिनीद्वारा लिखित कथा संग्रह हो यो। साहित्य, कला, संगीतका संगम रमेश विकलले गोकर्णेश्वर नगरपालिका, आरुबारीस्थित आफ्नो पुख्र्यौली थलो आफ्नो निधनपश्चात् पनि सो स्थलबाट नेपाली साहित्य, कला, संगीतको श्रीवृद्धिमा योगदान पुगोस् भनेर जग्गा र घर प्रदान गरेका थिए। सोही ठाउँमा बनेको सुन्दर भवनमा छ, रमेश विकल साहित्य प्रतिष्ठान। विकलको १४ औँ स्मृति दिवसका अवसरमा सो पुस्तक लोकार्पण भएको हो। पुस्तकले विकलको कथा यात्रालाई उहाँका सन्तान दर सन्तानले विरासतका रूपमा अगाडि बढाइरहेका छन् भन्दा फरक पर्दैन।

कुन मानकका आधारमा स्रष्टाका कथा छनोट गरिएका हुन् भन्ने विषय खासै खुल्न नआए पनि किताबमा चार पुस्ताका पाँचपाँच वटा लामा-छोटा कथा समावेश छन्।

प्रथम पुस्ता (हजुरबा पुस्ता)का रमेश विकलको पहिलो प्रकाशित कथा ‘गरीब’, मदन पुरस्कार प्राप्त कथा संग्रहको मूल कथा ‘नयाँ सडकको गीत’, ‘एउटा बूढो भ्वाइलेन : आशावरीको धुनमा’, ‘उर्मिला भाउजू’ र उहाँद्वारा लिखित र मरणोपरान्त प्रकाशित ‘विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी शासक’।

दोस्रो पुस्ता (छोरा पुस्ता)मा जेठो छोरा विजय चालिसेका पाँच कथा ‘कुहिरोमा रुमल्लिएको जिन्दगी’, ‘जन्मदिन’, ‘चेतनाको बीज’, ‘प्रयोग/प्रत्यारोपण’ र ‘ऊ माधवी’ रहेका छन्।

विकलका कान्छा छोरा महेन्द्र चालिसेका ‘आस्था र विश्वास’, ‘विभेद’, ‘अमूर्तताको अस्तित्व’, ‘हजुरआमालाई नातिनीको इमेल’, ‘लोभको फल’ गरी पाँच कथा संगृहीत छन्।

पछिल्लो समय पत्रिकाबाजी, मिडियाबाजी, प्रचारप्रसारको जमानामा गुरुगम्भीर लेखन होइन, टीभीको जस्तै रेटिङ ल्याउने लेखन चर्चामा हुन्छ,। किनकि त्यस्तो लेखन बिक्छ। अनि जे बिक्छ व्यापारीले त्यही बेच्छ। नबिक्ने साहित्य कुनामा त्यसै थन्किरहन्छ। भलै त्यो साहित्यको मानकमा उच्च श्रेणीको नै किन नहोस्।

अहिले आआफ्नो सिन्डिकेटले साहित्य महोत्सवको नाम दिएर स्वदेशी/विदेशी आर्थिक दाताको सहयोगमा देशका विभिन्न सहरमा आयोजना गरेको देखिन्छ, सुनिन्छ। यसबाट नेपाली भाषा साहित्यको उन्नतिमा के कति सघाउ पुगेको होला?

अहिले आआफ्नो सिन्डिकेटले साहित्य महोत्सवको नाम दिएर स्वदेशी/विदेशी आर्थिक दाताको सहयोगमा देशका विभिन्न सहरमा आयोजना गरेको देखिन्छ, सुनिन्छ। यसबाट नेपाली भाषा साहित्यको उन्नतिमा के कति सघाउ पुगेको होला? वा नेपाली साहित्य संस्कृतिको उत्थान गर्ने उद्देश्य हो या मानिसको रोदन, पीडा, संवेदना खरिदबिक्री गरेर धनी हुने लेखन र टीभीको रियालिटी सोमा अब फरक हुन छाडेको छ। कस्तो लेखन गर्दा बिक्छ, आफू पनि धनी हुने हो, व्यापारी पनि धनी हुने हो।

त्यही ध्याउन्न गरेर लेखिएको साहित्य सिर्जना अचेलको मान्यता छ। यस्तो व्यापारी युगमा विशुद्ध साहित्य संकलन प्रकाशन गर्नु एक बेजोड साहस हो। त्यो साहस गरेको छ, रमेश विकल साहित्य प्रतिष्ठानले। आख्यान पुरुष विकलको १४ औँ स्मृति दिवसका अवसरमा।

रमेश विकल, विजय चालिसे र महेन्द्र चालिसेका सिर्जनशील लेखनबारे पहिले नै उहाँहरूको व्यक्तित्व र कृतित्वबारे धेरैले लेखिसकेका छन्। यसर्थ यसपटक यहाँ नाति र पनातिनी पुस्ताका यस संग्रहमा समाविष्ट रचनाको संक्षेपमा चर्चा गरिएको छ।

नाति आलोक चालिसे र पनातिनी आयुषा चालिसेका यस संग्रहमा समाविष्ट कथाको मूलधार भने ‘विकलधार’ (मेरो शब्द) अर्थात् यथार्थवादी धार नै बोकेका देखिन्छन। आफू बाँचेको धरातलको चित्रण गरिएका आलोकका कथा दुई दशकभन्दा बढी जापान प्रवासमा रहँदा देखेका/भोगेका विषयवस्तुलाई छोटा कथामा बुनिएका छन्। केही कथा नेपालको परिवेश, नेपालको १० बर्से सशस्त्र द्वन्द्व र युवाले भोग्नुपरेका व्यथा सुन्दर ढंगमा अभिव्यक्त भएका छन्।

पनातिनी आयुषाका कथा उनको उमेर (केवल १३ वर्ष) अनुसार धेरै काल्पनिक र तिलस्मीजस्ता देखिए पनि कथाका आधारभूमिमा भने गरिब, दु :खी, निमुखा र पिछडिएका वर्गप्रतिको उनको सहानुभूतिपूर्ण दृष्टिकोण पाइन्छ। उनीहरूले विकलका कथा र रचनागर्भसँग तादात्म्य राखेको पाइन्छ।

२०३१ सालमा जन्मिएका आलोक चालिसे अध्ययन र कामको सिलसिलामा करिब दुई दशक जापानमा बसे। आफ्नो माताको देहान्तपछि नेपालमा बस्ने गरी फर्किएका हुन्। सूचना प्रविधिको क्षेत्रमा कार्यरत आलोकले जापानमा रहँदा होस् वा नेपाल आइसकेपछि पनि साहित्यिक गतिविधिमा आफूलाई सक्रिय राखेका छन्। यस संग्रहमा समावेश कथाले उनको लेखनको राम्रो झल्को दिएका छन्। विकलका तेस्रो पुस्ता (नाति पुस्ता) मा विजय चालिसेका सुपुत्र आलोक चालिसेका पाँच कथामा ‘ओबोन नो ही’ अर्थात् सोह्र श्राद्ध’, ‘ध्रुवे : मेरो मनको ध्रुवतारा’, ‘यमराज बन्नबाट जोगिएको मान्छे’, ‘लोभको भकारी’, ‘‘पाचिन्को घर’ समावेश छन्।

पहिलो कथा ‘ओबोन नो ही- सोह्र श्राद्ध’ उनको पूर्व कर्मभूमि जापानको कथा वस्तुबाट सुरु हुन्छ। मानवीय संवेदनाका विभिन्न पाटो उधिन्ने यो कथाको कथानक कौतूकमय र अन्तिमसम्म पाठक तान्न सफल छ। जापानी संस्कृति ‘ओबोन नो ही- पितृहरू सम्झने दिन’ले मानवीय संवेगको उतारचढावलाई राम्रोसँग उतारेको छ।

एक साधारण जापानीको संघर्ष, उसको पारिवारिक विक्षिप्तता र मृत्यवरणपश्चात् पाएको देखावटी आत्मीयतालाई सटीक ढंगले पस्केका छन्। कथा रचना भएको मिति वा साल उल्लेख छैन। यो पहिलोपटक प्रकाशन भएको जस्तो देखिन्छ यसै संग्रहमार्फत।

उनको दोस्रो कथा छ, ‘ध्रुवे : मेरो मनको ध्रुव तारा’। सबैभन्दा राम्रो लागेको कथा हो यो। किनकि त्यसमा हाम्रो समाजमा भएका घटनाको यथार्थ चित्रण गरिएको छ। देशमा परिवर्तन ल्याउने भन्दै १० वर्ष नेपालको सशस्त्र युद्धमा होमिएका असंख्य नेपाली युवाको स्वप्न स्खलन भएको वास्तविकतालाई मन छुने गरी कथावस्तु बनाइएको छ। यस कथामार्फत द्वन्द हैन ‘चेतना जगमगाएर मात्र’ देश बदलिने विश्वास गर्छन् लेखक।

पनातिनी आयुषाका कथा उनको उमेर (केवल १३ वर्ष) अनुसार धेरै काल्पनिक र तिलस्मीजस्ता देखिए पनि कथाका आधारभूमिमा भने गरिब, दु :खी, निमुखा र पिछडिएका वर्गप्रतिको उनको सहानुभूतिपूर्ण दृष्टिकोण पाइन्छ। उनीहरूले विकलका कथा र रचनागर्भसँग तादात्म्य राखेको पाइन्छ।

‘यमराज बन्नबाट जोगिएको मान्छे’ नामक तेस्रो कथाले विज्ञान र प्रविधि उच्चतम बिन्दुमा पुगेको जापान र अब आउने पुस्ताको कथा भनेको छ। आज मानिस वास्तविक दुनियाँबाट भर्चुअल संसारमा हराउन रमाउन थालेको छ। कल्पनाको संसारमा हराउँदा हराउँदै मानिस दानवमा परिणत हुन सक्ने सजीव चित्रण कथाले गरेको छ। अत्याधुनिक विज्ञान र प्रविधिको चमत्कारसँगै सिर्जना भएको भर्चुअल संसारले मानिस यथार्थमा होइन विभ्रममा बाँच्न थालेको अनुभूत गराउँछ।

सजिलै हराउन सकिने भर्चुअल संसारमा आज दुनियाँ चुर्लुम्म डुबेको छ। सञ्चारको विकासले संसारको कुनै कुनामा पनि एकापसमा सम्पर्क कायम राख्न सहज भएको छ। तर योसँगै आएका नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नसक्दा विज्ञानले मानिसलाई यन्त्रमा परिणत गर्दै लगेको छ। मानिस कसरी पशुतुल्य हुँदै गएको छ भन्ने यथार्थ कथाका पात्र ओकामुराजीले आफ्नो परिवार, परिवेशबाट भर्चुअल संसारमा हराउँदै गर्दै झन्डै आफू यमराज बन्नबाट जोगिएको खुसीलाई चित्रण गरिएको छ। यो कथा २०१९ मा लेखिएको रहेछ। ‘बागीश्वरी’ नामक पत्रिकामा प्रकाशित पनि भएको रहेछ।

‘लोभको भकारी’ कथामा सम्पत्ति, सुखसयलसँगै मानिसमा थपिने लालच र कहिल्यै नसकिने लालसाको कथा बुनिएको छ। सम्पत्तिले सम्पन्न भएर पनि मानसिक असन्तोषले गरिब बनाइरहेको यथार्थ मानिस बुझ्दैन। लोभको भासमा क्रमश : भासिँदै जान्छ भन्ने पाठ यो कथाले दिएको छ।

त्यस्तै, आफ्नो पौरखले कमाएको सुखलाई सम्पत्ति र धनसँग दाँजेर होइन सुख र मानसिक शान्तिसँग दाँज्नुपर्ने रहेछ भन्ने बोध गराउन सफल भए पनि कथानक र कथाको बनोट भने सामान्य रहेको छ।

२०२० जनवरीमा लेखिएको ‘पाचिन्को’ घर’ एउटा उज्ज्वल भविष्य सम्भावना बोकेको एक युवाको कथा हो। जापानमा पाचिन्को एक प्रकारको जुवाघर हो। जहाँ युवा धनी बन्ने लालसामा आकर्षित हुन्छन्। आज हुन्छ कि, भोलि हुन्छ कि भन्यो। यसरी आफूलाई जुवाको लतमा चुर्लुम्म डुबाउँछन्। यस्तै जुवाको कुलतमा लागेको एक युवाको सर्वस्व त जान्छ नै ज्यानसमेत जाने यथार्थको विवरण हो यो कथा। जापानी समाज, पारिवारिक सम्बन्ध र परिवेश, यान्त्रीकरणले उब्जाएका विसंगति र विकृति नै कथामा उनिएका छन्।

विकलका पुस्तामा तेस्रो पुस्तासम्म पुरुष लेखक/कथाकार सक्रिय रहेको देखिन्छ भने चौथो पुस्तामा उनकी पनातिनी आयुषा चालिसे एक नारी कथाकारका रूपमा आएकी छन्।

खुसीको कुरा हो कि विकलको वंशमा एक नारी लेखकको जन्म भएको छ। पनातिनी पुस्ताकी आयुषा चालिसेले पुरुष वर्चस्व रहेको विकल सन्तान लेखन कर्ममा भएको यो हस्तक्षेप सराहनीय त छँदै छ, अंग्रेजीमा लेख्न सुरु गरे पनि नेपालीमा क्रमश : लेख्न सुरु गरिएको भनिएकाले आयुषाबाट थप उत्कृष्ट रचनाको आशा गर्न सकिने ठाउँ छ।

यस संग्रहमा आयुषाका पाँच कथामा ‘सिकर्मीको कथा’, ‘दुर्व्यसनी’ ‘उन्नति’, ‘अन्धविश्वास नै हो त?’ र ‘चोरिएका कलाकृति’ समावेश छन्।

२०६६ सालमा जन्मिएकी विकलकी पनातिनी आयुषाका संग्रहमा समावेश पाँच कथा पनि ‘विकलधार’बाट बाहिर छैनन्। गरिब दु :खी, असहाय र सीमान्तकृत मानिसको कथा दु :खसुख नै कथाका कथावस्तु छन्। कथानक भने १३ वर्षीया बालिका भए पनि कथा भन्ने कला भने एक वयस्कभन्दा कम छैन भन्ने आभास दिन्छन् उनका रचना।

जन्म र बाल्यकाल विदेशमा बितेको लेखिका अहिले अंग्रेजीमा लेख्ने भए पनि नेपालीमा आफ्ना आमाबा र स्वयंले नेपालीमा अनुवाद गरेको देखिँदा आगामी दिनमा उनीबाट नेपाली भाषामा नै रचना सिर्जना हुने छन् भन्ने विश्वास गर्न सकिन्छ। अंग्रेजीमा लेखेर पनि नेपाली लेखन र रचनालाई चर्चित र सर्वव्यापी बनाउन सकिने तर्फ पनि कुनै शंका रहँदैन।

संग्रहमा रहेको उनको पहिलो कथा ‘सिकर्मीको कथा’ले जीवनको कुनै पनि उतारचढावसँग हरेस नखान र निरन्तर संघर्षरत रहेमा जीवनमा सफलता मिल्ने पाठ पढाउँछ। जीवनका जटिलतासँग जुध्न सहयोगी हात कुनै पनि बेला आउन सक्छ भन्ने सकारात्मक सन्देश पनि दिन्छ कथाले। राम्रो कर्म गर्नेले फल पनि राम्रो नै पाउँछ भन्ने कुरा असहाय बनेको परिवारलाई दु :ख पर्दा सघाउने पत्रकारले पछि उनै परिवारबाट पाएको आत्मीय सहयोगले उनको जीवनले नयाँ मोड लिन्छ।

आयुषाको दोस्रो कथा ‘दुव्यर्सनी’ले साथी-संगतिको प्रभावले कसरी एक होनहार युवाको पतन हुन्छ भन्ने देखाएको छ। तेस्रो कथा ‘उन्नति’ले समाजमा अनाथ बालबालिकाले भोग्नुपरिरहेको अन्याय र शोषणको वर्णन गरेको छ। तर समाजमा सबै मानिस खराब हुँदैनन्। समाजमा राम्रा र असल मानिस पनि छन् र उनीहरूको प्रयासले नै यो समाज अगाडि बढिरहेको सन्देश दिन्छ।

‘अन्धविश्वास नै हो त?’ नामक कथा कथ्यको दृष्टिबाट उत्कृष्ट छ। नेपाली समाजमा विद्यमान अन्धविश्वासलाई उजागार गर्ने दृष्टिकोणबाट कथा बुनिएको छ। जसमा पाठक अन्त्यसम्म तानिन जान्छ। वास्तविकता र अन्धविश्वासबीचको झिनो अन्तरको बीचमा कथा बुनिएकोले पाठकलाई नै के हो भनेर छुट्याउन आग्रह गर्दै कथा सकिएको छ।

प्रकाशकीयमा रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले भन्नु भए जस्तै- ‘हजुरबुबादेखि पनातिनीसम्मका चार पुस्ताका कथा समेटिएको यस्तो पुस्तक सम्भवत : नेपाली साहित्यमा पहिलो प्रकाशन हुनुपर्दछ।’

‘चोरिएको कलाकृति’ पढ्दा कुनै स्वैर कल्पनामा बुनिएको कथामा हराएको भान पर्छ। लोभले मानिसलाई कसरी पतन गराउँछ भन्ने उदाहरण दिएको छ, यस कथाले। इजिप्टको पिरामिड वरिपरि बुनिएको यो कथा मूर्तिले च्यापिएर मरण हुन पुगेको पात्र आँखा नै आउने सदृश्य गराउन सफल छ।

एकै परिवारका चार पुस्ताले कथा लेखन कर्मलाई निरन्तरता दिएको विरलै पाइन्छ। साहित्य रचनाबाट जीविका चल्न नसक्ने, साहित्यिक रचना नबिक्ने र बिके पनि विभिन्न समूह, सिन्डिकेट र राजनीतिक दलीय आवरणले कसैलाई उचाल्ने र कसैलाई पछार्ने काम हुने देशमा बाबु, छोरा, नाति र पनातिनीसमेत गरी चार पुस्ताले यो जटिल कर्ममा आफूलाई हेलेका छन्। त्यो देख्दा साहसिलो काम गरिरहनुभएको महसुस हुनछ।

प्रकाशकीयमा रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले भन्नु भए जस्तै- ‘हजुरबुबादेखि पनातिनीसम्मका चार पुस्ताका कथा समेटिएको यस्तो पुस्तक सम्भवत : नेपाली साहित्यमा पहिलो प्रकाशन हुनुपर्दछ।’

कथाकारहरू रमेश विकल, विजय चालिसे तथा महेन्द्र चालिसे त नेपाली साहित्य लेखनमा स्थापित नाम नै हुन्। उनीहरूका कृतिबारे नेपाली साहित्य र भाषाको सामान्य पाठक पनि अनभिज्ञ नहोला। तर आलोक चालिसे र आयुषा चालिसेको विषयमा उनीहरूको पूर्व प्रकाशित कृतिबारे थप जानकारी पाठकले पाएको भए अझ राम्रो हुन्थ्यो भन्ने लागिरहन्छ कृति पढिरहँदा।

रमेश विकलका नाति आलोक चालिसेले यो पुस्तकको सम्पादन गर्नुभएकाले आफ्नो हजुरबाको मात्र होइन, आफ्नै बा, काका, छोरी र आफ्नै कथाको सम्पादनसमेत गर्ने कठिन कार्य गर्नु सायद नेपाली साहित्य लेखनमा अर्को मानक मान्नुपर्छ।

नातिले हजुरबाको कृतिको सम्पादन गर्न पाउनु आफँैमा गौरवपूर्ण क्षण त हो नै। साथै पूर्व पुस्ता र आगामी पुस्तालाई जोड्ने जुन सेतुको काम गर्नुभएको छ। त्यो स्तुत्य मान्नुपर्छ। किनकि सामान्य कहीँ कतै आकार ईकारबाहेक सम्पादन कार्य उत्कृष्ट देखिन्छ।

अन्त्यमा यो पुस्तकको अर्को आकर्षण भनेको त्यसको आवरण कला हो। यो आवरण कला पनि रमेश विकलको पनातिनी इशिता चालिसेले बनाउनुभएको रहेछ। जसले गर्दा आवरणमा रमेश विकलदेखि इशिता चालिसेसम्मको छ मुखाकृति पनि देख्न सकिन्छ।

[कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक जर्मनीका लागि नेपालका पूर्वराजदूत र शिष्टाचार महापाल हुन्।]


प्रतिक्रिया

2 thoughts on “विकलका पदचिह्न पछ्याउँदै पछिल्लो पुस्ता

  1. मान्यावर रमेश प्रसाद खनालज्यू प्रति हार्दिक आभार।।
    कूटनीतिक सेवा, जर्मनीका लागि नेपालका पूर्वराजदूत र शिष्टाचार महापाल जस्ता पेशागत अन्तर्राष्ट्रिय अनुभवले नेपाली साहित्य लेखन तथा सम्बर्धनमा थप योगदान हुने नै छ। सक्रियताका साथ लागिरहनु हुनेछ भन्ने कामना गर्दछु।

  2. खुसी लागेको छ आफ्नो मामा र परिवारको बारेमा पढ्न र सुन्न पाउँदा। तर संगसंगै दुःख लाग्छ आज ऐक्काइसौं शताब्दीको अन्त्यतिर आइसक्दा पनि वंश केवल नाम पछाडि को थरमा केन्द्रित गरेको देख्दा। रमेश विकलको तेस्रो पुस्तामा के छोरा वाहेक छोरी एवं छोरी की छोरी पनि त्यतिनै प्रशंसनीय छैन र?

    सायद हाम्रो सोच, हाम्रो कलम र लेखाइमा पनि उदारता चाहिन्छ कि?🙏🙏 Mahendra Chalise दाइ , Tara Chalise दि🙏 डा. पद्मा अर्याल दि🙏

    अन्यथा नसोच्नु होला। मलाई गर्व छ छोरी भएकोमा र चाहान्छु यस्तो विद्वत् वर्गका छोरीहरुले केवल थरकाै कारणले बावुको अंश नै नभएको जस्तो पर्ने नजाओस्।

    किताब त पढ्न पाएको छैन तर रमेशदाइको लेख पढेपछि खट्केको कुरा पोखेको हुँ।

    “विकलका पुस्तामा तेस्रो पुस्तासम्म पुरुष लेखक/कथाकार सक्रिय रहेको देखिन्छ भने चौथो पुस्तामा उनकी पनातिनी आयुषा चालिसे एक नारी कथाकारका रूपमा आएकी छन्।

    खुसीको कुरा हो कि विकलको वंशमा एक नारी लेखकको जन्म भएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =