
लुम्बिनी– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको गणतन्त्रबाट कुनै पनि क्षेत्र सन्तुष्ट नभएकाले अब यसको विकल्प समाजवादमात्रै हुनसक्ने बताएका छन्।
उनले माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य गरी अर्को नयाँ युग शुरु गरेको भए पनि यो गणतन्त्रले जनतालाई सन्तुष्ट नबनाएको बताए।
जनपत्रकार संगठन नेपालले बिहीबार बुटवलमा गरेको गणतन्त्र, जनपक्षीय पत्रकारिता र कृष्णसेन इच्छुकको भूमिका विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै महासचिव विप्लवले अब यसका लागि समाजवादमा जानुपर्ने बताए।
उनले नेपाली कांग्रेसले भनेको प्रजातान्त्रिक समाजवाद र कम्यूनिष्टहरुले भनेको वैज्ञानिक समाजवादका विषयमा खुला बहस गरी नयाँ विकल्पमा जानुपर्ने बताए।
‘गणतन्त्रका संरचनालाई ठीक ढंगले चलाउन नसक्दा राजतन्त्र ठीक हो कि भन्नेमा जनता भ्रममा छन्’ उनले भने, ‘यही कारणले अब नेपाली विशेषताको अर्थप्रणाली अपनाएर समाजवादमा जानुको विकल्प छैन।’
गणतन्त्रप्रति असन्तुष्टी बढ्दै जाँदा राजसंस्था पक्षधरहरु सडक आन्दोलनमा आउँदा आमसर्वसाधारण नागरिकमा अहिलेको गणतन्त्रको विकल्प त्यही हो कि भन्ने परेको विप्लवले औँल्याए।
गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने प्रष्ट पार्दै विप्लवले अहिलेको असन्तुष्टीको समाधान नेपाली विशेषताको समाजवाद हुने बताए।
‘कसैले राजसंस्था पुनः स्थापना भनेका छन्, कसैले यही गणतन्त्रमा संविधान संशोधन गरेर ठीक हुन्छ भनेका छन् यी दुवैबाट जनताको असन्तुष्टी सम्बोधन हुँदैन, समाधान पनि दिँदैन,’ विप्लवले भने, ‘अब नेपालमा कस्तो समाजवाद आवश्यक हो भन्नेमा खुला बहस हुनुपर्छ।’
नेपालमा चिनियाँ र रूसी जस्तो समाजवाद नेपालमा मेल नखाने भन्दै कम्युनिस्ट सिद्धान्त, विचार र दर्शनमा पुनर्विचार जरुरी रहेको समेत विप्लवले औँल्याए।
महासचिव विप्लवले पुरानो व्यवस्थाका चरित्रका अवशेष दल र नेताहरुमा बाँकी नै रहेकाले हरेक पेशा व्यवसायमा असन्तुष्टी रहेको बताए। उनले पोखरा विमानस्थलको उदाहरण दिँदै अर्बौँ भ्रष्टाचारका काण्डहरुमा तीन ठूला दलका शीर्ष नेताहरुले चोचोमोचो मिलाएको आरोप लगाए।
‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन नेपालको नारा हुनुपर्छ,‘ विप्लवले भने, ‘सबै कुरा किनेर उपभोग गर्ने अनि समृद्ध नेपाल सुखी नेपाली नारा कसरी उपयुक्त हुन्छ?’
उनले बैंकहरुले ऋणीको ७ करोडको घर सम्पति २ करोडमा लिलाम गरेर खाइदिने परिपाटी गलत रहेको टिप्पणी गरे।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले गणतन्त्र प्राप्तिको लडाइँमा नेपाली मिडियाको योगदान रहेकाले नेताहरुले आफूलाई सुधार गर्नुपर्नेमा जोड दिए।
यस्तै सोही अवसरमा सहिद कृष्णसेन इच्छुकको स्मृतिमा स्थापित कृष्णसेन पत्रकारिता पुरस्कारबाट पत्रकार यानेन्द्र जीसी र लेखक तथा साहित्यकार दीपक विश्वकर्मा (छविलाल) लाई नगद र सम्मान पत्रले सम्मान गरिएको जनपत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले बताए।