युवा संघमा १२ वर्षपछि चुनाव : थेबे एक वर्षका लागि अध्यक्ष!

किरण पौडेल १५ जेठ २०८२ १३:००
86
SHARES
युवा संघमा १२ वर्षपछि चुनाव : थेबे एक वर्षका लागि अध्यक्ष!

काठमाडौँ- नेकपा एमालेका युवा भ्रातृसंगठनको अध्यक्ष पदमा पराजित सुमन पुरी पक्षले फर्जी मत हालेर अर्को पक्षले चुनाव जितेको आरोप लगाएको छ। पदाधिकारीमा क्षितिज थेबे र पुरी छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका थिए। थेवे पक्षको प्यानलै निर्वाचित भएपछि पुरी पक्षले फर्जी मत हालेको आरोप लगाएको हो।

नयाँ नेतृत्वमा पुरी पक्ष लगभग नेतृत्वविहीन बनेको छ। नौ सदस्यीय पदाधिकारीमा पुरी प्यानलबाट सचिवमा अरुण कुँवरले मात्र जितेका छन्।  युवा संघमा १२ वर्षपछि चुनाव भएको हो।

‘२०० भन्दा बढी फर्जी मत झर्‍यो, सोही कारण हामीले हारेका हौँ’, पुरी समूहका एक नेता भन्छन्। उनीहरूका अनुसार गण्डकीका खगराज निकट नेतालाई समेत थेबे पक्षले प्रभावित पारेको आरोप छ।

‘ओलीका पक्षमा माहोल बनाउनुपर्छ भन्दै केही साथीलाई प्रभावित बनाएको देखियो। मत हाल्दादेखि नै क्षितिजका पक्षमा वातावरण बनाउन खोजियो’, ती नेता भन्छन्। महाधिवेशन जेठ ९ मै सुरु गरिएको भएपछि मतदान प्रक्रिया सुरु गर्न चार दिन लाग्यो।

थेबे पक्ष भने विगतको काम र कार्यक्रमका आधारमा आफूहरूको जित भएको दाबी गरेको छ। ‘मतपत्र कुनैकुनै यताउता परेको हुन सक्छ। त्यसो भन्दैमा फर्जी मत हाल्यो भन्ने होइन’, उपाध्यक्षमा निर्वाचित महाराज गुरुङ भन्छन्, ‘हामी लोकतन्त्रमा विश्वास गर्छौँ, गद्दारी गर्दैनौँ।’

युवा संघले आगामी दुई वर्षका लागि क्षितिज थेबे नेतृत्वको नयाँ कमिटीले चुनावी प्रतिस्पर्धाबाट नेतृत्व पाएको छ। नेताहरूका अनुसार यसपटक युवा संघको पोखरामा सम्पन्न चुनावमा विगतमा भन्दा भिन्न गतिविधि देखिएका छन्। त्यसमा पनि नेकपा एमालेको वर्तमान नीतिनियम र शुभेच्छुकहरूको आँकलनभन्दा भिन्न परिवेशमा नेतृत्व चयन भएको छ। एमालेमा यसअघिका शुभेच्छुक संगठनमा चुनावबाट नयाँ नेतृत्व छान्ने परम्परा हटाइएको थियो।

केपी शर्मा ओली नेतृत्वमा आएपछि प्रतिस्पर्धामा बन्देज लगाइएको भन्ने आरोप खेपिरहेको एमालेले युवा संघबाट चुनावतर्फ फर्किएको छ। एमालेले आफ्ना २२ मध्ये ११ जनसंगठनको महाधिवेशन सक्दा कतै पनि चुनाव गरेको थिएन। युवा संघ यसपटक पहिलो संगठन बन्यो, जहाँ चुनावबाट नेतृत्व छानियो। यो युवा संघकै इतिहासमा समेत ‘लोपोन्मुख’ घटना थियो।

२०६९ फागुनमा बुटवल महाधिवेशनबाट महेश बस्नेतले निरज आचार्यलाई पराजित गर्दै युवा संघको नेतृत्व पुगेपछि चुनाव भएको थिएन। १२ वर्षसम्म युवा संघ महेश बस्नेतकै दबदबामा चलिरह्यो। संघमा बस्नेतकै बोली आधिकारिक मानिन्थ्यो। २०७९ चैतमा सम्पन्न नेपालगन्ज महाधिवेशनमा पनि सर्वसम्मतिका लागि बस्नेतले नै दबाब दिएका थिए।

नेपालगन्ज महाधिवेशनमा सहभागी एक नेताका अनुसार चुनावका लागि उम्मेदवारी घोषणा भएपछि बस्नेतले फिर्ता गर्न लगाएका थिए। नेतृत्वको सूचीमा नपरेका केही नेताले बस्नेतको गतिविधिप्रति असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष ओलीसमक्ष पुगेका थिए। यसपटक पुरानो परम्परा कायम हुने सम्भावना थियो।

‘हाम्रो संगठनमा चुनाव हुन्छ भन्ने मलाई लागेकै थिएन। चुनाव हुन्छ भन्ने थियो भने प्रतिनिधि छनोट र जिल्ला नेतृत्व छनोटमै प्रतिस्पर्धा हुन्थ्यो’, संगठनका एक केन्द्रीय सदस्य भन्छन्, ‘नेताहरूले सूची पढ्छन्। त्यसैमा पर्नुपर्छ भन्ने थियो तर अपवाद बन्यो।’

नेताहरूका अनुसार पछिल्लो समय बस्नेत कमजोर भएका कारण चुनाव सम्भव भयोे। यसअघिसम्म लामो समय युवा संघको इन्चार्ज बनेका उनी केही समय हटाइएका थिए। इन्चार्ज पद नभएपछि बस्नेत अहिले पूर्वअध्यक्षको मात्र हैसियतमा छन्।

थेबे एक वर्षका लागि अध्यक्ष!

थेबे अध्यक्ष दोहोर्‍याउन इच्छुक थिएनन्। सुमन पुरीले चुनाव लड्ने दाबी नछाडेपछि थेबे अध्यक्षका आकांक्षी बनेको उनी निकट नेताहरू बताउँछन्। यसअघि उनले ताप्लेजुङ (उनको गृहजिल्ला) पुगेर अध्यक्ष नदोहोर्‍याउने बताएका थिए।

पोखराको महाधिवेशनमा नेतृत्व चयन सर्वसम्मतिबाट नहुँदा एमाले नेताहरूले टिम खडा गर्न थेबेलाई नै अघि बढाए। उनी निकट नेताका अनुसार युवा संघको दुईवर्षे कार्यकालमा थेबे एक वर्ष अध्यक्ष बन्ने र अर्को वर्ष महाराज गुरुङलाई नेतृत्व दिने सहमति छ।

‘म अध्यक्षको आकांक्षी थिए, टिमलाई सहयोग गर्न उपाध्यक्षमा पुगेँ’, उपाध्यक्ष महाराज गुरुङले हिमालप्रेससँग भने।

अर्को वर्ष अध्यक्ष बनाउने सर्तमा अध्यक्ष बन्नुभएको हो भन्ने प्रश्नमा महाराजले भने, ‘तपाईंले सुनेको कुरा गलत होइन। सम्भावना भएकै कुरा हो।’ थेबे दोहोरिनुपर्नाका कारण अध्यक्षका आकांक्षीमध्ये पुरी र प्रकाश गौतमको टिम बनेको थियो। पुरी-गौतम टिम कडा बन्ने अनुमानले थेबेलाई अघि सारिएको थियो।

‘क्षितिज आफैँ चुनावी माहोल बनाउन सिपालु छन्। यसैले पनि उनलाई अध्यक्षकै उम्मेदवार बनाइयो’, युवा संघका नेता दिनेश ढकाल भन्छन्।

शंकर तटस्थ र खगराज-महेश द्वन्द्व

युवा संघमा चुनाव हुनुलाई अनेक तरिकाबाट विश्लेषण गरिएको छ। एमाले नेताहरू विभाजित हुँदा चुनावको वातावरण सिर्जना भएको नेताहरू सुनाउँछन्। पहिलो कुरा त युवा संघमा अध्यक्षका दाबेदार थिए, महाराज गुरुङ, सुमन पुरी, कृष्णहरि केसी र प्रकाश गौतम। तर चुनावी प्रतिस्पर्धामा भने क्षितिज थेबे र सुमन पुरी अध्यक्षका आकांक्षी बने।

नेताहरूका अनुसार क्षितिज थेबेलाई अध्यक्ष बनाउन ओलीले भने निर्देशन दिएका थिए। महासचिव शंकर पोखरेल र नेता खगराज अधिकारीले पुरीलाई अध्यक्ष बनाउन भूमिका खेलेका थिए। गण्डकीकै नेता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ थेबे पक्षमा उभिएका थिए।

‘महासचिव (शंकर पोखरेल) ले लुम्बिनीको निर्वाचन क्षेत्र हेर्नुभयो। पुरी लुम्बिनीकै भएकाले उतिपट्टि खुल्नुभयो। हेर्दा तटस्थ देखिनुभयो’, युवा संघका एक नेता भन्छन्, ‘गण्डकीका खगराज अधिकारी टिम भने खुलेर पुरीकै पक्षमा खुल्यो। खगराज पक्षका नेताले खुलेर मत नै मागे।’

खगराज खुल्नुको कारण भने महेश बस्नेत थिए। ओलीसँग नजिक रहेका नेताहरूमध्ये एमालेमा महेश-खगराज एकले अर्कालाई स्वीकार गर्दैनन्। शंकर-खगराजकै अडानका कारण चुनाव हुने अवस्था आएको नताहरू बताउँछन्। ‘शंकरले सहयोग नगरेको भए पुरी हट्ने थिए’, खगराज निकट एक नेता भन्छन्।

ओलीको आँखा परिरहे क्षितिज

क्षितिज यसअघिका अध्यक्ष हुन् भने सुमन महासचिव। उपाध्यक्षबाट झरेर सुमन महासचिव बनेका थिए। यसअघिको कार्यकालमा अध्यक्ष क्षितिज हुँदा बाध्यताले सुमन महासचिव चलाएका थिए।

क्षितिजको जितपछि भने उनको यसअघिको कार्यकालको काम मुख्य हो। उनी युथ सेलेब्रेसन, ओली कपलगायतका कार्यक्रम गरेर ओलीका ‘प्यारा’ बनेका थिए। ओलीले क्षितिजलाई पूर्वी पहाडकै जिल्लामा नेताका रूपमा अघि बढाउने योजना बनाएका थिए।

ओली निकट एक नेताका अनुसार पूर्वी पहाडमा सुवास नेम्वाङको निधन र वसन्त नेम्वाङको निष्क्रियताका कारण जनजाति नेताको अभाव छ। जहाँ जातीय राजनीतिका कारण पहिचानवादीले आन्दोलन गरिरहेका छन्। पहिचानवादीविरुद्ध प्रयोग गर्नसमेत ओलीले क्षितिजलाई उभ्याएका नेताहरू सुनाउँछन्।

शंकर पोखरेल एक नेताका अनुसार ओलीले सर्वसम्मतिबाट नेतृत्व छान्दा क्षितिजलाई अघि सार्न निर्देशन दिए पनि चुनावमा गएपछि भने व्यक्ति छानेका थिएनन्। यसै सन्दर्भमा ओलीले जित्ने नेता आफ्नो भएको अभिव्यक्ति दिएका थिए। ओली व्यक्तिविशेषमा नलागे पनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल थेवे पक्षमै खुलेनन्।

थेवेका पक्षमा लाग्न पूर्वअध्यक्ष महेश बस्नेत, निरु पाल, इन्चार्ज राजीव पहरी, किरण पौडेल, पार्टी नेता भानुभक्त ढकालसहितका नेता लागेका थिए। बस्नेत, पौडेल र ढकालले प्रतिनिधिसँग भेटेर थेबेका पक्षमा वातावरण बनाएको नेताहरू सुनाउँछन्।

कसले कति मत पाए?

थेबेले ७९६ मत ल्याउँदा पुरीले ६०८ मत पाएका छन्। थेबे प्यानलबाट उपाध्यक्षद्वयमा महाराज गुरुङ र विनय शाह निर्वाचित भएका छन्। गुरुङले ८९५ र शाहले ७७३ मत पाए।

पुरी प्यानलका पर्वत भण्डारीले ६०३ र प्रकाश गौतमले ५३७ मत ल्याउँदै पराजित भए। महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७५५ र उपमहासचिवमा उपेन्द्र शाही ८१५ मतसहित निर्वाचित भएका छन्।

पुरी प्यानलका महासचिव कुबेर अधिकारीले ६४९ र उपमहासचिव खेमराज शर्माले ५८९ मत ल्याएर पराजित भए। खुला सचिवमा अरुण कुँवरले ६४८ र मदन भण्डारी ७९४ मतसहित निर्वाचित भए। अरुण पुरी प्यानलबाट निर्वाचित हुने एकमात्र पदाधिकारी हुन्। पराजित भएका देव बस्नेतले ४८१, ध्रुव खड्का ४३७ र वकिलबहादुर बमले ४४८ मत ल्याए।

थेबे प्यानलका मोबिल अख्तर आलम र सचिव (महिला) तर्फ निशा लिम्बू सुब्बा निर्वाचित भए। आलमले ७४३ र सुब्बाले ६४६ मत पाए। सचिव (मधेशी) तर्फ प्रत्यासी चितरञ्जन यादवले ४८० र सचिव (महिला) तर्फका प्रत्यासी रेशु तामाङले ६१४ मत प्राप्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast