कोरोना भाइरस- संक्रमण क्षमता धेरै छ तर मारिहाल्दैन : डा.शेरबहादुर पुन [अन्तरवार्ता]

हिमाल प्रेस १४ जेठ २०८२ १२:१८
118
SHARES
कोरोना भाइरस- संक्रमण क्षमता धेरै छ तर मारिहाल्दैन :  डा.शेरबहादुर पुन [अन्तरवार्ता]

नेपालमा फेरि कोरोना भाइरस देखिएको छ। सन् २०१९ मा संक्रमण देखिएको यो भाइरसले ठूलो मात्रामा जनधनको क्षति मात्र भएन, विश्व अर्थतन्त्रमा पनि गहिरो संकट ल्याइदिएको थियो। कैयौँ देशहरू अझै पनि त्यसको प्रभावबाट तंग्रिन सकेका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। छिमेकी भारतमा एक हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतमा कोरोनाको दुईवटा नयाँ उप-भेरियन्ट एनबी. १.८.१ र एलएफ. ७ को पनि पहिचान भएको छ। यी दुवै उप-भेरियन्टको संक्रामक क्षमता बढी देखिएको छ। खुला सीमाका कारण नेपालमा पनि कोरोना संक्रमण छिटो फैलन सक्ने पर्याप्त सम्भावना छ। यद्यपि सरकारी स्तरबाट जोखिम न्यूनीकरणका लागि कुनै प्रयास र तत्परता देखिएको छैन। हाल नेपालमा देखिएको कोरोना संक्रमण, यसको सम्भावित असर र सचेतनाका लागि अपनाउनुपर्ने मापदण्डका विषय शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख मेडिकल अधिकृत डा.शेरबहादुर पुनसँग गरिएको संक्षिप्त कुराकानी :

नेपालमा कोरोना भाइरस संक्रमण भइरहेको खबर आइरहेका छन्। अहिलेको देखिएको कोरोना भाइरस कतिको घातक हो?

नेपालमा देखिएको कोरोना भायरस अघिल्लो भेरियन्ट र प्रजातिभन्दा एकदमै घातक भनिएको छैन। तर संक्रामकचाहिँ छ। यसको सर्न सक्ने क्षमता धेरै छ।

भारतमा त मृत्यु भएका समेत खबर आइरहेका छन्। नेपालमा संक्रमण बढ्नेसम्भावना कतिको छ?

हो, भारतमा फाट्टफुट्ट मृत्यु भएको खबर छ। हामीसँग कोरोनाको विगतको अनुभव छँदै छ। तिनै मापदण्ड लागू गर्दा भइहाल्छ। यस पटकको कोरोनामा ज्येष्ठ नागरिक, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू चाहिँ सचेत हुनुपर्छ। उनीहरूलाई दुःख दिने सम्भावना छ। अहिले भारतमा त्यसै व्यक्तिको मृत्यु भएको पाइएको छ। कोरोनाका लागि भन्दा पनि जनस्वास्थ्यको मापदण्डमा बस्दा मौसमी फ्लुबारे सचेत हुँदा उपयुक्त हुन्छ।

मंगलबार संक्रमण देखिएकालाई पनि अस्पताल भर्ना गरिएको कुरा आएको छ? यो डरका कारणले हो वा बढी घातक भएकाले हो?

मलाई लाग्दैन, संक्रमितहरूलाई अस्पताल भर्ना गरिएको छ भन्ने। घरमै आइसोलेट गरिएको चाहिँ सुनेको हुँ। यसो हो, कोरोना अहिले मौसमी जस्तो भइसकेको छ। सबैले आआफ्नो तरिकाले सतर्कता अपनाउनुपर्‍यो।

कोरोना आइरहन्छ तर आफू सचेत हुनुपर्छ भन्न खोज्नुभएको हो?

हो, रुघाखोकीले पनि दीर्घरोगीलाई दुःख दिन्छ। कोरोना पनि उस्तैउस्तै देखिएको छ। त्यसैले यसमा धेरै चिन्ता लिनुपर्दैन। तर सजकता अपनाउनु आवश्यक हुन्छ।

अहिलेको संक्रमण कसरी आयो र कतिसम्म रहला भन्ने केही प्रक्षेपण छ?

ठ्याक्कै त्यस्तो त छैन। प्रक्ष्येपण गरेको भए नेपाल नै पहिलो हुने पनि थियो होला। कोरोनाको परीक्षण गरेको वा आफ्नो देशले गरेको कारण देखिएको हो। मलाई लाग्छ, एकदमै धेरैमा संक्रमण देखिएका कारण जाँच गर्दा कोरोना देखिएको र सचेत हुन आग्रह गरिएको होला।

यो कस्तो किसिमको भाइरस हो?

यो कोभिड १९ नै एक प्रजाति हो। कोरोनाबाटै नयाँनयाँ प्रजातिको विकास भइरहेको छ। यो ओमिक्रन भाइरस नै एकअर्काबीच संयोजन हुँदै बनेको भाइरस हो यो। भाइरसहरूबीच कम्बाइन्ड हुने, जिनहरू साटासाट हुने, नयाँ बन्ने हुँदै जाँदा नयाँ प्रजातिको बन्छ। यो नयाँ प्रक्रिया स्वाभाविक र प्राकृतिक विषय हो। यही भाइरस कहिले संक्रामक र घातक बन्छ।

यसपटक कतिजनासम्मलाई कोरोना देखिन्छ वा कोरोना संक्रमितमध्ये यतिको मृत्यु हुन्छ भन्ने केही प्रक्षेपण छ?

त्यस्तो ठ्याक्कै छैन। पहिलेपहिले चाहिँ संक्रमित भएका मध्ये १ वा २ प्रतिशतको मृत्यु हुने अनुमान हुन्थ्यो। तर यस पटकको संक्रमितलाई त्यस्तो हुँदैन पक्कै पनि। किनभने हामी धेरैले यसअघिकै कोरोना संक्रमण पचाइसकेका छौँ। यस अर्थमा हामी कोरोनाबाट बच्ने प्रतिरोधक क्षमता (इम्युनिटी पावर) पाइसकेका छौँ। अर्को कुरा, हामीले भाइरसविरुद्धको खोप पनि लिइसकेका छौँ। यसले गर्दा मृत्युदर धेरै हुन्छ भन्ने मलाई लाग्दैन।

यसो भन्दै गर्दा सचेत नै हुनुपर्दैन भन्ने होइन। जनस्वास्थ्यको मापदण्ड मानेर सजग भएमा संक्रमित भइँदैन। सम्बन्धित पक्षले सचेतनाचाहिँ जगाउनुपर्ने हुन्छ। भयावह भएमा सकस पर्न सक्छ।

प्रकाशित: १४ जेठ २०८२ १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast