
काठमाडौँ– संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–६ दुईबरे जिरोप्वाइन्टमा सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र उनकी पत्नी नुडुप श्रेष्ठको सालिक अनावरण गरिएको छ।
नुडुप फाउन्डेसन र चैनपुर नगरपालिकाद्वारा संयुक्त रुपमा निर्मित सालिकको मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अनावरण गरेका हुन्।
श्रेष्ठको सम्मानमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित एपीएफ क्लब हललाई समेत कृष्ण मोहन स्मृति भवन नामकरण गरिएको छ।
२००३ साल फागुन ३ गते संखुवासभामा जन्मिएका श्रेष्ठ २०५७ साल माघ १९ गते सशस्त्र प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका थिए। २०५९ साल माघ १२ गते ललितपुरको बागडोलमा मर्निङ वाकका क्रमाम उनी र सशस्त्र प्रहरी परिवार महिला संघकी संस्थापक अध्यक्ष नुडुप श्रेष्ठ एवं अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक सूर्य रेग्मीको गोली हानी हत्या गरिएको थियो।
कार्यक्रममा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुबेरसिंह राना, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, अवकाश प्राप्त सशस्त्र प्रहरी अधिकृतहरु, चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङ, उपप्रमुख एलिना श्रेष्ठ, जिल्ला न्यायाधिस ध्रुबराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी दिव्यराज पोख्रेल, नं। १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने, कृष्णमोहन नुडुप फाउन्डेसनका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानियबासी र नंं। ४ अरुण गुल्म संखुवासभामा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति थियो।