युवा संघको नयाँ नेतृत्वका लागि मतदान सुरु

हिमाल प्रेस १३ जेठ २०८२ ११:१३
4
SHARES
युवा संघको नयाँ नेतृत्वका लागि मतदान सुरु पोखरामा जारी युवा संघको महाधिवेशनमा सहभागी प्रतिनिधिहरू। तस्बिर : हिमालप्रेस

पोखरा- नेकपा एमाले निकट युवा संघ नेपालको नयाँ नेतृत्वका लागि पोखरामा मंगलबार बिहान मतदान सुरु भएको छ। विद्युतीय मतदान मेसिनमार्फत मतदान थालनी भएको युवा संघले जनाएको छ। मतदानका लागि ४५ वटा भोटिङ मेसिन प्रयोग गरिएको छ।

एकजना मतदातालाई मतदान गर्न बढीमा १० मिनेट लाग्नेछ। मत परिणाम पनि आजै सार्वजनिक हुनेछ। १५१ सदस्यीय नयाँ नेतृत्वका लागि हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी प्यानलसहित मैदानमा छन्।

थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन्। पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन्।

महासचिवमा कुवेर अधिकारी र महेश चौलागाई तथा उपमहासचिवमा उपेन्द्र शाही र खेमराज शर्माबीच प्रतिस्पर्धा हुनेछ। थेबे प्यानलका महासचिव महेश हुन् भने उपमहासचिव उम्मेदवार उपेन्द्र हुन्।

पुरीतर्फ महासचिव उममेदवार कुवेर हुन् भने उपमहासचिव खेमराज हुन्। सचिव (खुला) मा अरुणबहादुर कुँवर, देव बस्नेत (देवबहादुर बस्नेत), ध्रुव खड्का, मदन भण्डारी, मीनाकुमारी राई (रञ्जु) र वकिलबहादुर बम छन्। थेबेतर्फ मदन र देव हुन्। सचिव (मधेशी) मा चितरन्जन यादव, मोविन अख्तर आलम, विकास झा, सचिव (महिला) उमा पाण्डे (रोजिना), नीशा लिम्बु सुब्बा र रेश तामाङ छन्।

थेबे प्यानलका सचिव (मधेशी) का उम्मेदवार मोविन हुन् भने महिला उम्मेदवार निशा हुन्। ११ जना खुला सदस्यका लागि ५८ जनाले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोग अध्यक्षमा मदन गिरी र अधिवक्ता शिवराज रिमाल, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी (किसुनजी) र विक्रम गुरुङ, युवा विज्ञ परिषद् अध्यक्षमा चीन लामा (चिनबहादुर तामाङ) र मोदनाथ सिलवाल (सन्तोष) बीच प्रतिस्पर्धा हुनेछ। महाधिवेशन शुक्रबार सुरु भएको हो।

प्रकाशित: १३ जेठ २०८२ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast