बाबुरामसँगको सहयात्रा सम्झँदै ‘घर फर्किए’ गंगानारायण

रमेश दवाडी १२ जेठ २०८२ १५:१५
706
SHARES
बाबुरामसँगको सहयात्रा सम्झँदै ‘घर फर्किए’ गंगानारायण

काठमाडौँ- लामो समयदेखि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजनीतिक सहयात्री रहेका गंगानारायण श्रेष्ठ माओवादीमा विलय भएका छन्। ललितपुरमा आयोजित पार्टी समायोजन कार्यक्रममा नेपाल समाजवादीको एक समूह माओवादीमा प्रवेश गरेको हो। पार्टीको महिन्द्र राय यादवको समूह पनि माओवादीमा विलय हुने तयारीमा छ।

पार्टी प्रवेश कार्यक्रममा श्रेष्ठ भावुक देखिएका थिए। कुनै आरोप वा गुनासोको भाषामा होइन स्मृति र आत्ममन्थनको स्वरमा उनले विगतका राजनीतिक उतारचढाव, प्रयास र असफलताको गहिरो प्रसंग सुनाए। उनले माओवादी जनयुद्धदेखि शान्ति प्रक्रियामा डा. भट्टराईसँगको लामो यात्रा सम्झँदै त्यो सहयात्रा कसरी अन्ततः भिन्न बाटोमा परिणत भयो भन्ने कुरा प्रस्ट पारेका थिए।

नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना बाबुराम भट्टराईको नेतृत्वमा भएको थियो जसमा गंगानारायण श्रेष्ठ सहअध्यक्ष थिए। माओवादी आन्दोलनको आधारबाट जन्मिएको यो पार्टी ‘वैकल्पिक अग्रगामी राजनीतिक शक्ति’ को दाबी गर्दै अघि बढिरहेको थियो। तर पार्टीभित्र लगातार वैचारिक र रणनीतिक द्वन्द्व बढ्दो थियो।

२०७९ सालको आमनिर्वाचनको मुखमा माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना बलियो बनेको थियो। श्रेष्ठका अनुसार निर्वाचनअगाडि अन्तिम बैठकमा आफैँले एकताको प्रस्ताव राखेका थिए। त्याे प्रस्तावलाई प्रचण्ड र डा.भट्टराईले पनि सहमति जनाएका थिए। अन्तिम घडीमा अर्का अध्यक्ष महिन्द्र राय यादवले ‘पहिले चुनाव, पछि एकता’ भन्ने धारणा राखेपछि एकताको प्रयास विफल भयो। त्यसपछि डा.भट्टराई पनि पछाडि हटेका थिए।

श्रेष्ठले पार्टी एकताका लागि आफूले बारम्बार प्रयास गरेको बताए। उनले भने, ‘एकपटक होइन, हजारचोटि मैले पार्टी एकताको निम्ति प्रयत्न गरेँ। प्रयत्न कामयाबी हुँदै पनि गएको थियो। २०७९ मंसिर ४ को चुनावभन्दा अगाडि अन्तिम बैठकमा मैले एकताको प्रस्ताव राखेको थिएँ। प्रचण्ड कमरेडले सहर्ष स्वीकार गर्नुभएको थियो। डा.बाबुराम भट्टराईले पनि सहर्ष स्वीकार गर्नुभएको थियो। त्यतिखेर महिन्द्र राय यादवजीले ‘पार्टी एकता गरेर चुनावमा नजाऔँ, चुनावमा गइसकेपछि तुरुन्तै एकता गरौं’ भन्ने कुरा राख्नुभएपछि एकता भएन।’

अन्तिम समयमा सम्भावित एकता टुट्याे। त्यसबेला बाबुरामले आफैँले गरेको प्रतिबद्धताबाट पछि हटेकोप्रति गहिरो असन्तुष्टि जनाउँदै  श्रेष्ठले उनलाई व्यक्तिगत रूपमा आलोचना नगर्ने बताए। उनले भने, ‘चुनावअगाडि गरिएको प्रतिबद्धताबाट डा. बाबुराम भट्टराई पछि हट्नुभयो। मेरो उहाँप्रति कुनै गुनासो, आलोचना पनि छैन। तर आफूले गरेको प्रतिबद्धतामा उहाँ अडिनुपर्थ्यो भन्ने मलाई लाग्छ।’

गंगानारायण श्रेष्ठले समायोजन मञ्चबाट बाबुरामलाई राजनीतिक सन्देश दिए। उनले भने, ‘हिजोको नेकपा माओवादीको जनयुद्धको नेतृत्व गर्ने तपाईं पनि एउटा शीर्ष नेता हो। तपाईं जनयुद्धलाई अर्थात् माओवादी आन्दोलनलाई बीच बाटोमा, चौरास्तामा छोडेर तपाईं कहीँ भाग्न पाउनुहुन्न। यसको स्वामित्व तपाईंले लिनैपर्छ। तपाईं जुनसुकै वादी भनेर भन्नुहोस्, तर तपाईंको परिचय दसौँ हजारको रगतले, बलिदानले माओवादी पहिचान बनाएको छ। त्यसकारण यसको स्वामित्व लिनुस् भनेर गम्भीरतापूर्वक अपिल गर्न चाहन्छु।’

पार्टीभित्र वैचारिक द्वन्द्व र मार्गनिर्देशनको फरक बुझाउँदै श्रेष्ठले भने, ‘मोहन वैद्य किरणले एउटा प्रयत्न गर्नुभयो। डा. बाबुराम भट्टराईले अर्को प्रयत्न गर्नुभयो। हामीले पार्टीभित्र अभ्यास गर्ने क्रममा पार्टीभित्र एकताबद्ध भएर रहन सकेनौँ। त्यो नेताहरू कसैको पनि दोष थिएन। समाजवाद निर्माणका लागि कसैलाई जनयुद्ध अपूर्ण लाग्यो, कसैलाई इन्द्रधनुषी राष्ट्रिय राजनीतिको जगमा समाजवाद निर्माण गर्न सकिन्छ भन्ने लाग्यो। चुनवाङ बैठकपछि पार्टी संसदीय भासतिर गयो, अब विद्रोह गरेर नयाँ ढंगबाट झन्डा उठाउनुपर्छ भन्ने कसैलाई लाग्यो। उहाँहरूले त्यो कोसिस गर्नुभयो। हामीले पनि फरक प्रयास गर्‍यौँ ।’

श्रेष्ठले माओवादी आन्दोलनको बहुआयामिकता र त्यसमा देखिएका वैचारिक मोडको उल्लेख गर्दै आफू फेरि माओवादी केन्द्रमा फर्किनुको कारण स्पष्ट पारे। अब उनी माओवादी केन्द्रको केन्द्रीय सचिव बनेका छन्।

विगतमा बाबुरामको विश्वासपात्र रहँदै श्रेष्ठ उनी प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए। बाबुरामले नेतृत्व गरिरहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अहिले देशभर संगठन विस्तारमा लागिरहेको छ। तर बाबुरामबाट अलग भएका नेताहरू महिन्द्र राय यादव, रमेशप्रसाद यादव र गंगानारायण श्रेष्ठ  सबै आआफ्नै बाटोमा लागिसकेका छन्। तीमध्ये श्रेष्ठले फेरि प्रचण्डसँग सहकार्य रोजेका हुन्।

गंगानारायण ‘जनयुद्ध’ को सुरुदेखि नै बाबुरामसँग निकट थिए। ‘जनयुद्ध’ का बेला उनी पाँच वर्ष तीन महिना जेल बसेका थिए। शान्ति प्रक्रियामा आएपछि गंगानारायण  २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्य भएका थिए। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा (२०६८–२०६९) प्रमुख स्वकीय सचिव भएर पनि काम गरेका थिए।

संविधान जारी भएपछि २०७२ सालमा भट्टराईले तत्कालीन नेकपा माओवादी परित्याग गरे। श्रेष्ठ त्यति बेला माओवादी पोलिटब्युरो सदस्य थिए। त्यसपछि उनले नयाँ शक्ति गठनमा भट्टराईलाई सहयोग गरेका थिए। भट्टराई एउटै दलमा रहेनन्।

बाबुराम नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकतापछि समाजवादी पार्टी, नेपाल बन्यो २०७६ वैशाखमा। २०७७ वैशाख १० गते मध्यरातमा समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) जनता समाजवादी पार्टी (जसपा) बनेको थियो। यसैगरी २०७८ भदौ १ गते जसपा विभाजित भएको थियो। २०७९ मा डा. बाबुराम भट्टराई, महिन्द्र यादवलगायत नेताहरूले जसपाबाट अलग भई नेपाल समाजवादी पार्टी (नेसपा) बनाए। पार्टीमा डा. भट्टराई र महिन्द्र राय यादव अध्यक्ष, गंगानारायण सहअध्यक्ष थिए।।

श्रेष्ठ २०७९ को प्रदेशसभा चुनावमा माओवादीको चुनाव चिह्नबाट चुनाव लडेका श्रेष्ठ सिन्धुलीको प्रदेश (२) खबाट निर्वाचित भएका थिए। त्यसपछि उनी केही समय बागमतीको आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast