
अमेरिकी जीवनशैली जति व्यवस्थित मानिन्छ, त्यत्ति नै कष्टपूर्ण, निरस र यान्त्रिक। मजस्ता आप्रवासनको सुविधा लिएर आएका नेपालीका लागि भने यहाँको जीवनशैलीसँग घुलमिल हुन सकस पर्दो रहेछ। अमेरिका आउने म एक्लो नेपाली त होइन तर मैले यहाँको जनजीवनसँग अनुकूलन हुन निकै पर्खनुपर्यो।
सन् २०१७ फेब्रुअरी ९ सोमबारदेखि हामी सपरिवार जन्मभूमि छोडी उज्ज्वल भविष्यको खोजीमा सात समुद्रपारि लागेका थियौँ। हामी ग्रिनकार्ड र नेपाली पासपोर्टधारीका रूपमा अमेरिका भित्रिएका थियौँ। समयले हाम्रो परिवारका तीन सदस्यलाई कोलोराडो पुर्याएको थियो।
मेरो राहदानी (पासपोर्ट) को मान्य अवधि नोभेम्बर २५ सन् २०२२ सम्म थियो। हुन त मैले सन् २०१२ मै राहदानी बनाएको हुँ विदेश भासिने सुर चलेर। अमेरिका जाने भनेर चाहिँ होइन। पासपोर्टको प्रयोग हुन सकेको थिएन। अर्थात् बिदेसिन साइत जुरेको रहेनछ।
अमेरिका आएपछि सन् २०२१ देखि एमआरपी पासपोर्ट नवीकरण गर्ने कुराले मलाई चिन्तित बनाइरह्यो। दुई वर्षअघि पनि कोलोराडोमा अमेरिकास्थित नेपाली दूतावासको टोली घुम्ती शिविर लिएर आएको थियो। पासपोर्ट नवीकरणको समय नभएकाले म गइनँ।
सन् २०२१ देखि राहदानी विभागले ई-पासपोर्टको चर्चा गरेको कुरा सामाजिक सञ्जालमार्फत देखेँ। विभागले बायोमेट्रिक प्रणाली एवम् सम्पूर्ण व्यक्तिगत विवरण भएको कफी रङको ई-पासपोर्ट मात्र लागू हुने सूचना जारी गरेको रहेछ। त्यसैले म ई-पासपोर्ट बनाउने निष्कर्षमा पुगेँ। २०७८ चैत १४ (मार्च २८, सन् २०२२) देखि विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवाको आवेदन प्रक्रिया सुरु गरिएको सूचना जारी गर्यो नेपाली दूतावास अमेरिकाले।
फोनबाट एक अधिकृतमार्फत जानकारी लिँदा सशरीर उपस्थित हुनै पर्ने कुरा थाहा पाएँ। आफैँ उपस्थित हुनुपर्ने कुराले मलाई द्विविधामा पार्यो। स्पष्ट जानकारी लिई यकिन हुन राहदानी विभागका एक अफिसरमार्फत म्यासेन्जरमा रेकर्ड सुनेँ। अनलाइन फाराम भरी वासिङ्टन डीसी जानुपर्ने कुरामा सम्झौता नहुने बताएपछि म ढुक्क भएँ। डीसी जाने खर्चले नेपाल पुगिनेछ। उतै गएर बनाउँला भन्ने सोच पनि नआएको होइन। तर पासपोर्टमा ढिलाइ हुँदा अमेरिकाको काम चौपट होला भन्ने लागेर डीसी गई ई-पासपोर्ट बनाउने निधोमा पुगेँ म।
फाराम भर्न सघाउने उदारमना
एनआरएनका पदाधिकारीहरूले मात्र अनलाइन फाराम भर्न सक्छन् भन्ठानेर अप्रिलभरि त्यही चक्करमा लागिरहेँ। निरन्तरको प्रयासपछि अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले अनलाइन फाराम भर्ने वचन दिएर मलाई निश्चिन्त हुन भन्नुभयो।
मलाई उहाँको निवास लिटिनटन पुग्न भने सहज थिएन। ‘काम गर्ने स्थानमा आई घरमा लिएर जानेछु। फाराम भरिसकेपछि निवासमा छोडिदिनेछु’ भन्ने प्रतिबद्धताले मलाई उहाँ सहृदयी, उदार एवम् मनकारी व्यक्ति लाग्यो। फाराम भर्ने दिन रातिको खाना मैले सिटौलाकै निवासमा खाएको थिएँ। मेको पहिलो सातासम्म आवश्यक सम्पूर्ण कागजपत्र (१५० डलरको क्यासियर चेक, हुलाकको खामटिकट, ट्र्याक नम्बर) तयार गरेँ। हवाई टिकट पनि लिनुपर्नेछ। टिकट खरिदमा पनि मजस्तो प्रविधिसँग खेल्न नजान्ने लठुवाले अरूको सहारा लिनुपर्ने अवस्था थियो।
म डीसी आसपास बस्ने आफन्तको खोजीमा लागेँ। एक दिनका लागि समय दिन सकिन्छ कि भनी एक आफन्तसँग म्यासेन्जरमा कुरा गरेँ। उताबाट यस्तो जबाफ आयो- ‘डलस इन्टरनेसनल एयरपोर्टमा आउने, गुगलले जहाँ पनि पुर्याइहाल्छ नि। यो अमेरिका हो अमेरिका, आएको पाँच वर्ष भइसक्दा पनि परनिर्भर हुने? अब त लाज पो हुन्छ त! मेरो घर आउने भए स्वागत छ है न्यु टाउन पेन्सिल्भेनिया हो। रेलले ल्याइदिइहाल्छ नि।’
मैले भनेँ- ‘भाइ! तपाईँको कुरा बुझेँ। तीन घण्टा ड्राइभ गरी दूतावास पुर्याई सहयोग गर्ने कुरा कठिन हो। फेरि व्यस्त मान्छे। टाढा रहेछ दूतावास। मैले नजिक होला भनेर आसका साथ प्रस्ताव गरेको मात्र हुँ। भैगो म जसरीतसरी जानेछु गर्नेछु। धन्यवाद भाइ!’
यसपछि मैले आफ्नो समस्या कोलोराडोमा रहेर साहित्यसेवामा सक्रिय पदम विश्वकर्मालाई राखेँ। उहाँले डीसी कर्म क्षेत्र रहेका वरिष्ठ पत्रकार (गुणराज लुइटेल) मार्फत सम्पूर्ण सहयोग गराउने प्रबन्ध गराउनुभयो। लुइटेल डलस इन्टरनेसनल एयरपोर्ट एयरपोर्ट आसपास बस्नु हुने रहेछ। उहाँले उक्त एयरपोर्टमा न्युयोर्कको समयअनुसार ४/५ बजेतिर अवतरण हुने गरी हवाई टिकट खरिद गर्न अनुरोध गर्नुभएको रहेछ।
डलसको हवाई टिकट निकै महँगो (करिब १००० डलर) भएको थहा पाएपछि आत्तिएर साथीको छोरा सुजन दंगाललाई फोन लगाएँ। सुजन जुनसुकै समयमा जहाँ भन्यो त्यहीँ आई सहयोग गर्न तत्पर भए। अनि ढुक्क भएर फ्रन्टियर एयरबसको टिकट आतेजातेका लागि ३४५ डलरमा किनेँ। रोनाल्ड रेगन नेसनल वासिङ्टन एयरपोर्टसम्म टिकटको मूल्य ५०० डलर पर्यो।
सहृदयी पदम विश्वकर्मासँग लज्जित हुँदै माफ पाऊँ भनेँ मैले। उहाँले ‘रेगन एयरपोर्टकै लिए पनि वरिष्ठ पत्रकार लुइँटेल तपाईंलाई सहयोग गर्न तम्तयार हुनुहुन्छ नि’ भन्नुभयो।
‘साथीको छोराले सम्पूर्ण सहयोग गर्छु भनेको छ। मेरिल्यान्डको बाल्टिमोरमा बस्ने रहेछ। एक घण्टा १५ मिनेटको ड्राइभमा दूतावास पुगिने रहेछ। सदाशयका लागि धन्यवाद!’ भन्दै फोनबाट बिदा भएँ।
पेन्सिल्भेनिया बस्ने आफन्तसँग कुरा भइसकेपछि मैले गोविन्द गिरी प्रेरणा, खेमनाथ दाहालमार्फत पनि सहयोगका लागि याचना नगरेको होइन। गिरी र दाहाल दुवै नेपालमा रहेकाले उपयुक्त चाँजोपाँजो मिलेन। पदम विश्वकर्मा र साथीलाई डीसी भ्रमणको वास्तविकता सुनाएको थिएँ। अमेरिकाजस्तो व्यस्त संसारमा कसले कसलाई समय दिन सक्छ र? आत्मनिर्भर भएर बाँच्नुपर्ने देशमा बोल्न पनि बेकार ठानेँ। आपत् पर्दाचाहिँ सहयोग गर्नेहरू पनि पाइन्छन्। अन्तरमनले सहयोग गर्ने र गर्न खोज्ने मनकारीजनलाई मनमने नमन गरेँ मैले।
अनि लागेँ डीसीतिर
मे १७ सन् २०२२, मंगलबार बिहान ४ बजे उठेर नित्यकर्म गरिसकेपछि घरबाट निस्कन तत्पर भएँ। उबर (अनलाइन सिस्टममा चल्ने एक प्रकारको कार) रिक्वेस्ट गरेँ। अनलाइनबाट ४७ डलर तिरेँ। ४ः३० बजे उबर आइपुग्यो। ५ बजे डेनवर इन्टरनेसनल एयरपोर्ट पुर्यायो।
फ्रन्टियर एयरको कक्षमा लागेँ। सुरक्षागार्डले अनलाइन टोकन दियो। एक घण्टाको प्रतीक्षापछि सुरक्षा जाँच भयो। बोतलको पानीका कारण सुरक्षामा एकछिन अलमल भयो। स्टेट आईडी नभए प्लेन चढ्ने अनुमति पाइँदैन। यो अनिवार्य छ अमेरिकाभरि। सुरक्षा जाँचपछि विमानस्थल प्रहरीले पानीको बोतलबाहेक सम्पूर्ण सामान लिएर जान अनुमति दियो। एफनाइन ५३४ नम्बरको प्लेनका लागि गेट नम्बर ए ५४ मा प्रतीक्षा गरेँ। बारकोड स्क्यान गरेर टिकट हेरी-हेरी जहाजमा प्रवेश गराए। म ७ बजे प्लेन चढेँ। सिट नं. थियो ९ सी।
पहिलो पटक अमेरिकी घरेलु उडानमा हवाईयात्रा थियो मेरो। डीसीस्थित रोनाल्ड रेगन नेसनल वासिङ्टन एयरपोर्ट पुग्न तीन घण्टा लाग्ने बतायो प्लेनले। भुइँ छोडिसकेपछि डेनवर देखिन छोड्यो। बेग्लै संसारमा पुगेझैँ अनुभूति भो। मोबाइलमा नेट हरायो। निकै उचाइमा तीव्र गतिमा उडिरहेको प्लेनबाट बाहिर चिहाएँ। हिउँ नै हिउँले ढाकिएको संसारझैँ लाग्थ्यो बादल। आफू समुद्रमाथि उडेझैँ लाग्ने बादल र आकाशबीचको फरक संसारमा रहेको अनुभव हुन्थ्यो।
बादलमाथिको संसार अचम्मको थियो। यसअघि त्यस्तो प्राकृतिक दृश्यको अनुभव गरेको थिइनँ। एकछिन झकाएछु। परिचारिका आएर खाजापानी सोधिन्। खाजा किनेर खानुपर्छ भनेपछि म पन्छिएँ। चिसोतातो अर्डर गर्नेहरूसँग कार्ड घोटाइरहेको देख्दा व्यापारले विमानभित्र पनि खुट्टा घुमाएको अनुभव भयो। पानी खाएपछि बल्ल म ठिक अवस्थामा आएँ नत्र रिंगटा चल्लाजस्तो भएको थियो। सिट बेल्ट खोलेर शौच गरेँ अर्थात् लघुशंका। अनि फेरि झकाउन खोजेँ, के निद्रा लाग्थ्यो? भरिभराउ प्लेनको परिवेश नियालेँ।
न्युयोर्कको समयअनुसार १२ः२४ बजे रोनाल्ड रेगन नेसनल वासिङ्टन एयरपोर्टमा विमान अवतरण गर्यो। सँगै सिटमा बस्ने विद्यार्थी (भारतीय) लाई बाहिर निस्कने बाटो कहाँ हो भन्दा ऊ रिसाएर ‘आई डन्ट नो’ भन्यो। ऊ यात्राभर निराशजस्तो थियो।
त्यति नै बेला साहिँलीको फोन आयो। ‘बाबा! पुगिस्यो? रिसिभ गर्न कोही आयो/आएन?’ ‘भाइलाई फोन गरिसकेको छु। ऊ मलाई लिन १/२ मिनेटमा आइहाल्छ’ भनेपछि ऊ ढुक्क भई।
आत्मीय सुजनसँगको रमणीय यात्रा
म एयरपोर्टको ढोकामा प्रतीक्षामा बसेँ। सटल बस, यात्रुको लगेज बोकेको परिवेश, दौडधुप र प्रहरीको कडा निगरानी, पार्किङको समस्या त्यहाँका दृश्य थिए। सुजनसँग भेट भएर गाडी चढेपछि साहिँलीलाई फोन गरेँ। पत्नीको पतिप्रतिको माया कस्तो हुँदो रहेछ भन्ने थप अनुभव भयो।
बाल्टिमोरको यात्रा करिब १ घण्टाको थियो। सुजन बस्ने एपार्टमेन्ट जाने क्रममा पूर्वदीप्ति शैलीमा कुराकानी भयो। उनका बुबा र म कान्तिपथमा काम गर्दादेखिका साथी थियौँ। २०५३/०५४ सालदेखि संगत गरेको कुराबाट हामीले परिचय गरेका थियौँ।
मेरिल्यान्ड राज्यमा पर्छ बाल्टिमोर। जंगलैजंगलको बाटो रहेछ। निजगढ, अमलेखगन्ज, पथलैयातिर यात्रा गरेको पनि अनुभव भयो। पुरानो बस्ती पनि देखिन्थ्यो ठाउँठाउँमा। बाटो अलि साँघुरो थियो। स्टप साइनमा गिलास बोकेर लक्काजवानहरू पैसा मागिरहेको दृश्यले मलाई भावुक बनायो। कतिपय स्थानमा चोरी र लुटपाट हुने कुरा सुनेपछि मेरो मुटुले ढ्यांग्रो ठोक्यो।
सुजन भन्छन्- ‘अंकल! कतिपय ठाउँमा त मौका पायो भने गाडी पनि लुट्छन्, मान्छे लुटिन्छ, मोबाइल-पैसा सबै। प्रतिकार गर्नु हुन्न नि!’ मरिल्यान्ड लेखिएका गाडी र प्रहरीका गाडी हुइँकिरहेका थिए। गति उच्च नभएको ठाउँ रहेछ। हामी ४५/५५ को गतिमा थियौँ।
हामी २ बजेअघि नै सुजन बस्ने एपार्टमेन्ट पुग्यौँ पेरी हल भन्ने स्थानमा। जंगलबीचमा रहेका सानासाना एपार्टमेन्ट रहेछन्। निद्रा र भोकले लखतरान थिएँ। हातमुख धोएर रोलर केक र पानी खाएर भोक शान्त पारेँ। मलाई आधा घण्टा धैर्य गर्न भनेर सुजन खाना बनाउन लागे। उनको आतिथ्य सत्कारलाई मनमनै नमन गर्दै भोजन लिएर खाटमा ढल्किएँ।
सुजनको शालीन आतिथ्य सत्कारले मलाई गहिरो प्रभाव पार्यो। त्यहाँ उनी मेरो शिक्षक बने।
नेपालमा स्थानीय चुनावको परिणाम आउने क्रम थियो। बालेनको अग्रतामा सुजन दम्पती उफ्रिन्थे, जोसिन्थे, हौसिन्थे। म पनि युवाले अवसर पाउनुपर्ने भन्दै हँमा हँ मिलाउँथेँ।
बेलुकी ५ बजेपछि दुलही काम (हस्पिटलको रक्त रिसर्चर) मा लागिन्।
सुजन र म बाल्टिमोरलगायत मेरिल्यान्डका एकदुई पर्यटकीय क्षेत्रको भ्रमणमा लाग्यौँ। कतै न्युयोर्क जाने बाटो, कतै जंगल त कतै टोल वे (अनलाइन पे सिस्टम) को बाटो समायौँ। रेलको लिक, पुरानो बस्ती, सुरुङमार्ग (समुद्रमुनिको) हुँदै अघि बढ्यौँ।
सुजनले गाडी हाँक्ने क्रममा बताएपछि मात्र लामो सुरुङमार्ग (समुद्रमुनि) रहेको थाहा पाएँ। बत्तीजडित सुरुङमार्ग निकै व्यवस्थित लाग्थ्यो। त्यस्तो सुरुङमार्गको यात्रा मेरा लागि पहिलो थियो। समुद्रमुनि कसरी सम्भव भयो होला? सुजन भन्थे, ‘यो महाशक्ति विकसित मुलुक हो। विकास त धेरै पहिले भएको हो नि।’
डीसी आसपास भनिँदो रहेछ भर्जिनिया, मेरिल्यान्ड, पेन्सिल्भेनिया आदिलाई। न्युयोर्क ३ घण्टामा पुगिने रहेछ मेरिल्यान्डबाट।
हाम्रो गाडी समुद्री किनारमा रोकियो। सुजनका अनुसार खासमा यो समुद्र होइन यो विशाल नदी हो। मेरिल्यान्डको प्रमुख पर्यटकीय स्थल जसलाई लाइट हाउस भनिँदो रहेछ। शिलालेख पढ्दा स्मारक रहेको थाहा भयो। दोस्रो विश्वयुद्धका बेला धेरै सैनिकले वीरगति प्राप्त गरेका रहेछन् उक्त स्थानमा। वीर योद्धाप्रति सम्मान गरेर स्मारक निर्माण भएको रहेछ। मे ३, सन् १८१३ मा ब्रिटिस साम्राज्यको फोर्सले आक्रमण गर्दा थुप्रै सैनिक मारिएको भन्ने लेखिएको रहेछ।
मेरिल्यान्ड राज्यको एक प्रमुख पर्यटकीय स्थलमा पर्ने रहेछ यो ठाउँ। नदी र स्मारक एकै ठाउँमा रहेछन्। पार्किङको समस्या रहेकाले रोडमा गाडी रोकेका थियौँ हामीले। लाइट हाउसलगायत तटमा डुंगाको पार्किङ भएको पृष्ठभूमि पारेर तस्बिर लिएँ। डुंगा चलिरहेको देखिन्थ्यो परपरसम्म।
मछुवाराहरू घोत्लिरहेका देखिन्थे। माछा नपरे पनि उनीहरू चिन्तित थिएनन्। सिमसार क्षेत्र भएकाले कछुवा हेर्नेको भीड थियो। सार्वजनिक शौचालय निःशुल्क र व्यवस्थित थिए।
केहीबेर रमाएर घाम डुब्न लागेपछि हामी घरतिर लाग्यौँ। बाटामा बडेमाको सर्प बेरेर घुमिरहेको थियो एक व्यक्ति। सर्प देखाएर रोजीरोटी चलाउने रहेछ त्यसले। सुजनले भने, ‘दाइ (कहिले दाइ भन्ने कहिले अंकल भन्ने) सर्प पालन गरेका हुन्छन् टोक्दैन यिनीहरूलाई।’
हाम्रो यात्रा पेरी हल एपार्टमेन्टतर्फ अघि बढ्छ। नेपालीको मुख्य हब बाल्टिमोर रहेछ। प्रायः नेपाली कलाकार बस्दा रहेछन् यता। प्रकाश सपूतका कार्यक्रमको पनि चर्चा सुनियो। बागलुङेहरुको पनि कर्मक्षेत्र बाल्टिमोर नै हो भन्ने जानकारी पायौँ। दसैँका बेला नेपालीको खसी खरिदबिक्री सोखको कुरा सुनियो। मम, सुकुटी, बेसारसाहितको छालावाला मासुको चर्चा सुनियो।
मैले सुजनसँग सिनेटर एचपी प्रभात भण्डारीको प्रसंग उठाएँ। कुनै बेला त्रिविमा अंग्रेजीका विद्यार्थी रहेका भण्डारी पर्वततिरका रहेको भनी विगत बताएँ। सुजनले थपे- ‘ह्यारी भण्डारी, ह्यारी दाइ। उहाँको पहलमा बनाइएको हिन्दू बौद्ध मन्दिर जाऊँ। ह्यारी दाइ मित्रवत् हुनुहुन्छ। सामान्य पनि सरल मिजासको। निकै राम्रो गर्नुभएको छ। ह्यारी भण्डारी नेपालीको सान हो।’
एउटा जंगलको बीचमा मन्दिर बनाइएको छ। फराकिलो जमिन आगटेको छ मन्दिर क्षेत्रले। मन्दिर बन्द भइसकेको रहेछ। नेपालीले हल्ला गरीगरी भलिबल खेलिरहेको दृश्य, गेरुवस्त्रधारी नेपालीसँग लामो गनथन गरिरहेको र एकापसमा नेपाली दाइ-दाइ भनिरहेको परिवेश रोचक लाग्थ्यो। हिन्दू र बौद्ध दुवै मन्दिरमा दर्शन गरिसकेपछि हाम्रो आँखा शिलापत्रमा जान्छ। मनकारी नेपालीहरूको आर्थिक सहयोग र सत्कार्यप्रति गर्व गर्दै नमन गर्छु।
भोक-निद्राले सताएको थियो। एपार्टमेन्ट नजिकको बागलुङे श्रेष्ठ ग्रोसरी पसलमा छिर्छौँ हामी। ‘सुजन बाबु! गाडीमा तेल (ग्यास) हालौँ। म कार्ड घोट्छु नि।’ सुजन मान्दै मान्दैनन्। ‘पाहुनालाई मैले यसो गर्न मिल्दैन’ भने। केही खानेकुरा रेडिमेड मम (किमा मम) लिएर डेरा (एपार्टमेन्ट) लाग्छौँ। खुर्सानीको अचारको स्वादसँग अघाउँजी मम खान्छौँ।
पसलमा बाल्टिमोरका नेपाली ग्राहक आउने रहेछन्। नेपालको ग्रोसरी गएको अनुभव भयो। श्रेष्ठ ग्रोसरीमा एक बाल्टिमोरवासीको उपन्यास बिक्रीमा राखिएको रहेछ। पश्चिमतिरका रहेछन्। उपन्यासको नाम भुलेँ तर डायस्पोरिक चिन्तन भएको कथानक ठान्छु। पढ्न फुर्सद नहुने भएकाले नकिनेको हुँ।
वासिङ्टन जाने तयारीका सामान ठिक ठाउँमा राखी निदाउन खोज्छु तर दिउँसो छोराले गरेको म्यासेज ‘आर यू ल्यान्डेड? ह्वेर आर यू’ देख्दा सन्तानको मायाले भक्कानिन्छु। छोराले स्कुलका शिक्षकसँग अनुमति लिएर म्यासेज गरेको रहेछ। आमाले नेपालबाट फोन गर्नुभएको र चिन्ता लिनुभएको कुराले वात्सल्यप्रेमको मर्म बुझ्छु।
सुजन गुड नाइट भन्छन्। म पनि गुड नाइट भनेर पल्टिन्छु। कतिखेर निदाइएछ, कतिखेर बिहान भएछ पत्तै भएन।
मे १८, बुधबार, २०२२। बिहान ८ बजेभित्र नित्यकर्म पूरा हुन्छ। सुजनले भान्सा तयार गर्छन्। दुलही पनि ८ः३० तिर एपार्टमेन्ट आउँछिन् रातको ड्युटी सकेर। भोजन गरेपछि मोबाइलमा पारिवारिक सेल्फी कैद गर्छु र बिदा हुन्छु।
८ः४५ मा हाम्रो यात्रा दूतावासतर्फ अघि बढ्छ। गुगल जीपीएसमा १० बजे पुगिन्छ भने पनि १०ः१५ मा पुग्छौँ नेपाली दूतावास वुडले पार्क।
डीसी जाने क्रममा हामी गफिएको कुरा सम्झिन्छु। यात्रामा सुजनले एउटा रोचक कहानी सुनाउँछन्- हिँडेर आउने नेपालीको कथा। म जिज्ञासु बन्छु- ‘हिँडेर पनि अमेरिका आइन्छ र?’
सुजन भन्छन्- ‘दलालमार्फत ब्राजिल हुँदै कतिपय नेपाली सुनौलो सपना बोकेर ८० लाखदेखि १ करोड रुपैयाँ खर्च गरेर आएका हुन्छन्। जिन्दगी जोखिममा राखेर सिमसार, समुद्रीतट, घना जंगल हुँदै। बाघ, भालु, सर्प, समुद्री किरा आदिबाट बच्ने चुनौती हुन्छ। अपराधीबाट बच्नु पनि। ठाउँठाउँको दलाल ठेकेदारमार्फत अमेरिकी माटो टेकाउने कागजपत्र च्यादिने काम गर्छन्। सर्पले टोकेर मरेको, हिँड्दाहिँड्दै खान नपाएर मर्ने पनि गर्छन्। हिँडेर आउने नेपाली मात्रै हुन्नन्। बेरोजगारीको पीडाले कन्टेनरमा आइरहेका हुन्छन्। कतिपय बोट (डुंगा) पल्टिएर मर्छन्। बाटाबाटामा मानव अस्थिपञ्चर भेटिन्न्छ रे। स्वास्नी, छोराछोरी, आफ्नो जन्मभूमि त्यागेर यस्तो जोखिम मोल्छन्। जहाँ बसे पनि सुखले बाँच्ने कोसिस पो गर्ने। एक करोड रिन तिर्न पनि त समय लाग्दा हो। कहिले कमाएर चुक्ता गर्ने होला? कागजपत्रविहीन भएपछि ती व्यक्ति शरणार्थीको मान्यतामा बस्ने रहेछन्।’
म यस कुराले गम्भीर भएँ। कृष्ण धरावासीको ‘तल्लो बाटो’ उपन्यास सम्झिएँ। फेरि सुजन थप्छन्- ‘शरणार्थी बनेपछि पनि तिनीहरूले थप दुःख पाउँछन्। २०/२५ लाख खर्चिएर बिहे गर्छन्। केटीले डिभोर्स गर्छे। नेपाल जान पाइँदैन। नेपालमा परिवारको बिजोग। विचलन भनेको यही हो।’ उनको तर्क सुनेर म विद्यार्थीजस्तो बनेँ। घरपरिवारसँग बिछोडिएर जिन्दगीभर सन्तापमा बाँच्नुपर्ने। यो बेरोजगारीको पीडाले निम्त्याएको दुःखान्त हो।
सुजन राजनीतिमा चासो राख्छन्। व्यावहारिक कुरा पनि गर्छन्। डीसी राजधानी एक भोटको खेलले भएको अमेरिकी इतिहासका कुरा सुनाउँछन्। सिनेटमा मतदान हुँदा वासिङ्टन डीसीसा राजधानी हुने पक्षमा न्युयोर्कको भन्दा १ मत बढी परेको थियो। नत्र अमेरिकाको राजधानी न्युयोर्क हुन्थ्यो।
नेपाली दूतावास पुग्दा शिर ठाडो भयो
गुगलले अलमल गरे पनि १०:१५ बजे दूतावास पुग्छौँ हामी। जंगलजस्तो क्षेत्रमा चाइनिज इँटाको घर, थुम्को जस्तो ठाउँमा छ नेपाली दूतावास। सडकमै पार्किङ गर्नुपर्ने। दूतावासमा नेपाली झन्डा फहराइरहेको देख्दा मेरो शिर ठाडो हुन्छ। गर्वले छाती फराकिलो हुन्छ। कार्यालयमा सम्बन्धित मान्छेबाहेक अरूलाई प्रवेश निषेध रहेछ। हेल्प डेस्कमा अंग्रेजी मात्रै बोल्ने रहेछन्। बारकोड स्क्यान गरी पुनः स्मार्ट फोनबाट फाराम भर्नुपर्ने भएपछि मैले सहयोगी झिकाउन अनुरोध गरेँ। सुजनले प्रवेश अनुमति पाउँछन्।
दुई जना भएर कागजपत्र तयार गरी आईटी शाखालाई बुझाउँछौँ।
मुख्य अधिकृतले मेरो काम अगाडि गरिदिन्छन् अरूको काम रोकेर पनि। किनभने त्यो मेरो समय थियो १५ मिनेट ढिलो भए पनि। मुख्य अधिकृत सरल मिजासका रहेछन्। बायोमेट्रिक प्रणाली रहेछ डिजिटल पासपोर्ट भनेको। मुख्य अधिकृतले मेरा सम्पूर्ण कागजात प्रमाणित गरिसकेपछि नाम, ठेगाना, पिताको नाम, हालको बसोबास र अमेरिकामा के स्टाटसमा बसेको जस्ता प्रश्न सोधे।
मैले ग्रिनगार्ड देखाएपछि कागजपत्र आईटी शाखामा लिएर जानू भने। आईटी शाखाका कर्मचारीले मेरो फोटो खिचिदिए। डिजिटल ओँठाछाप लगाए अनि १५० डलरको क्यासियर चेक लिए। पुरानो पासपोर्ट, ट्र्याकिङ नम्बर भएको यूएसपीएस (युनाइटेड स्टेटस पोस्टल सर्भिस) सरकारी हुलाकको टिकटसहित खाम लिँदै मलाई सक्कल नागरिकता र १५० डलरको नगद रसिद हातमा थमाउँदै उनले बिदा गरिदिए। बाथरुम गई फ्रेस भएँ। बाथरुम साँघुरो ह्यान्डसफ नभएकोमा दिक्क लाग्यो। दूतावासमा कर्मचारीको अभाव अनुभव हुन्थ्यो। दूतावासको पृष्ठभूमिमा राखी एउटा तस्बिर कैद गरी कर्मचारीलाई मनमनै धन्यवाद भन्दै बिदा भएँ।
डीसीको पर्यटकीय क्षेत्रको आनन्द र गाडी गायब
घुम्ने समय करिब दुई घण्टाजति रहेको थाहा पाएपछि सुजनको वचनअनुसार हामी डीसीको प्रमुख पर्यटकीय क्षेत्र पुग्छौँ। चारैतिर हरियाली छ। ठूलाठूला भवन छन्। सुरक्षा व्यवस्था कडा देखिन्छ। पर्यटकको घुइँचो देखिन्छ ह्वाइटहाउस आसपास। चैतवैशाखमा फुलेका फूलको दृश्यावलोकन गरी प्राकृतिक आनन्द लिँदै फोटो खिच्न धेरै मानिस आउँछन्।
रोचक दृश्य के लाग्यो भने डीसीमा अनेक प्रकारका प्रहरी रहेछन्। गाडी पुलिस, साइकल पुलिस, घोडचढी पुलिस र छतमा बसेर दूरबिन हेर्दै हतियारले सज्जित पुलिस। यस्तो कडा सुरक्षा मैले कहिल्यै देखेको थिइनँ। पार्किङको समस्या रहेछ। बल्लबल्ल ह्वाइट हाउसकै आसपासभन्दा परको सडकमा पार्किङ पाइयो। डिजिटल मेसिनमा पैसा तिर्यौँ कार्डबाट। तीन घण्टाका लागि रिजर्भमा लिएका थियौँँ पार्किङ।
डीसीका गगनचुम्बी भवन देख्दा अचम्म लाग्यो। अमेरिकामा प्रायः घर गगनचुम्बी हुन्नन्। ठूलाठूला कार्यालयका लागि ठूला भवन रहेको अनुमान लगाएँ।
संयोगले मैले ग्रिनकार्ड र नागरिकताचाहिँ साथमा लिएको थिएँ। ज्याकेट र प्लेनको टिकट गाडीमा छोडी लक गरी अघि बढ्यौँ। सुजनले घाँटीमा क्यामरा झुन्ड्याए। ह्वाइट हाउस आसपास एवं पर्यटकीय क्षेत्रको आकर्षण केन्द्र नजिकका रोडहरूमा घुम्ती सेवाबाट कपडा, खानेकुरा, पिज्जा बर्गर आदि बेचिरहेको दृश्य रोचक लाग्थ्यो।
अलि पर पुगेपछि सानो खुला चौरमा पाल टाँगेर बेघरबार अमेरिकीहरू बसेको देख्यौँ। उनीहरू कार्ड (सपिङ कार्ड) घिस्याउँदै हिँडिरहेको दृश्यले मलाई भावुक बनायो। दुःख सपनाको देशको केन्द्रमा पनि रहेछ। गरिबी-अभावमा कतिपय मानव बाँचिरहेको देख्दा किन यसो भएको होला भन्ने लाग्यो। क्रेडिट बिग्रिएर र काम नगरेर यस्तो सुनेको थिएँ।
हामी राजधानीको मुख्य केन्द्र ह्वाइट हाउसलाई पृष्ठभूमिमा राखी तस्बिर कैद गरेर अघि बढ्यौँ। भेटियो- सुनधारा टुँडखेलझैँ लाग्ने परिवेश। एउटा ठूलो स्तम्भ छ। त्यहाँबाट लिफ्टमा चढेर डीसी सहरको अवलोकन गर्न सकिन्छ। भ्युटावरको नाम रहेछ- वासिङ्टन मोनुमेन्ट। आसपासका निःशुल्क शौचालयको प्रशंसा गर्दै हामीले त्यहाँको परिवेश हेर्यौँ।
टुँडिखेलतिर पानी-कुरमुरे बेचेजसरी त्यहाँ पनि बेचिरहेको देख्दा अचम्म लाग्यो। संसद् भवन परैबाट देख्यौँँ। तस्बिर लियौँँ। टावरमा दुईचार फोटो लिएर वल्ड वार सेकेन्ड मोनुमेन्टतर्फ लाग्यौँ। उक्त मेमोरियललाई लिंकन मेमोरियल पनि भनिँदो रहेछ। पानीको कृत्रिम फोहोरा एवम् स्मारक आसपास टहलिन्छौँ। ५० राज्यको स्तम्भ हेरी आनन्द लिँयौँ। कोलोराडो लेखिएको स्तम्भमा सुजनले मेरो फोटो कैद गरे। भ्रमणका क्रममा त्यहाँ एक नेपाली परिवार भेटिन्छ तर हाँस्छन् मात्र बोल्दैनन्। लिंकन मेमोरियल क्षेत्रमा मोटरसाइकलमा प्रहरीले दौडाहा लगाइरहेको, ओहोरदोहोर गरिरहेको दृश्य अचम्म लाग्यो।
मैले पेन्टागन जाने रहर गरेँ। गुगलले १५ मिनेट लाग्ने देखायो अनि त्यहाँ नजाने निर्णय भयो। ३ बजे सुजनको क्लास छ। उनी २ बजेभित्र घर पुगिसक्नुपर्छ भन्ने बुझेर भ्रमण करिब २० मिनेट छोट्यायौँ। मलाई रेगन नेसनल एयरपोर्ट पुर्याइदिए भो।
पार्किङ गरिएको ठाउँमा गाडी भेटिँदैन। हाम्रो होसहवास उड्यो। छाँगाबाट खसेझैँ हुन्छौँ। कडा सुरक्षा व्यवस्था भएको स्थानबाट गाडी गायब भएको ठानी मलिन अनुहार लगायौँ। भाग्यमा रहेनछ भन्छौँ। हाम्रो बोली नै बन्द भएझैँ हुन्छ। फेरि ह्वाइट हाउस आसपासको पार्किड रोड चक्कर लगाउँछौँ। मेरा कारणले गर्दा गाडी (महँगो र मर्सिडिज ठूलो) यस्तो भयो भन्दै आफैँलाई धिक्कार्छु।
मनमा अनेक कुरा खेल्छन्। धन्न ग्रिनकार्ड, नागरिकता र महँगो क्यामराचाहिँ साथमा बोकिएछ, सुजन मसिनो स्वरमा भन्छन्- ‘अंकल इन्सोरेन्स त गरेको छ तर लफडा हुन्छ नि। फेरि कति पटक नेपाली दाइहरूको गाडी चोरिएको घटना छ यही स्थानबाट।’ गाडी लगेर मज्जाले घुम्ने अनि त्यहीँ छोडिदिने पनि गर्छन्। बिमा भए पनि प्रक्रिया पुर्याए पैसा दिने हो। किन्न पनि गाह्रो छ नि। दुवै जनाको गाडी हुँदा सजिलो हुन्थ्यो। अब एउटा गुमाइयो।
म थप्छु- ‘सुजन बाबु! सुजन एक पटक ई पार्किङ बक्सको नजिकको पारिपट्टि खोजौँ न।’ त्यही बेला पार्किङबाट प्रहरीले गाडी पछ्याउँछ टिकट दिनका लागि। पछ्याउँदा साइरन र बत्ती बाल्छ। पछ्याएर समाउनेलाई पुलओभर भनिँदो रहेछ। अनि टिकट दिन्छ। टिकट दिनु भनेको नेपालमा चिट काट्नु भनेझैँ हो। मुख्य सडकमा सार्वजनिक बसहरू खाली खाली कुदिरहेको दृश्य देखिन्छ। अचम्म लाग्छ।
हामी निराश भए पनि गाडी खोजीमा लाग्छौँ। सुजन आफ्नो चाबीको रिमोट थिच्छन्। संयोगले गाडी नजिक भएको थाहा पाउँछन्। गाडी भेटिएपछि सर्वप्रथम गाडीमा बसेर लामो सास फेर्छौँ।
धन्य प्रभु! भन्दै दुवै मुस्कुराउँछौँ। खुसी हुन्छौँ। रेगन नेसनल एयरपोर्टको गन्तव्य समाउँछौँ। सुजनलाई गाडीमा ग्यास (पेट्रोल) हाल्नू भनी १०० डलर दिने सोचे पनि हिम्मतै गर्न सक्दिनँ। क्यामरामा कैद तस्बिर पठाइदिन आग्रह गर्दै बिदा हुन खोज्छु।
सुजन थप्छन्- ‘अंकल! अब म एमबीबीएस पाँचबर्से कोर्स (कार्डियो चिकित्सक) पूरा गर्न न्युजर्सीको एक विश्वविद्यालयमा जानेछु छात्रवृत्तिमा दसैँपछि। बाल्टिमोरबाट सर्नेछु। न्युयोर्क नजिक छ। मेरो अनुकूल पारेर सपरिवार न्युयोर्क भ्रमणमा आउनुहोला। म छु। सम्पूर्ण प्रबन्ध गर्ने काम मेरो। समुद्र र स्वतन्त्रताको प्रतिमूर्ति (स्ट्याचु अफ लिबर्टी) को दर्शन गर्दै एक से ए तस्बिर कैद गरौँला नि।’
अमेरिकाजस्तो व्यस्त संसारमा यस्तो मान्छे विरलै पाइन्छ भन्दै मनमने सलाम गरेँ। एयरपोर्टभित्र जाने मुख आएपछि गाडीबाटै मसँग बिदाइको हात हल्लाए उनले।
१ बजेतिर फ्रन्टियर एयरको काउन्टरमा पुग्छ। कर्मचारी प्रायः इथोपियन रहन्छन्। छेउमा क्यानडा एयरको काउन्टर रहेछ। ४ बजे काउन्टर खुल्ने कर्मचारी बताउँछन्। १ देखि ६ बजेसम्म एयरपोर्टको प्रतीक्षालयमा बस्दा त्यहाँको परिवेश दिमागको डायरीमा कैद गर्छु। मोबाइल चलाई-चलाई दिन कटाउँछु। एयरपोर्टको मुखमा पुगी एक सेल्फी मार्छु। प्रतीक्षा कक्ष नजिक आएर एक इथोपियन कर्मचारी महिलाले नमाज पढ्दै घर्तीलाई ढोगिरहेको दृश्यले धर्मआस्थाप्रति उच्च सम्मान प्रकट गर्छु।
एफ ९५३४ नम्बरको फ्रन्टियर एयर गेट नम्बर ७, सिट ९ सी, जोन १ लेखिएको टिकट बोकी सुरक्षा जाँचतर्फ लाग्छु ४ः४५ तिर। सुरुमा म आए पनि पहिलो लाइनमा नबसेकाले ढिला पालो आउँछ। टीपीएसको सुरक्षाजाँच पास भएपछि गेट नं ७ को प्रतीक्षालयमा बस्छु।
साहिँली आत्तिएर फोन गर्छे एयरपोर्टमा लिन आउने कुरा गरेर। न्युयोर्क र डनवरको समय फरक भएकाले हामी भ्रममा पर्छौँ। मैले ९ बजे प्लेन ल्यान्ड गर्छ भनेको हुन्छु। प्लेनमा ६ बजे छिरे पनि ६ः४५ मा भुइँ छोड्छ। टिकटमा जोन १ लेखिएको भए पनि त्यो त सेनाको प्राथमिकता पर्दो रहेछ। हामी सामान्य त जोन ३ मा पर्ने रहेछौँ।
जे होस् साँझपखका केही दृश्यावलोकन गर्दै बादलमाथि हुँदै डेनवर ९ बजे पुग्छु। जेठीसासू र साहिँली ७ बजेदेखि रिसिभ गर्ने आएका रहेछन्। समयतातालिका बुझाउन नसक्दा यस्तो भयो। छोराले बारम्बार मेसेज (सन्देश) पठाउँदा बताएको थिएँ तर आमालाई भन्न बिर्सिएछु। जेठीसासूलाई धन्यवाद भन्दै १० बजे घर पुग्छु।
ई पासपोर्टले वासिङ्टन पुर्यायो। त्योभन्दा पनि बढी भ्रमणले रोचक तुल्यायो। बाल्टिमोर र वासिङ्टन डीसी भ्रमणमा साथीको छोरा भगवान् बनेर आई पूर्ण सहयोग गर्यो। सुजन डीभी परेर अमेरिका आएको चार वर्ष मात्र भएको रहेछ। न्यु जर्सीमा घर एमबीबीएसमा नाम निकाल्न सफल ठूलो उपलब्धि हो नेपालीका लागि सुजनले एमबीबीएसमा छात्रवृत्तिमा नाम निकाल्दा अग्रज नेपाली डाक्टरहरू बधाई दिन आएका रहेछन्। नेपाली समुदायका लागि त्यो ठूलो कुरा हो। अमेरिकी जनजीवनको केही अध्ययन गर्न पाएकोमा धन्य ठान्छु।