तेल अभिभमा पनि मनाइयो बुद्धजयन्ती

हिमाल प्रेस ३० वैशाख २०८२ १८:२२
40
SHARES
तेल अभिभमा पनि मनाइयो बुद्धजयन्ती

काठमाडौँ- इजरायलको तेल अभिभस्थित नेपाली दूतावासमा  २५६९औंँ बुद्धजयन्ती  विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ। राजदूत निवासमा आयोजित उक्त कार्यक्रममा इजरायलमा रहेका नेपाली समुदाय, विशिष्ट इजरायली अतिथि, विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि, बौद्ध धर्मावलम्बी तथा सञ्चारकर्मीको उपस्थिति थियो।

कार्यक्रममा सहभागीहरूको आवागमन सहज बनाउन एक नेपाली संस्थाको सहकार्यमा बस सेवासमेत उपलब्ध गराइएको थियो। गैरआवासीय नेपाली संघ इजरायल, नेपाल आदिवासी जनजाति महासंघ इजरायल तथा अन्य नेपाली संघसंस्थासँग समन्वय गरी कार्यक्रमको तयारी गरिएको थियो।

कार्यक्रमस्थल नेपाली कला, संस्कृति र बुद्ध धर्मको प्रचारप्रसार हुने सामग्री सजाइएको थियो। कार्यक्रम अवधिभर बुद्ध वन्दना, पूजाअर्चना तथा ध्यान गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा नेपाली राजदूत धनप्रसाद पण्डितले विशेष सम्बोधन गरेका थिए। यसैगरी भारतीय राजदूत जेपी सिंह र इजरायलका लागि नेपाली अवैतनिक वाणिज्यदूत नदाव वेन यहुदाले पनि मन्तव्य व्यक्त गरेका थिए।

दूतावासका उपनियोग प्रमुखकुमार बहादुर श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बुद्धसँग सम्बन्धित विविध विषयवस्तु समेटिएको भिडियोसमेत प्रदर्शन गरिएको थियो। नेपाली दूतावासले बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय समुदायमा नेपाल र बुद्धका सन्देश प्रचारप्रसार गर्ने अवसरका रूपमा लिएको जनाएको छ।

प्रकाशित: ३० वैशाख २०८२ १८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast