
काठमाडौँ- कृषि मन्त्रालयले रासायनिक मल खरिदका लागि दोब्बर बजेट बढाउन प्रस्ताव गरेको छ। मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा मल खरिदका लागि गत वर्षभन्दा दोब्बर रकम विनियोजन गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको हो।
वार्षिक साढे चार लाख टन मल अनुदानमार्फत आयात भइरहेको छ। यति परिमाणको मल आयात हुँदा पनि बजारमा अभाव छ। सरकारले चालु आवका लागि २७ अर्ब ९५ करोड रुपैयाँ रासायनिक मलमा छुट्ट्याएको थियो। वार्षिक लक्ष्यअनुसार ५ लाख ५० हजार टन मलको टेन्डर भइसकेको छ भने आधाभन्दा बढी आयात भएको छ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल समस्या समाधान गर्न वार्षिक ११ लाख मेट्रिक टन मल आवश्यक भएको बताए। उनले भने, ‘मागका आधारमा आगामी वर्षका लागि गत वर्षको भन्दा दोब्बर बजेट छुट्ट्याउनुपर्ने प्रस्ताव गरेका छौँ।’
अधिकारीका आयात भइरहेको मलले ४५ प्रतिशत मात्र धानिरहेको छ। ‘रासायनिक मलको माग ११ लाख मेट्रिक टन छ। सरकारले साढे चार टन मल जसोतसो खरिद गर्दै आएको छ। बजारमा मल हाहाकार हुँदा मन्त्रीले दैनिक गाली खानुपरेको छ’, उनले भने।
सरकार प्रांगारिक मल र जैविक मलको नीतिमा अगाडि बढिरहेको जानकारी दिँदै उनले प्रांगारिक मल उत्पादन नभएसम्म रासायनिक मल प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए। उनले भने, ‘खाद्य सुरक्षाका लागि पनि सरकारले सरकार प्रांगारिक मल र जैविक मललाई प्रथामिकतामा दिनुपर्छ।’
कृषि मन्त्रालयका अधिकारीहरू स्थानीय तहमा प्रांगारिक मल र जैविक मल उत्पादनका लागि आगामी वर्षको बजेटमा अनुदान दिने कार्यक्रम ल्याउन लागेको बताउँछन्। सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ को साढे ९ महिनामा २ लाख ८१ हजार टन रासायनिक मल आयात गरेको कृषि मन्त्रालयको तथ्यांकमा छ।
मलको खरिद कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीमार्फत हुँदै आएको छ। युरिया, डीएपी र पोटास गरी कृषि सामग्रीले २ लाख ४४ हजार ३ सय ७३ टन र साल्ट टे«डिङले ३६ हजार ९ सय ८ टन ल्याएका छन्। कृषि सामग्रीसँग ७० हजार १ सय २ टन र साल्ट ट्रेडिङसँग १० हजार ६ सय ७७ टन मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ।
कृषि मन्त्रालयका अनुसार साल्ट ट्रेडिङले कोलकाताबाट नेपाल ल्याउन ३० हजार टन युरिया मल लोड गरेको छ। यसगरी कृषि सामग्रीले खरिद गरेको २५ हजार टन डीएपी र ३४ हजार टन युरिया कोलकाता बन्दरगाहमा आइसकेको छ। ३० हजार टल मल जेठ पहिलो साता नेपाल ल्याइने तयारी रहेको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन्।