 
                             
                                            काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन्। उनहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरे।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भने, ‘अहिले घरघरमा अध्याँरो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दछु।’
नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ (दोङ) ले विद्युत् प्राधिकरणको लापरवाहीका कारण विद्युत्का क्षेत्रमा काम गर्ने कामदारको अनाहकमा मृत्यु भइरहेको बताउँदै भने, ‘हिजोका दिन लोडसेडिङ अन्त्य भएको थियो। पछिल्लो समय लोडसेडिङ भएजसरी झ्यापझ्याप बत्ती जान्छ। के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो?’
उनले नियमित विद्युत् आपूर्तिका लागि ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराए।
जनमत पार्टीका सांसद अब्दुल खानले यही शनिबार सर्लाहीको पर्सा–५ तसलिम अन्सारीलाई केही व्यक्तिले मारपिट गरी बङ्गुरको खोरमा थुनेको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।
उनले मुस्लिम समुदायको धार्मिक, सांस्कृतिक र पहिचानको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 