 
                             
                                            काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतशित विद्यार्थी फेल भएको विषयमा सामुदायिक विद्यालयका शिक्षकहरूमाथि टिप्पणी गरेका छन्। ५२ प्रतिशत विद्यार्थी फेल भएको विषयलाई शिक्षकहरूले सामान्य ठानेको ओलीको टिप्पणी छ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा ध्यान दिनुपर्छ भन्ने अनुभूति नगरेको बताएका हुन्।
सामाजिक सञ्जालमा एक शिक्षकले आफूलाई गाली गरेको प्रसंग सुनाउँदै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएकोबारे शिक्षकको बुझाइ नै यस्तो रहेको टिप्पणी गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘शिक्षा क्षेत्रमा हामीले प्रयत्न गरेका छौं। हिजो एकजना शिक्षकले बोल्दै गरेको मैले सुनेँ। मलाई गाली गरिरहनुभएको थियो किन गाली गर्नुभएको हो मैले बुझिनँ। यसरी गाली गरिरहनुभएको थियो। उहाँसँग मेरो जिन्दगीमा भेट पनि भएको पनि छैन होला। भेट्या पनि उहाँले छैन होला। तर गाली बेसरी गरिरहनुभएको थियो किन गरेको हो थाहा भएन।’
ती शिक्षकको भनाइप्रति प्रतिक्रिया दिँदै ओलीले भने,‘कसले सिकायो, कसले घोकायो, कसले पढायो। फेसबुक मात्रै हेर्नुहुन्छ कि क्या हो?’ शिक्षकलाई ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु नै काफी लाग्ने गरेको प्रधानमन्त्री ओलीको टिप्पणी छ।
‘उहाँ भनिरहनुभएको थियो ४८ प्रतिशत विद्यार्थी एसईईमा पास हुनु भनेको काफी हो, धेरै हो। ५२ प्रतिशत फेल हुने कुरालाई उहाँले एकदम इजी लिनुभएको छ,’ ओलीले भने। ओलीले थपे, ‘५२ प्रतिशत हम्रो योङ जेनेरेसनका होनहार प्रतिभाहरूको भविष्य एसईईमै १० कक्षामै चट बनाइदिएर, खत्तम पारेको उहाँले मज्जाको कुरा हो भन्नुहुन्छ।’
प्रधानमन्त्री ओलीले गत फागुनमा ५२ प्रतिशत फेल गर्ने प्रणाली नै रद्द गर्नुपर्ने र ५२ प्रतिशत अभिभावक र युवा वर्गको सपना १० कक्षामै समाप्त भएको बताएका थिए।
प्रधानमन्त्रीले भनेका थिए,‘यतिबिघ्न शिक्षक छन्। अस्थायीलाई स्थायी गरिदेऊ भनेको छ। करारलाई स्थायी गरिदेऊ भनेका छन्। तनखा बढाउ पुगेन भनेको छ। किन बढाउने तनखा ४८ प्रतिशत पास गर्न? ५२ प्रतिशत फेल गर्न? ५२ प्रतिशत युवा वर्गको सपना एसईईमै समाप्त। यस्तो गर्नुहुँदैन। म दावाका साथ भन्छु, हाम्रो युवा वर्ग लद्दु छैन, बुद्दु छैन। ट्यालेन्ट छ, जिनियस छ। पढाउन सुविधा दिँदैनौं, राम्रोसँग पढाउन सक्दैनौं, राम्रोसँग ज्ञान सम्प्रेषण गर्दैनौं, त्यो कमजोरी उसलाई बोकाउने?’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 