काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परावादी र अतितमूखी भएको प्रतिक्रिया दिएको छ।
शुक्रबार संसद भवनमा पत्रकारहरूसँग कुरा माओवादी केन्द्रका नेताहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।
माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कार्यक्रम परम्परावादी, अतितमूखी तथा आज र भोलिको प्रष्ट मार्गचित्र नदेखिएको बताए।
उनले नीति तथा कार्यक्रम सैद्धान्तिक रूपले पनि ठीक नदेखिएको जिकिर गरे। नीति तथा कार्यक्रममा अनुगमनको पनि अनुगमन गर्ने जस्तो व्यवस्था सैद्धान्तिक ढंगबाट बेठिक भएको उनले बताए।
सापकोटाले अनुगमनको पनि अनुगमनजस्तो व्यवस्थाले आफैँमाथि विश्वासको संकटको संकेत गरेको उल्लेख गरे।
नीति तथा कार्यक्रम हेर्दा बजेट पनि कर्मकाण्डी हुने प्रस्ट भएको उनले बताए। सापकोटाले नीति तथा कार्यक्रममा सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रणमा प्रष्ट दृष्टिकोण आउन नसकेको उल्लेख गरे।
त्यस्तै माओवादी केन्द्रका महासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम प्राण नभएको निरस जस्तो रहेको बताए। ‘सरकार जसरी अस्पष्ट ढंगले हिँडिरहेको छ, नीति तथा कार्यक्रम पनि त्यसैगरी अस्पष्ट छ,’ उनले भने।
नीति तथा कार्यक्रममा सरकारको प्राथमिकता प्रष्ट नभएको पुनले बताए। उनले भने,‘सरकारको प्राथमिकता हो भन्ने देखिएको छैन। संविधान संशोधनको कुरा गरे पनि एक वर्षमा गर्न सकेको छैन। सुशासन छैन, भ्रष्टाचार पनि नियन्त्रण हुन सकेको छैन।’
नीतिमा गन्तव्य स्पष्ट देखिएको छैन भने कार्यक्रम पनि आफूखुशी ल्याइएको बताउँदै उनले एकातिर अलमल र अर्कोतिर बजेटमा चलखेल गर्ने हिसाबले नीति कार्यक्रम आएको बताए।

                                             
                                             
                                             
                                             
                                             

