एनभीए भलिबलमा महिलातर्फ पुलिस र पुरुषमा हेल्प नेपाल च्याम्पियन

हिमाल प्रेस १५ जेठ २०८२ २०:४५ | Thursday, May 29, 2025
एनभीए भलिबलमा महिलातर्फ पुलिस र पुरुषमा हेल्प नेपाल च्याम्पियन

पोखरा– नवौँ पीएम कप एनभीए भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब च्याम्पियन बनेका छन्।

नेपाल भलिबलको संघको आयोजनामा बिहीबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा महिलातर्फ फाइनलमा पुलिसले न्यु डायमण्डलाई ३–१ सेटले पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको हो।

अपराजित पुलिसले फाइनलमा पहिलो सेट २५–२० मा आफ्नो पक्षमा पारेकोमा दोस्रो सेट डायमण्डले २५–२२ सेटले जितेर बराबरी खेलेको थियो। तेस्रो सेटमा पुलिसले २८–२६ र चौथो सेट २५–१४ मा सहजै जित हासिल गरी उपाधि रक्षा गर्न सफल भएको हो।

लिग चरणमा पनि पुलिसले डायमण्डलाई सोझो सेटमै हराएको थियो। लिगका पाँच खेलमा पुलिस अपराजित रहँदै १४ अंकका साथ शीर्ष रहँदै फाइनल यात्रा तय गरेकोमा डायमण्डले ४ जित र १ हारसहित १४ अंकका साथ दोस्रो हुँदै उपाधि भिडन्त कायम गरेको हो।

महिलातर्फ एभरेष्ट भलिबल क्लब तेस्रो र एपिएफ चौथो भए। तेस्रो स्थानको खेलमा एभरेष्टले ३–१ को जित हासिल गरेको हो। महिलातर्फ विजेता पुलिस र उपविजेता न्यू डायमण्ड काभा महिला क्लब च्याम्पियनसिपमा छनोट भए।

यस्तै, पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले घरेलु टिम गण्डकी प्रदेशलाई ३–२ सेटले हराउँदै उपाधि रक्षा गरेको छ। साविक विजेता हेल्प नेपालले यो जितसँगै माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपमा पनि छनोट हुने अवसर पायो।

रोमाञ्चक प्रतिस्पर्धामा सुरुआति दुई सेट जिते पनि घरेलु टिम बाँकी सेटमा चुक्दा यसपालि पनि उपविजेतामै सीमित भयो। हेल्प नेपालले २५–२२, २५–१४ र १५–८ को सेटमा जित हासिल गरेको हो।

गण्डकीले २५–२० र २७–२५ सेटसहित उत्कृष्ट सुरुआत गरेको थियो। दुवै टिम ३–३ जना पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रिएका थिए।

लगातार तेस्रोपल्ट उपाधि जितेको हेल्प नेपालले यसअघि तेस्रो र पाँचौँ संस्करणसहित हालसम्म पाँचपल्ट च्याम्पियन भएको छ। पुरुषतर्फ पुलिस तेस्रो भयो। उसले आर्मीलाई ३–१ सेटले पराजित गरेको हो।

राजधानी काठमाडौँबाहिर पहिलोपल्ट पोखरामा भएको प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले भाग लिएका थिए।

दुवैतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गरेको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए।

महिलातर्फ नेपाल पुलिसकी उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका मुशवहर रजा उत्कृष्ट भए। उनीहरुले जनही ५० हजार हात पारे।

प्रकाशित: १५ जेठ २०८२ २०:४५ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast