आईपीएल–२०२५ : आरसीबी ९ वर्षपछि फाइनलमा

हिमाल प्रेस १५ जेठ २०८२ २२:५७ | Thursday, May 29, 2025
आईपीएल–२०२५ : आरसीबी ९ वर्षपछि फाइनलमा

काठमाडौँ- रोयल च्यालेन्जर्स बेंगलुरू (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।

बिहीबार साँझ चण्डीगढमा भएको क्वालिफायर–१ मा पञ्जाब सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै आरसीबी फाइनलमा प्रवेश गरेको हो।

आईपीएल–२०२५ मा बलियो टोली ठानिएको पञ्जाबविरूद्ध बेंगलुरूले सहज जित हासिल गर्‍यो।

पञ्जाबले प्रस्तुत गरेको १०२ रनको लक्ष्य बेंगलुरूले २ विकेट गुमाएर १० ओभरमा प्राप्त गर्‍यो। बेंगलुरूका लागि फिल साल्टले ५६ र कप्तान रजत पटिदारले १५ रन बनाए। दुवै जना नटआउट रहे।

त्यस्तै विराट कोहलीले १२ र मयंक अग्रवालले १९ रनको योगदान दिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबको प्रदर्शन फितलो रह्यो। आईपीएलको यो संस्करणमा बलियो दाबेदारका रुपमा प्रस्तुत भएको पञ्जाब क्वालिफायरमा बेंगलुरूको बलिङसामु निरीह बन्यो।

पञ्जाबका लागि मार्कस स्टायोनिसले सर्वाधिक २६ रन जोडे। प्रवसिमरन सिंह र अजमुतल्लाह ओमरजाईले १८–१८ बाहेक अन्य कुनै पनि ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन्।

बेंगलुरूका लागि सुयास शर्मा र जौस हैजलवुडले ३–३, यस दयालले २ र भुवनेश्वर कुमार तथा रोमारियो सेफर्डले १–१ विकेट लिए। तीन ओभरमा १७ रन खर्चेर तीन विकेट लिएर सुयास प्लेयर अफ द म्याच भए।

सन् २००८ देखि सुरू भएको आईपीएल इतिहासमा बेंगलुरूले चौथोपटक फाइनलमा स्थान सुनिश्चित गरेको हो। यसअघि ९ वर्ष अगाडि बेंगलुरू फाइनलमा प्रवेश गरेको थियो। बेंगलुरू टीम यसअघि चारपटक फाइनलमा प्रवेश गरे पनि ट्रफी उचाल्ने मौका पाएको छैन।

शुक्रबार एलिमिनेटर चरणअन्तर्गत मुम्बई इन्डियन्स र गुजरात टाइटन्स भिड्दै छ। एलिमिनेटर चरणको विजेताले फाइनलका लागि क्वालिफायर–१ का उपविजेता पञ्जाबसँग क्वालिफायर–२ मा प्रतिस्पर्धा गर्नेछ।

क्वालिफायर–२ को विजेता टिमले फाइनलमा बेंगलुरूसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आगामी ३ जुनमा गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

प्रकाशित: १५ जेठ २०८२ २२:५७ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast