इजरायल जाने कामदार बढे

हिमाल प्रेस १६ वैशाख २०८२ १३:५३
4
SHARES
इजरायल जाने कामदार बढे

काठमाडौँ- इजरायलमा नेपाली कामदार जाने क्रम बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट चैतमा १ सय ९० जनाको भिसा आएको छ। वैशाख लागेपछि उनीहरू इजराय जान थालेका छन्।

सरकारले युद्धग्रस्त इजरायलमा कामदार पठाउन लगाएको प्रतिबन्ध हटाउँदै गत वर्षको असार ११ गते रोजगारीका लागि आवेदन आह्वान गरेको थियो। आवेदन स्वीकृत दिएकामध्ये परीक्षामा सहभागी दुई हजार १ सय १२ जनालाई चिट्ठाबाट छनोट गरिएको थियो। तीमध्ये ४ सय ३९ जना नेपाली कामदार इजरायल पुगेको र २ सय ५० जनालाई पठाउने तयारी रहेको वैदेशिक रोजगार विभागअन्तर्गतको इजरायल शाखाका निर्देशक गिरिराज ज्ञवालीले जानकारी दिए।

दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का लागि उनीहरू जिटुजी प्रणालीमार्फत इजरायल गएका हुन्। पुसपछि इजरायल कामदार जाने क्रमले निरन्तरता पाएको छ। ज्ञवालीले भने, ‘दुई महिनामै आधाभन्दा बढी अर्थात् ५५ प्रतिशतको करार सम्झौता आइसकेको छ।’

छनोट भएका एक हजारजनाको स्वास्थ्य परीक्षणमा ९ सय २३ जना उत्तीर्ण भएको शाखाले जनाएको छ। तीमध्ये चारजना पूर्वप्रस्थान अभिमुखीकरण तालिममा अनुपस्थित भएकाले पहिलो चरणमा ९ सय १९ जनाको करार सम्झौताको तयारी भइरहेको छ।

वैशाखभित्र ९ सय १९ जनाको करार सम्झौता आउने र बाँकीको जेठमा करार सम्झौता हुने शाखाले जनाएको छ। जसमा ३ सय ४ पुरुष र ७ सय १ जना महिला छन्।

चालु आर्थिक वर्षको साउनमा २८, भदौमा २६, असोजमा ३७, कात्तिकमा १११, मंसिरमा ९०, पुसमा ४७, माघमा ४६, र फागुनमा ३० जना पुनःश्रम स्वीकृति लिएर इजरायल गएका विभागको तथ्यांक छ। गत आर्थिक वर्ष २०८०÷८१ मा व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर एक हजार पाँचजना इजरायल गएका थिए।

गत साउनमा ११, भदौमा छ, असोजमा दुई, कात्तिकमा एक, मंसिरमा एक र फागुनमा एकजना व्यक्तिगत श्रम स्वीकृति लिएर इजरायल गएका छन्। सन् २०२३ अक्टोबरमा हमास र इजरायलबीच युद्ध सुरु भएपछि ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। त्यसपछि केही समयका लागि इजरायलमा श्रमिक पठाउने प्रतिबन्ध लगाएको छ। इजरायलले कामदारको जम्मा मागमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषलाई लैजाने गरेको छ।

प्रकाशित: १६ वैशाख २०८२ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast