दोहोरी साँझमा काम गर्ने महिलाको कथा

सुस्मिता बजगाईं १६ वैशाख २०८२ १५:१५
12
SHARES
दोहोरी साँझमा काम गर्ने महिलाको कथा एआई प्रयोग गरेर बनाइएको सांकेतिक तस्बिर

काठमाडौँ- गायिका शर्मिला कँडेल विगत १४ वर्षदेखि मनोरञ्जन क्षेत्रमा कार्यरत छिन्। बागलुङकी कँडेल हाल ठमेलको गामबेँसी दोहोरी साँझमा काम गर्छिन्। यही पेसामा रहेर उनले काठमाडौँमा दुई छोरीलाई पढाइरहेकी छन्।

शर्मिलाजस्तै धेरै महिलाले मनोरञ्जन क्षेत्रलाई जीविकोपार्जनको माध्यम बनाएका छन्। कोही अभिनय गरेर त कोही गायनमार्फत देश तथा विदेशमा कार्यक्रम गरेर जीविकोपार्जन गर्नेहरू पनि छन्।  उनीहरूमध्ये अधिकांश आफ्नो पेसाबारे खुलेर कुराकानी गर्न सक्दैनन्। साथै समाजमा यही पेसामा संलग्न छु भन्न चाहँदैनन्।  कोही जोखिम अवस्थामा रहे पनि उनीहरूको समस्या समाधान गर्न कठिन हुने सरोकारवालाहरूको बुझाइ छ।

मनोरञ्जन क्षेत्रअन्तर्गत दोहोरी साँझ, डान्स बार, क्याबिन, मसाज सेन्टरसहित पर्दछन्। कँडेलजस्ता समस्या भोग्ने थुप्रै श्रमिक महिला छन् जो काम गर्ने क्रमम यौन तथा श्रम शोषणजस्ता विभिन्न प्रकारको हिंसा भोगिरहेका छन्। बाध्यात्मक स्थितिले उनीहरु खुलेर बाहिर आउन नसक्ने शर्मिला बताउँछिन्।

पहिले शर्मिला पनि यो क्षेत्रमा काम गर्छु भनेर बोल्न सक्दिनथिन्। जब उनी रक्षा नेपालजस्ता संस्थासँग परिचित भइन्। आफूले भोगेको समस्यालाई तीनै संस्थामार्फत भएर हिंसा र शोषणविरुद्ध उजुरी दिने हौसला बढाइन्। अहिले उनी काम र आफूमाथि हुने अन्यायविरुद्धमा खुलेरै आवाज उठाउन सक्छिन्। ‘यतिको हिम्मत जुट्न त्यतिकै सहज थिएन। विभिन्न हन्डर र ठक्कर खाएकी छु। हाम्रो समाजमा मनोरञ्जन क्षेत्रलाई हेर्ने नजरमा अझै परिवर्तन हुन सकेको छैन’, उनले भनिन्।

पीडितसँग कुनै परिचय नभएकोले मनोरञ्जन क्षेत्रमा भइरहेको विभिन्न शोषणबारे उजुरी दिन समस्या हुने गरेको छ। ‘म लोकदोहोरी क्षेत्रमा काम गर्छु भन्ने आवाज मात्र हो। म फलानो संस्थासँग काम गर्छु भन्ने परिचयपत्र छैन’, शर्मिलाले भनिन्।

शर्मिलाले शोषणविरुद्ध विभिन्न संघसंस्था र प्रहरी कार्यालयसमेत धाइन्। मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाका पक्षमा रक्षा नेपाल, विश्वास नेपालजस्ता संघसंस्था आबद्ध छन्। समस्या ज्यूँ का त्यूँ रहेको र प्रभावकारी रुपमा काम नभएको गायिका कँडेल बताउँछिन्।

‘यो पेसामा सजिलै काम पाइन्छ भनेर महिला लाग्छन् भन्ने आरोप लगाइन्छ, तर आफ्नो कला र गला नभई यहाँ कोही टिक्न सक्दैन’, कँडेलले भनिन्। यस क्षेत्रमा कार्यरत श्रमिक महिलाका लागि कानुन निर्माण गर्नुपर्ने, अन्य क्षेत्रमा जस्तै सुविधा हुनुपर्ने पीडितहरुको माग छ।

अधिवक्ता रसना ढकाल यस विषयमा छलफल भएको पनि वर्षौँ भइसकेको बताउँछिन्।  एउटा विन्दुमा पुगेर टुंगिने कतै नदेखिएको र अपराधका स्वरूप परिवर्तन हुँदै गएको उनको भनाइ छ। ‘यस क्षेत्रलाई लक्षित कुनै कानुन निर्माण भएको छैन। त्यसले पनि यो क्षेत्र पछाडि पारिएको हो कि भन्ने लाग्छ। संविधानमा पनि श्रमिक ऐन भनेर उल्लेख गरिए पनि मनोरञ्जन क्षेत्रसँग सम्बन्धित कुनै कानुन बनेको छैन’, उनले भनिन्।

मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक कृष्ण बस्यालले शोषणमा परेका महिला तथा बालबालिकाको उद्धारपछि उनीहरू साहुविरुद्ध उजुरी दिन नमान्ने अवस्था रहेको बताइन्। ‘आफूलाई काम दिइरहेको व्यक्तिलाई मुद्दा हाल्दा काम खोज्न कता जाने त भन्ने समस्याले महिला डराउँछन्’, उनले भनिन्। त्यस्तै उजुरी दर्ता प्रक्रियामा व्यावसायीले संस्था नगर्ने, गरे पनि कर्मचारी होइन भन्ने, पीडितको उमेर पत्ता लगाउन निकै कठिन हुनेजस्ता समस्या भइरहेको उनको अनुभव छ।

मनोरञ्जन मात्र नभएर अन्य क्षेत्रमा पनि महिला हिंसापीडित भएका छन्। पछिल्लो समय महिलालाई प्रलोभनमा पारेर यस्ता काममा लगाइरहेको विषयमा उजुरी बढिरहेको एकद्वार संकट व्यवस्थापन केन्द्रकी परामर्शदाता तथा वीर अस्पतालमा कार्यरत नर्स सीमा राउत बताउँछिन्। महिला सशक्तीकरण नहुनु र गरिबीका कारणले पनि धेरै महिला पीडित भइरहेको उनको बुझाइ छ। हिंसा न्यूनीकरणका लागि सरकारले देशमै रोजगारको सिर्जना र पुनर्स्थापनामा जोड दिन आवश्यक रहेको उनले सुझाइन्।

‘महिलाहरु सशक्त भए आफैँले काम गर्न सक्थे। कमाउन सक्ने खण्डमा महिला हिंसामा पर्ने थिएनन्। यसका लागि पहिले समस्या सुल्झाउनतर्फ लाग्नुपर्छ’, उनले भनिन्।

अधिवक्ता कृष्णप्रसाद मरासिनीले घरबाट निकालिएका सम्बन्ध विच्छेद भएका, कतैबाट सरक्षण नपाएका महिला कतै जाने बाटो नहुँदा बाध्यात्मक परिस्थितिमा यस्तो पेसा अपनाएका पाउने बताए। नेपालको संविधानमा मनोरञ्जनात्मक क्षेत्रमा काम गरेका महिलालाई सम्बोधन गर्ने कानुनी व्यवस्था नभएकाले एक्सनमा काम गर्न नसकिरहेको उनी बताउँछन्।

‘घरेलु हिंसामा परेका, बलात्कृत महिला भनेर कानुन बनाएको छ तर मनोरञ्जनात्मक क्षेत्रमा काम गर्दा यो यो समस्या हुन्छ कानुनी व्यवस्था छैन। यस्तो अवस्थामा कतिपय बालबालिका अलपत्र पर्ने जन्मदर्ता पनि नहुने नागरिकता नबन्ने र अन्य सुविधाबाट पनि वञ्चित भइरहेका छन्। उनीहरूमा एकपछि अर्को पनि समस्या थपिरहेको हुन्छ’, उनले भने।

२०६५ सालमा सर्वोच्च अदालतले मनोरञ्जन क्षेत्रका लागि भनेर निर्देशिका तयार पारिदिएको छ। अधिवक्ता मञ्जु मरासिनीले निर्देशिका पालना नभएको  बताइन्। उनका अनुसार मनोरञ्जनात्मक पेसा दर्ता गर्ने प्रक्रिया पनि छ तर व्यवसायीहरू कानुनी दर्ता प्रक्रियामै नआउने समस्या  छ।

‘समाजले फरक दृष्टिकोणले हेर्छन् त्यहाँ यौन शोषणमात्रै हुन्छ भनेर गलत भाष्य तयार गरिन्छ। व्यक्तिले आफूमा भएको क्षमता प्रदर्शन गरेर जीविकोपार्जन गरिरहेका हुन्छन्। यो क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्छ। त्यसका लागि कानुन निर्माण गर्नुपर्छ भनेर अदालतबाट आदेश पनि भएको छ’, उनले भनिन्।

प्रकाशित: १६ वैशाख २०८२ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast