संस्मरण

‘शब्द रायरेम’को विमोचन र खगेन दाइको खप्की

ईश्वर पोखरेल १३ वैशाख २०८२ १४:२४
8
SHARES
‘शब्द रायरेम’को विमोचन र खगेन दाइको खप्की

वैशाख ६ गते शनिबार भूपाल राईको निबन्ध संग्रह ‘शब्द रायरेम’ को विमोचन कार्यक्रममा वक्ताका रूपमा खगेन दाइ (खगेन्द्र संग्रौला : वर्ष ७९) भन्दै थिए- ‘नेपालमा लेखकको संख्या ह्वात्तै बढेको छ। यो बेरोजगारीका कारणले बढेको हो। देशमा बेरोजगारी प्रभावकारी किसिमले घट्यो भने यो संख्या ९५ प्रतिशत घट्छ र अहिलेको संख्याको पाँच प्रतिशत लेखक मात्र लेखन/सिर्जन कर्ममा रहन्छन्।’

एकातिर नेपालमा कविलेखकहरू पाठकको संख्या घट्यो भनेर चिन्ता व्यक्त गरिरहेका छन्। सभासम्मेलनमा मुख्य स्वर ‘पाठक घटे’ भन्ने नै हुने गर्छ। खगेन दाइचाहिँ लेखक बढे मात्र भन्छन्, पाठकको बारेमा कुरै गर्दैनन् त!

खगेन दाइलाई पाठक घटेको जानकारी छैन कि कसो हो? मैले यस विमोचन कार्यक्रममा मसँगै रहेका साथी कवि दीपक चौलागाईतिर हेरेँ।

उनले भने- ‘पाठक त भए पो घट्नु! घट्नुभन्दा पहिले हुनुपर्‍यो नि। घट्नु भनेको विद्यमान संख्यामा कमी आउनु होइन र!’

मैले फेरि सोधेँ- ‘लेखक बढेका छन् भने यिनै लेखकले पढे पनि पाठकमा केही भरथेग त हाल्छन् नि!’

कसैले जवाफ दियो- ‘नेपाली लेखक कहाँ पढ्छन्! अरूको कृति पढ्यो भने लेखकको मौलिकता बाँकी रहँदैन भन्ने यिनलाई डर छ! नेपाली लेखकहरू आफ्नो मौलिकता जोगाउन सजग छन्; पत्रिकामा छापिएपछि आफ्नै रचनाचाहिँ दोहोर्‍याईतेहर्‍याई पढ्छन्; अरूको पढ्दैनन्।’

उता ‘साहित्यपोस्ट’ का अश्विनी कोइराला आफ्नो फेसबुक पेजमा किताबको ‘बिस्कुन’को फोटो पोस्ट गर्दै नेपाली साहित्यमा बर्सेनि झन्डै १०० जना नयाँ कविलेखक थपिने गरेको खुलासा गर्छन्।

त्यस दिन म राष्ट्रिय नाचघरमा सांगीतिक गजलको कार्यक्रम हेरेर/सुनेर मन मस्तिष्कमा गजल र स्वर/संगीतको रमरम महसुस गर्दै फर्किएको थिएँ। फर्किँदा नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी हेरुँ भन्ने पनि लाग्यो। प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा म मौका मिलाएर एकपटक पुग्ने गर्छु। यसपटक पनि पुगेँ। लेखक बढेको र पाठकको अत्तोपत्तो नभएको परिप्रेक्ष्यमा भाषासाहित्यसँग जोडिएका यी दुई संस्थाहरू नेपालमा पुस्तक प्रदर्शनीका लागि समय जुराउँछन् र वर्षमा कम्तीमा दुईपटक यस्तो प्रदर्शनी आयोजना गरेर आफ्नो संस्थागत कर्तव्य पूरा गर्छन्।
यो कर्मकाण्डजस्तै भएको छ।

किताब विक्रीमा ४० प्रतिशतसम्म छुटको कुरा हुन्छ। दर्शन, संस्कृति र समसामयिक साहित्यको स्वाद अझै जिभ्रामा छ। लौ, मौका यही हो भनेर दौडिन्छु। पुगेपछि थाहा हुन्छ- किताबको मूल्य धेरै उच्च। अनि त्यसमा छुट! किताबमा अंकित मूल्य हेर्छु; केही यता मलाई निजी प्रकाशनगृह र नेपाल प्रज्ञा प्रतिष्ठान (विचरा, साझा प्रकाशनको त के कुरा गर्नु र!) दुवै समान स्तरका व्यापारीझैँ लाग्छन्।

यसपटक भने म एउटा जानकारीसहित फर्किन पाएँ- प्रज्ञाले एकपटकको प्रदर्शनीमा लगभग ६ लाखको किताब बिक्री गर्दो रहेछ।’

यति रकमले प्रदर्शनीका लागि अतिरिक्त समयमा खटिएका कर्मचारीको चियाखाजा र भत्ता खर्च भुक्तान गरेपछि कति उब्रिन्छ होला!

र, तल प्रज्ञा प्रतिष्ठानको डबलीमा भूपाल राईको किताब विमोचनको कार्यक्रम चल्दै रहेछ।

भूपाल राई नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान कुलपति अर्थात् हाकिम।

काठमाडौँमा आज बिहानभरि पानी पर्‍यो। दिउँसो पनि आकाश ठुस्की बस्यो। बजार र काममा जाने यहाँका कतिपय मानिस बिहान छाता बोकेरै घरबाट निस्किए। नेपाल प्रज्ञा प्रतिष्ठानका हाकिम भूपाल राईचाहिँ पानी पर्‍यो भने कार्यक्रमै चिहिलबिहिल हुने स्थान प्रज्ञा प्रतिष्ठानको खुल्ला डबलीमा आफ्नो किताब विमोचनको कार्यक्रम राख्छन्। कार्यक्रममा सहभागीलाई जम्मा रातो चिया!!

साहित्यिक किताबको विमोचन कार्यक्रममा प्लास्टिकको कपमा रातो चियाले हात पोल्दै वक्ताको कुरामा राखिने चाख हिजोआज कता पाइन्छ हँ!

होइन, यी भूपाल राई पो के तालका हाकिम हुन्!!

त्यसमाथि यिनैलाई खगेन दाइको खप्की! भन्दै थिए- ‘तानाशाहलाई प्रश्न गर्ने बहुला!’

अनि भूपाल राईका नाममा फर्मान जारी गरे- ‘अर्को किताब लेख्छौ भने कम्तीमा यस संग्रहको स्तर धान्ने किसिमले लेख्नू! नभए नलेखे पनि हुन्छ।’

म पुग्दा मञ्चमा गोपाल ठाकुर बोल्दै रहेछन्। मैले सोधेँ- ‘वक्ता को हो?’ कसैले जवाफ दियो- ‘डम्बर खतिवडा।’ मैले न डम्बर खतिवडालाई नजिकबाट प्रत्यक्ष देखेको; न त गोपाल ठाकुरलाई। उनले बोलुन्जेल मैले उनलाई डम्बर खतिवडा मानेरै सुनेँ। र, जब गोपाल ठाकुर हुन् भन्ने जानकारी भयो; अचम्म लाग्यो; विमातृभाषी भईकन पनि कत्ति स्तरीय र शुद्ध नेपाली उच्चारण उनको!!

खासमा त्यस विमोचन कार्यक्रममा डम्बर खतिवडा गएकै रहेनछन्; डम्बर चेम्जोङ गएका रहेछन् ।

नामको यो रहस्यको रोमाञ्चकारी गुजुल्टो फुकेपछि एक्लै नहाँसेर भयो!

ठाकुरपछि खगेन दाइ बोले।

खासमा खगेन दाइलाई प्रज्ञाको डबलीको सिँढीमा टुक्रुक्क बसेको देखेपछि मलाई लाग्यो- वक्तामा पक्कै यी दाइ पनि होलान्। यिनको सिर्जनामा पनि र भाषणमा पनि गहिरो अभिरुचि छ- मेरो। वास्तवमा खगेन दाइको बोलीमा समकालीन नेपाली राजनीति र साहित्यका बारेमा निर्भीक आवाजमा सटिक तथ्य अनुभव गर्छु- म। यी ‘जूनकीरीको संगीत’का लेखक। र, ‘जूनकीरीको संगीत’चाहिँ नेपाली समाजमा विद्यमान छुवाछुत र रुमानी क्रान्तिकारिताको सटीक चित्रण भएको उपन्यास। म समाजशास्त्रको अध्ययन/अध्यापनमा लागेको मान्छे। नेपाली समाजको एक कठोर वास्तविकतालाई सुस्पष्ट आवाज दिएकाले पनि मलाई यो उपन्यास बढी मन परेको होला। यो उपन्यास पढेपछि मैले समाज र साहित्यमा रुचि भएका मेरा साथीहरूसँग भन्न थालेँ- खगेन दाइको लेखकीय सामर्थ्य बुझ्ने हो भने ‘जूनकीरीको संगीत’बाटै पढ्न सुरु गर्नुपर्छ।’

यही कार्यक्रममा भेटिएका रसुवाली कवि भन्छन्- ‘मैले तपाईँका रचना पढेको छु।’
‘कहाँ ?’- मेरो प्रश्न।
उनको जवाफ- ‘तपाईँको फेसबुक पेजमा।’
अनि केही रोकिएर सोध्छन्- ‘किताब निकाल्नु भा’ छैन?’
भन्छु- ‘म समाजशास्त्रको मान्छे। विद्यार्थीका लागि समाजशास्त्रका केही थान किताब लेखियो। अब साहित्यिक किताव त निस्केला; ननिस्केला!’

साहित्यमा कवि/लेखकको संख्या ह्वात्तै बढेको र पाठकको अत्तोपत्तो नभएको नेपाली साहित्यको यस मौसममा किताब निकाल्नुभन्दा पहिले विमोचनमा बाँडचुँड गरेर बाँकी रहेका आफ्ना कृति घरको कुन कुनामा थुपार्ने भन्ने बारेमा परिवारका सदस्यहरूका बीचमा गम्भीर घरसल्लाह हुनुपर्छ।

प्रकाशित: १३ वैशाख २०८२ १४:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast