स्कुल थिएटरमा ६ नाटक मञ्चन, कुनको कथावस्तु कस्तो?

सुनील पोखरेलले भने- नाट्यकर्मीमा काव्य चेत हुनुपर्छ

विवेक विवश रेग्मी ९ वैशाख २०८२ १३:१३
54
SHARES
स्कुल थिएटरमा ६ नाटक मञ्चन, कुनको कथावस्तु कस्तो?

इटहरी– स्कुल थिएटरको १० औँ शृंखला सकिएको छ। वैशाख ७ र ८ मा ६ नाटक मञ्चन गरी  थिएटरको १० औँ शृंखला समापन गरिएको हो।

शृंखलामा वरिष्ठ नाट्यकर्मी सुनील पोखरेलले नाटक हेरे। नाटक हेरिसकेपछि उनले नाटक गर्ने आममान्छेमा काव्यको चेत हुनुपर्ने बताए। ‘नाटक गर्ने सबै मानिसमा काव्यको चेत हुनुपर्छ। कविता बुझ्ने मानिसले अभिनय गरेको नाटक जीवन्त हुन्छ,’ पोखरेलले भने, ‘म ईश्वरलाई धन्यवाद भन्छु, सोनु र यी विद्यार्थी भाइबहिनीलाई पनि।’

कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीको नेतृत्वमा हरेक वर्ष स्कुल थिएटर सञ्चालन हुँदै आएको छ। ‘यो एउटा संस्कारको निर्माण हो। यसले समाजलाई सुसूचित र संस्कारयुक्त बनाउने एउटा अभ्यास हो,’ जयन्तीले भने, ‘यस्ताे अभ्यास अरूतिर छैन। यसले स्कुलका बालबालिकालाई पनि क्रियटिभ बनाउँछ।’

स्कुल थिएटरमा विद्यार्थी नर्सरीदेखि स्नातक तहसम्म अध्ययनरत छन्। नाटकमा सहभागी कलाकारले विभिन्न कथाका ६ नाटक मञ्चन गरे। पहिलो नाटक ‘चर्चै-चर्चा’ मञ्चन गरिएको थियो।

नाटक सामाजिक सञ्जालको प्रयोग र त्यसबाट हुने खतराको विषय उठाइएको थियो। समृद्धि दुलालले निर्देशन गरेको नाटक अदिति दाहालले सहनिर्देशनमा बनेको थियो। नाटकमा सुदा बस्नेत, साम्राज्ञ दाहाल, प्रयुष भट्टराई, डेमो पौडेल, आयांश नेपाल, समर्पण पोख्रेल, अदिति दाहाल र समृद्धि दुलालले अभिनय गरेका थिए। साथै, डेभिड विष्ट र रोशन आचार्य ‘मेन्टर’ को भूमिकामा थिए।

दोस्रो नाटक ‘दाँतको दुःख’ मञ्चन भयो। श्रेया भट्टराईले निर्देशन गरेको नाटकमा बालबालिकाको दाँतसम्बन्धी दुःखलाई चित्रण गरिएको थियो। नाटकमा स्पर्श राई, अशु नेपाल, आज्ञा कर्ण, काव्या चौलागाईं, काव्या साह, श्रद्धा दाहाल, सन्दर्भ पोख्रेल, प्रियन्स ढकाल, अन्वेष न्यौपाने, तपस्या तिम्सिना, आयुश्री घिमिरे, श्रीया भट्टराई, प्रसुश ओझा, विश्वजित अग्रवाल र अनुरोध राईले अभियन गरे। नाटकमा ‘मेन्टर’ को रूपमा विपन कार्की थिए।

तेस्रो नाटक ‘छोरी’ मञ्चन भयो। गरिब परिवारमा जन्मिनु, विद्यालय जानु र समाजले छोरीलाई गर्ने अवहेलनाको कथा नाटकमा प्रस्तुत गरिएको थियो। तीनै छोरीले संघर्षपूर्ण जीवनशैली बिताउँदै सरकारी सेवामा नाम निकालेपछि समाजको दृष्टिकोणमा आएको परिवर्तन देखाउँदै नाटकमा समाजको वास्तविक चित्रण प्रस्तुत गरिएको थियो।

रिदिमा कालाखेतीको निर्देशन रहेको नाटकको सहनिर्देशन संस्कृति दाहालले गरेकी हुन्। नाटकमा खुसी धमला, प्रार्थना निरौला, सुभिरा श्रेष्ठ, रोनक अग्रवाल, क्षरेयान्स पोख्रेल, आयुष्मा त्रिताल, आहाना योसा सुवेदी, रिदिमा कालाखेती, रिपेश पहाडी र संस्कृति दाहालले अभिनय गरे। नाटकमा ‘मेन्टर’ को भूमिकामा जैनव खान थिए।

चौथो नाटक ‘ऐना’ मार्फत आफ्ना अभिभावकले गरेको कर्मलाई छोराछोरीले पछ्याउने र सही कर्म गर्नका निम्ति अभिभावकलाई नै प्रेरित गर्ने भन्ने सन्देश दिइएको थियो। सभ्यता किरातीले निर्देशन गरेको नाटकका सहनिर्देशक अभि पोखरेल हुन्। नाटकमा प्रत्युस थापा मगर, आक्रिश ढुंगाना, श्रीद्धि कटवाल, आरजु तिमल्सिना, भाव्यश्री दाहाल, जया मगर, अभि पोखरेल र सभ्यता किरातीले अभिनय गरे। ‘मेन्टर’ को भूमिकामा सिपि राई थिए।

पाँचौँ अर्को नाटक ‘उल्टो बाटो’ मा मकै पोल्ने आमाको कथालाई प्रस्तुत गरिएको थियो। सडक किनारमा बसेर मकै पोल्दा नगरपालिकाले दिने हैरानी, ग्राहकको बेवास्ता, ती आमाले बुहारीबाट पाएको अवहेलना, तिरस्कार सहँदै अन्त्यमा वृदाश्रममा पुगेर मृत्युवरण गर्नुपरेको कथालाई शृंखलाबद्ध देखाइएको थियो।

अग्रता बास्तोलाले निर्देशन गरेको नाटक कृषा भट्टराईले सहनिर्देशन गरेकी हुन्। नाटकमा नुनुस्का घिमिरे, कृषा भट्टराई, रोशिका कालाखेती, दृश्य काफ्ले, भिजन घिमिरे, अन्सल चापागाईँ, काव्या जयन्ती, अग्रता बास्तोला र विशाल न्यौपाने खत्रीले अभिनय गरेका थिए। स्वेता कार्की र हिमाल निरौला ‘मेन्टर’ को भूमिकामा थिए।

छैटौँ नाटक ‘रंग’ मा विभिन्न प्रकारका रंगले जीवनमा प्रभाव पार्ने विषय उठाइएको थियो। पुण्यका राईले निर्देशन गरेको नाटक रिजन पोखरेलले सहनिर्देशन गरेका थिए। नाटकमा प्रपन्न भट्टराई, सिमान्त गुरुङ, अभया गुरागाईं, आशु अधिकारी, नृजा पौडेल, सफल भट्टराई, आर्यन घिमिरे, रिजन पोख्रेल, विषम पौडेल र पुण्यका राईले अभिनय गरे। नाटकमा ललिता विश्वकर्माले ‘मेन्टर’ को भूमिका निर्वाह गरेका छन्।

१५ दिनसम्म चलेको नाट्य कार्यशालामा सहभागी सबै कलाकार विद्यालयका विद्यार्थी हुन्। विद्यालय छुट्टीको समयमा रचनात्मक काम गर्न र नाटकमा सहभागी हुन प्रेरित गर्ने उदेश्यले करिब १५ वर्षयता कलालय इटहरीले प्रशिक्षणसहित नाटक प्रस्तुत गर्दै आएको छ।

यसपटक विकास श्रेष्ठ, प्रजल दुलाल र राजा श्रेष्ठले नाट्य प्रशिक्षण दिएका थिए। उनीहरू पनि यसअघि स्कुल थिएटरबाटै नाटकमा प्रवेश गरेका हुन्। सम्पूर्ण आशिष पुरीको संयोजकत्वमा नाटक प्रस्तुत भएको हो।

 

प्रकाशित: ९ वैशाख २०८२ १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast