
चितवन- यहाँस्थित डिभिजन वन कार्यालयमा १०२ मुद्दा फछ्र्योट हुन बाँकी छन्। आर्थिक वर्ष २०७६/७७ देखिका ती मुद्दा फछ्र्योट हुन बाँकी रहेका हुन्।
आव २०७६/७७ देखि चालु आवको चैत मसान्तसम्मका १६९ वटा मुद्दामध्ये ६७ मुद्दा मात्रै फछ्र्योट भएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार ती मुद्दामध्ये १२ वन्यजन्तुसम्बन्धी मुद्दा हुन भने अन्य वन पैदावारसम्बन्धी रहेका छन्।
आव २०७६/७७ मा १३ , २०७७/७८ मा ३७, २०७८/७९ मा ४३ मुद्दा दर्ता भएका थिए। यस्तै २०७९/८० मा २७ , २०८०/८१ मा २९ र चालु आवको हालसम्म २० मुद्दा दर्ता भएका छन्।
दर्ता भएका मुद्दाका २३० प्रतिवादी पक्राउ गरिएको छ । तीनै मुद्दाका ९९फरार प्रतिवादी रहेको उनले जानकारी दिए। मुद्दामा संलग्न व्यक्तिहरुबाट नौ मोटरसाइकल र ५३ साइकल बरामद गरिएको छ।
कार्यालयमा मुद्दा दर्ता हुने भए पनि मुद्दाको फछ्र्योट गर्ने विषयमा दुविधा हुँदा लामो समयदेखि थन्किएर बसेका मुद्दाहरु गत आवबाट मात्रै फछ्र्योट हुन सुरु गरेको हो। फौजदारी संहिता आएसँगै रोकिएको फछ्र्योट गत आवमा मन्त्रालयको परिपत्रअनुसार फैसला गर्न थालिएकाले मुद्दा फछ्र्योट संख्या कमी भएको हो।
कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार कानुनल सरकारको डिभिजन वन अधिकृतले मुद्दा हेर्ने भनेको र अहिले डिभिजन वन कार्यालयहरू प्रदेश सरकारमा रहेकाले दुविधा हुँदा मुद्दाको किनारा लगाउन ढिला भएको हो। उनले भने, ‘गत वर्ष मन्त्रालयको परिपत्र आए पछि काम सुरु गरेका हौँ।’
यसअघि डिभिजन वन कार्यालयले मुद्दाहरू अदालतमा पठाउनुपर्ने र अदालतमा मुद्दाका चाप बढी हुने भएकाले ढिला भएको उनले बताए। डिभिजन वन कार्यालयले मुद्दा हेर्न पाउने भएपछि गत वर्ष र यस वर्षमा मुद्दाको फछ्र्योट हुने क्रम बढेको उनको भनाइ छ।