मन्त्री पौडेल ‘आबुधाबी ग्लोबल हेल्थ वीक–२०२५’ मा सहभागी

हिमाल प्रेस ६ वैशाख २०८२ १८:१६
18
SHARES
मन्त्री पौडेल ‘आबुधाबी ग्लोबल हेल्थ वीक–२०२५’ मा सहभागी

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल आबुधाबीमा आयोजना भएको ‘आबुधाबी ग्लोबल हेल्थ वीक–२०२५’ मा सहभागी भएका छन्।

यस क्रममा मन्त्री पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ‘ग्लोबल वीक’ को विभिन्न कार्यक्रममा सहभागी भएका हुन्।

सम्मेलनका विभिन्न बैठकहरूमा आबुधाबीका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले राजदूतावासका तर्फबाट सहभागिता जनाएका थिए।

विश्वका ९० देशका एक हजार ९ सय प्रतिनिधि सहभागी भएको यो सम्मेलनमा विभिन्न देशका दुई सय विशेषज्ञ वक्ताहरूको सहभागिता थियो भने विश्व स्वास्थ्यसम्बन्धी प्रदर्शनीहरूको आयोजना गरिएको थियो।

प्रत्येक वर्ष आयोजना हुने ‘आबुधाबी हेल्थ वीक’ सम्मेलनले आपसी सहकार्य, सहयोग, आधुनिक प्रविधि र दिगोपनको प्रयोगमार्फत विश्व स्वास्थ्य कल्याण केन्द्रको रूपमा नेतृत्वदायी प्लेटफर्म प्रदान गर्ने कार्य गरिरहेको दूतावासले जनाएको छ।

सम्मेलनका क्रममा स्वास्थ्यमन्त्री पौडेल र आबुधाबीका स्वास्थ्य विभाग प्रमुख मन्सुर इब्राहिम मन्सुरीबीच शिष्टाचार भेट भएको छ।

भेटका क्रममा स्वास्थ्यमन्त्री पौडेलले ठूलो संख्यामा त्यहाँ कार्यरत नेपालीहरूको स्वास्थ्य रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र यूएई सरकारबाट समेत स्वास्थ्य सुरक्षाका लागि सहयोगको अपेक्षा गरेको बताए।

उनले प्रस्थान गर्नुअघि तथा फर्केपश्चात सरकारले समेत श्रमिकको स्वास्थ्य रक्षाका लागि चालेको कदममा यूएई सरकारबाट सहयोगको अपेक्षा गरे।

मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँचअन्तर्गत स्वास्थ्य बिमा प्रणाली लागू गर्न चाहेको भन्दै नेपालमा मृगौला डायलसिस केन्द्रहरूको स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्न आग्रहसमेत गरे।

यूएईका स्वास्थ्य विभाग अध्यक्ष मन्सुरीले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न तत्पर रहेको र दुई देशबीच सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्न आवश्यक रहेको बताए।

उनले यूएईमा रहेका नेपाली श्रमिकहरूको प्रशंसा गर्दै नेपालसँगको सम्बन्धलाई थप मैत्रीपूर्ण र प्रगाढ बनाउन यूएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी तयार भएको तर यसका लागि नेपाल सरकारबाट उपयुक्त वातावरण र कानुनी आधार तयार हुन आवश्यक रहेको समेत बताएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ।

स्वास्थ्यमन्त्री पौडेलको यूएईमा आइतबार आयोजना हुने ‘नेपाल फेस्टिभल–२०२५’ मा प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast