शिक्षक आन्दोलनप्रति सरकारको मौनतामा संगठन अध्यक्ष अधिकारीको आक्रोश

हिमाल प्रेस ४ वैशाख २०८२ ६:४९
192
SHARES
शिक्षक आन्दोलनप्रति सरकारको मौनतामा संगठन अध्यक्ष अधिकारीको आक्रोश

काठमाडौँ- एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले सरकार र सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूप्रति तीब्र असन्तुष्टि जनाउँदै शिक्षक आन्दोलनप्रति देखिएको मौनतामाथि प्रश्न उठाएका छन्।

अध्यक्ष अधिकारीले आज शिक्षक कर्मचारीले राखेका मागहरूप्रति सरकार र सत्तारूढ दलहरूले चासो नदिएको भन्दै आक्रोश पोखेका हुन्।

‘हामी शिक्षक कर्मचारीहरूले मन्त्री मण्डलको बैठकतिर नियाल्यौं, निराश बनायो। दुई दलीय सरकार सञ्चालन उच्चस्तरीय संयन्त्रको बैठक नियाल्यौं, निराश बनायो,’ अध्यक्ष अधिकारीले भने।

उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सत्तारूढ गठबन्धनभित्रको तिक्तता र सक्रियतालाई उल्लेख गर्दै शिक्षकका मुद्दामा भने समान गम्भीरता नदेखिएको गुनासो गरेका छन्। ‘एउटा कर्मचारी नियुक्तिमा गठबन्धनमा दरार आयो तर हामी शिक्षक कर्मचारी सडकमा आएको १६ दिन भयो, गठबन्धन दलका शीर्ष नेताहरूले हाम्रो मोलमोलाई गरेनन्,’ उनको भनाइ छ।

अध्यक्ष अधिकारीले ४ लाख शिक्षक कर्मचारीको आवाजलाई बेवास्ता गरिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। ‘धिक्कार हामी ४ लाख शिक्षक कर्मचारीहरू? एउटा गभर्नरको मूल्य जति रहेनौं?’ भन्दै उनले सरकारले शिक्षकहरूलाई दोहोरो मापदण्डमा हेरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष अधिकारीले आन्दोलनलाई अझ सशक्त बनाउन आज (बिहीबार) दिउँसो १२ बजे माइतीघर मण्डलामा सबै शिक्षक कर्मचारीलाई उपस्थित हुन आह्वान गरेका छन्। ‘बलियो उपस्थिति, बलियो आन्दोलन, बलियो उपलब्धि’ भन्ने नारासहित आन्दोलनलाई अझ व्यापक बनाउन नेतृत्वले जोड दिएको छ।

शिक्षक संगठनले लामो समयदेखि पेसागत सुरक्षा, उचित सेवा सुविधा र अधिकार सुनिश्चित गर्न विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ। तर सरकार र सम्बन्धित निकायहरूले माग पूरा गर्न उदासीनता देखाएको भन्दै संगठन आक्रोशित बनेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast