कोशीको पर्यावरणमा रत्तिइरहेका दुई गैँडा [तस्बिरहरूसहित]

विवेक विवश रेग्मी १ वैशाख २०८२ २१:४३
74
SHARES
कोशीको पर्यावरणमा रत्तिइरहेका दुई गैँडा [तस्बिरहरूसहित]  कोशी टप्पुको पर्यावरणमा रमाइरहेका पुष्पा र अञ्जली। सबै तस्बिर : विवेक विवश रेग्मी

इटहरी– २०८० असोज १० मा चितवन राष्ट्रिय निकुञ्जबाट दुई गैँडा कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको थियो। वंश विस्तारका लागि चितवनबाट गैँडा ल्याइए पनि दुई गैँडा अहिले कोशी टप्पुको पर्यावरणमा रत्तिइरहेका छन्। दुवै गैँडा पोथी हुन्। पुष्पा र अञ्जली नामक गैँडा दिनभर चरनमा रहन्छन्।

कोशी टप्पुको पश्चिम सेक्टरस्थित सप्तरीको पत्थरीमा रमाइरहेका पुष्पा ६ र अञ्जली ५ वर्षका छन्। कहिलेकाहीँ उनीहरू भाले खोजेर छटपटीमा पर्छन्। यसअघि चितवन राष्ट्रिय निकुञ्जबाटै भाले गैँडा ल्याइए पनि यहाँको पर्यावरणमा रम्न नसकेपछि फिर्ता पठाइएको थियो।

पश्चिम सेक्टरका प्रमुख जीवन पोखरेलका अनुसार भाले खोेजेका बेला यी गैँडा खोर नै भत्काएर परपरसम्म पुग्ने गरेका छन्। ‘एकपटक पूर्वतर्फ लागेका थिए। खोज्दै जाँदा पानीमा बसिरहेका रहेछन्। कहिले दक्षिण डुबान पुग्छन्, कहिले पश्चिम कुसाहालाई छुने नदी छेउ पुग्छन्,’ पोखरेल भन्छन्, ‘चितवनबाट भाले गैँडा ल्याए पनि यिनीहरूसँग बस्दै बसेन, सहरतिर मात्रै कुद्‌यो।’

चितवनबाट ल्याइएको उक्त गैँडा पुष्पा र अञ्जलीको छेउछाउ नै नपर्ने र मान्छे भएतिर, सहर, बजारमा मात्रै कुद्ने गरेपछि फिर्ता पठाइएको थियो।

राति उज्यालो भएतिर मात्रै जाने गरेकाले आजितजस्तै बनाएको थियो। चितवनको पर्यटकीय क्षेत्रमा रहेका भाले गैँडा नभए पनि पुष्पा र अञ्जली भालेकै पर्खाइमा छन्।

‘गैँडाका लागि ठूलो ठाउँ चाहिन्छ। यो भीमकाय जनावर हो। बर्खाको समयमा कोशीमा बाढीका कारण त्यतातर्फ छोड्न सकिँदैन,’ पोखरेलले भने, ‘गैँडाका लागि ठूलो र घाँसे मैदान आवश्यक परेप नि यहाँ सीमित ठाउँमा बानी पर्न खोजिरहेको छ।’

कार्यालयको उत्तरी क्षेत्रमा रहेको एक घाँसे मैदानमा दिनभरजसो चरनमा रहने गैँडालाई डाले घाँस पनि दिइने गरिएको छ। गैँडाले पाउलिँदै गरेको पीपल असाध्यै मन पराउँछ। साकाहारी गैँडालाई पीपलको पातबाहेक केराका पात, आँपको घाँस, खयर, शमी र टाँकीका स्याउला दिइन्छ।

मान्छेसँगै हुर्किएका यी गैँडाले मान्छेलाई हत्तपत्त आक्रमणै गरिहाल्दैनन्। उसले रमाइरहेको अवस्थामा, एकअर्कामा खेलिरहेको अवस्थामा अचानक मान्छे पुगेर जिस्क्याएमा आक्रमण गर्न सक्ने विज्ञहरू बताउँछन्।

जोडी गैँडाको साथी एकअर्का मात्र छन्। बिहानको समयमा चर्ने र घाम लागेपछि पानीमा बसेर एकअर्कामा रमाउने गरेको गैँडाले रातिको समयमा चर्न रुचाउँछ। दिनमा घाम लागेको समयमा भने निदाउने गरेका छन्।

सरकारले रासनपानी नपठाउँदा यी गैँडा चरनमै निर्भर छन्।  राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार शान्त स्वभावको गैँडाको गर्भधारणको समय भए पनि भाले गैँडा नहुँदा पुष्पा र अञ्जली आफैँ रत्तिइरहेका छन्। उनले भने, ‘वंश विस्तारका लागि यसअघि चितवनबाट भाले गैँडा ल्याइए पनि यहाँको वातावरणमा रमाउन नसकेपछि पुनः फिर्ता पठाइएको छ।’

मेघौली नामको भाले गैँडा १० चैत २०८० मा चितवनबाट ल्याइएको चार दिनपछि नै फिर्ता गरिएको उनले बताए। ‘पोथी गैँडा ल्याएको ६ महिनापछि भाले गैँडा ल्याएपनि चार दिनपछि नै फिर्ता गरियो,’ उनले भने, ‘खानपिन पनि रुचाएन। सहर डुलिरहने बानी भएकाले बिरामी हुन्छ कि भन्ने हिसाबमा हामीले पठाएका हौँ।’

उनका अनुसार अहिले बिहान ५ बजेदेखि आरक्ष क्षेत्रभित्र आफ्नो खुसीले चरनमा जाने पुष्पा र अञ्जली साँझमा मात्रै आफ्नो बासस्थानमा फर्कन्छन्। साँझमा पनि हत्तपत्त बासस्थानमा फर्किन नमान्ने गैँडालाई गोठालाले फकाएर बासस्थानमा ल्याउने गरेका छन्।

दुई गैँडाका कारण पर्यटन प्रबद्र्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ। कोशी टप्पु क्षेत्रमा यसअघि विज्ञहरूले यहाँको प्राकृतिक वातावरण अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि गैँडा ल्याउने प्रक्रिया अगाडि बढाइएको थियो। विज्ञहरूको अध्ययनले आरक्षमा गैँडा प्रजनन केन्द्रसमेत बन्ने औँल्याएको थियो।

कोशी प्रदेशको सुनसरी, उदयपुर र मधेश प्रदेशको सप्तरी जिल्लामा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र एक सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। जहाँ लोपोन्मुख प्रजातिका वन्यजन्तु, चराचुरुंगी र वनस्पति छन्।

    

प्रकाशित: १ वैशाख २०८२ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast