आईसीसी यू–१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरूआत

हिमाल प्रेस ३१ चैत २०८१ १९:०२
10
SHARES
आईसीसी यू–१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरूआत तस्बिर : क्यान

काठमाडौँ- नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा विजयी सुरूआत गरेको छ।

मुलपानी क्रिकेट मैदानमा आइतबार यूएईलाई पाँच रनले पराजित गर्दै विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरूआत गरेको हो। नेपालले डकवर्थ लुइस पद्धति (डीएलएस) का आधारमा यूएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले दुई अंक हासिल गरेको छ।

नेपालले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरमा सात विकेटको क्षतिमा १७१ रन बनाएको थियो। वर्षा र खराब प्रकाशका कारण खेल रोकियो। त्यसपछि पुनः खेल सञ्चालन गर्न सम्भव नभएपछि डीएलएस पद्धति अपनाइएको थियो। डीएलएस पद्धतिका आधारमा नेपाललाई विजेता घोषणा गरियो।

यूएईका लागि ययिन किरण राईले सर्वाधिक १०४ बनाए। ९६ बल खेलेका उनले आठ चौका र पाँच छक्का प्रहार गरे। सतकीय इनिङ खेलेका उनी नटआउट रहे।

यसैगरी मोहम्मद रायन खानले ३५, करण धिमनले १५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि अशोक धामी र सन्तोषकुमार यादवले २–२ तथा अभिषेक तिवारी र कप्तान नरेन भट्टले १–१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै दुई सय रनको योगफल खडा गरेको थियो। वर्षाका कारण खेललाई ४० ओभरमा झारिएको थियो।

नेपालका लागि नरेन भट्टले सर्वाधिक ६७ रन बनाए। ७५ बल सामना गरेका उनले सात चौका प्रहार गरे। यसैगरी दिलसद अलीले ३४, शहिल पटेलले ३२, नीरजकुमार यादवले १८, सन्तोष यादवले ११ र अशोक धामीले १० रन बनाए।

यूएईका लागि युदिश सुरीले ३, युग शर्मा र शलोम डी सुजाले २–२ तथा अलिअसगर शम्स र करण धिमनले १–१ विकेट लिए।

प्रकाशित: ३१ चैत २०८१ १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast