
काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू अझै देशको प्रधानमन्त्री रहेको दाबी गरेकी छन्। आफ्नो पार्टी अवामी लिगका कार्यकर्ता र समर्थकहरूलाई अनलाइन सम्बोधित गर्दै उनले यस्तो बताएकी हुन्।
मोहम्मद युुनुस नेतृत्वको अन्तरिम सरकार अवैध रहेको भन्दै उनले बंगलादेशको प्रधानमन्त्री आफू नै रहेको बताइन्।
उनले भनिन्,‘देश छाडिसकेपछि सबै थोक छाडेको भनेर उहाँ (युनुस) हरूले सोच्नु हुँदैन। संविधानअनुसार जनताबाट चुनिएको प्रतिनिधि र संसदबाट चयन भएको उम्मेदवारका रूपमा बंगलादेशको प्रधानमन्त्री म हुँ। उहाँहरूको सत्ताको कै वैधता छैन।’
हसिनाले बंगलादेशमा आफ्नो पाटी अवामी लिगमाथि प्रतिबन्ध लगाउने मागप्रति आपत्ति जनाएकी छन्। उनले प्रतिबन्धको माग गर्नेहरूको हिम्मत देखेर आफू हैरान भएको बताइन्।
‘शेख मुजीबले अवामी लिगको माध्यमबाट बंगालका जनतालाई एकजुट गरेर देशलाई स्वतन्त्रता दिलाएको कसैले भुल्न हुँदैन,’ उनले भनिन्।
हसिनाले आफ्नो अनलाईन सम्बोधनका क्रममा बंगलादेशका अन्तरिम सरकार प्रमुख युुनुसलाई निशाना बनाइन्।
युनुससँग देश चलाउन कुनै संवैधानिक आधार वा जनादेश नभएको उनले बताइन्। युनुसले विदेशी धनमार्फत एक सुनियोजित योजनामार्फत सत्ता हासिल गरेको हसिनाको आरोप छ।
हसिना यतिबेला भारतमा छिन्। बंगलादेशमा गत वर्ष भएको उग्र विद्यार्थी आन्दोलनपछि उनी भारतमा शरण लिएर बसेकी छन्। बंगलादेशले त्यही बेलादेखि उनको प्रत्यर्पणको माग गरिरहेको छ।