अन्नपूर्ण आरोहण सुरु, एकैदिन ३२ आरोही चुचुरोमा

हिमाल प्रेस २६ चैत २०८१ १८:०५
12
SHARES
अन्नपूर्ण आरोहण सुरु, एकैदिन ३२ आरोही चुचुरोमा तस्बिर लाक्पा शेर्पाको फेसबुकबाट

म्याग्दी- म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ। ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ। आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण संघले जनाएको छ।

संघका महासचिव मोहन लम्सालका अनुसार सेभेन समिट ट्र्याकबाट ९, पायनियर एडभेन्चरबाट ८, आठके एक्सपिडेसनबाट ९, इमाइजिन नेपालबाट ३ र मकालु एभेन्चरबाट २ जनाले अन्नपूर्णको सफल आरोहण गरेका छन्। अन्य दिनको तुलनामा सोमबारको मौसम अनुकूल रहेकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएका छन्।

तर, आरोहण टोलीका दुई शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन्। क्याम्प दुई र तीनको बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा बेपत्ता भएका हुन्। उनका खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ।

आरोही मिग्मा शेर्पाले आफ्नो अनुभव सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो। अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुन्दर हिमाललाई बिदाइ गरें। अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ।’

वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन्। गत वर्ष मात्र २५ जनाले अनुमति लिएका थिए। ४,१९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आरोही, शेर्पा, पथप्रदर्शक, मजदुर र पर्यटकहरू भरीएका छन्।

प्रकाशित: २६ चैत २०८१ १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast