शिक्षक आन्दोलनप्रति नेसपा नयाँ शक्तिको ऐक्यबद्धता, तत्काल शिक्षा ऐन जारी गर्न माग

हिमाल प्रेस २६ चैत २०८१ १४:०९
1.1k
SHARES
शिक्षक आन्दोलनप्रति नेसपा नयाँ शक्तिको ऐक्यबद्धता, तत्काल शिक्षा ऐन जारी गर्न माग

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले शिक्षक कर्मचारीहरूको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अविलम्ब शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेको छ।

प्रवक्ता कृष्ण शर्माले आज विज्ञप्ति जारी गर्दै  आन्दोलनप्रति ऐक्यबद्धता जनाए। प्रवक्ता शर्माले विद्यालयका शिक्षकहरूको पेसागत हक, हित र अधिकारको विषयमा नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले शिक्षक कर्मचारीहरूको मागमा सरकारको उदासीनताका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको बताए। शर्माले विज्ञप्तिमा भने,’उक्त आन्दोलनका कारण मुलुकका सार्वजनिक विद्यालय, ४ लाख शिक्षक र ७० लाख विद्यार्थीहरू प्रभावित भएका छन्। सरकारको अचेतन र राजनीतिक दलहरूको गैरजिम्मेवारीपूर्ण गतिविधिले शिक्षा क्षेत्रलाई थप समस्यामा डुबाउन सक्ने जोखिम रहेको छ।’

प्रवक्ता शर्माले शिक्षा ऐन तत्काल जारीको आवश्यकता औंल्याउँदै भने, ‘सम्पूर्ण शिक्षा क्षेत्रको पुनःसंरचना र सुधार अहिलेको मुख्य आवश्यकता हो। संविधानमा शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको भएता पनि संघीय संरचनामा आवश्यक कानुनी र नीतिगत सुधार अझै भएको छैन।’

नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच भएको सहमति अनुसार शिक्षा विधेयक यथाशीघ्र पारित गर्नुपर्ने माग नेसपा नयाँ शक्तिको छ।  ‘शिक्षक कर्मचारीहरूको आन्दोलनप्रति हाम्रो पार्टी नेसपा (नयाँ शक्ति) ऐक्यबद्धता प्रकट गर्दै सरकारले समस्या तुरुन्तै समाधान गराेस् भन्ने जोडदार माग गर्दछ,’ उनले भने।

शिक्षा क्षेत्रमा दुईखाले प्रणालीको अन्त्य गर्न र शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन पर्ने आवश्यकता समेत उल्लेख गर्दै शर्माले शिक्षा क्षेत्रमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप र दलीयकरणको विरोध जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast