
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्।
सभामुख रामचन्द्र मण्डलले प्रधानमन्त्री ओलीले मंगलबार प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्।
सभामुख मण्डलका अनुसार प्रधानमन्त्री ओलीको बिहान ११ बजे प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
‘भोलि बिहान ११ बजे जनकपुर विमानस्थलमा अवतरण गरेर उहाँको सोझै प्रदेशसभा भवन आउने कार्यक्रम छ,’ सभामुख मण्डलले हिमालप्रेससँग भने,‘त्यसपछि प्रधानमन्त्रीज्यूले प्रदेशसभा बैठकलाई सम्बोधन गर्नु हुनेछ।’
प्रदेशसभाको सम्बोधनपछि प्रधानमन्त्री ओलीको सिरहा जाने कार्यक्रम रहेको सभामुख मण्डलले बताए।
प्रधानमन्त्रीले सम्बोधन गर्ने भएपछि बिहान १० बजे प्रदेशसभा बैठक बोलाइएको उनले जानकारी दिए।
ओली सम्बोधनका लागि आउने भएपछि उनको स्वागतका लागि प्रदेशसभा सचिवालयले विमानस्थलदेखि प्रदेशसभा भवनसम्म तीनवटा स्वागतद्वार तयार पारेको छ। त्यसतै प्रदेशसभा बैठक हललाई श्रृंगार गरिएको छ। त्यस्तै प्रधानमन्त्रीको सम्मानमा प्रदेशसभा परिसरभित्र सुरक्षा निकायद्वारा सलामी अर्पणको कार्यक्रमसमेत राखिएको छ।