
मोरङ- संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँमा जारी अनिश्चितकालीन शिक्षक आन्दोलनप्रति जहदा गाउँपालिकाले समर्थन जनाएको छ। गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा सहभागी भएसँगै पठनपाठन तथा अन्य शैक्षिक गतिविधिहरू प्रभावित भएका छन्।
गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहद्वारा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पठाइएको पत्रमा आन्दोलनका कारण नियमित शैक्षिक कार्यक्रम र गाउँपालिकास्तरीय योजना प्रभावित भएको जनाइएको छ।
‘शैक्षिक सत्र २०८२ को भर्ना अभियान पनि तोकिएको समयमा सञ्चालन गर्न सकिने अवस्था छैन,’ अध्यक्ष साहले पत्रमार्फत जानकारी गराएका छन्।
शिक्षकहरूको जायज मागमा गाउँपालिकाको समर्थन रहेको उल्लेख गर्दै पत्रमा मन्त्रालयलाई यथाशीघ्र माग सम्बोधन गर्न र शिक्षक कर्मचारीलाई उच्च मनोबलका साथ पुनः कार्यस्थलमा फर्कन सक्ने वातावरण निर्माण गर्न आग्रह गरिएको छ।
सरकारले अझैसम्म संघीय शिक्षा ऐन जारी नगरेको भन्दै नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौँमा शैक्षिक आन्दोलन जारी छ। आन्दोलनले देशभरका सामुदायिक तथा संस्थागत विद्यालयहरूको कामकाजमा असर पारिरहेको छ।