
झापा- शिवसताक्षी नगरपालिका–१० को कार्यालयलगायत सार्वजनिक प्रयोजनमा रहेको सरकारी जग्गा भूमाफियाले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ। यसपछि स्थानीय जनप्रतिनिधि र राजनीतिक दलहरुले सरकारी जग्गाको संरक्षणमा जुटेका छन्।
कनकाई सिँचाइ आयोजनाको भोगाधिकारमा रहेको ११ बिगाहा सात कट्ठा जग्गामध्ये चार बिगाहा जग्गामा वडा नं १० को कार्यालय भवन, प्रहरी चौकी, कभर्ड हल र फुटबल मैदान रहेको छ।
वडाध्यक्ष हर्क सिगुका अनुसार २०४६ जेठ २९ गते भूपाल किरातीको नेतृत्वमा गठित सुकुम्बासी समस्या समाधान आयोगको मिलेमतोमा दमक वडा नं ५ का केशरबहादुर खड्काले उक्त चार बिगाहा जग्गा आफ्नो नाममा दर्ता गराएका थिए। यद्यपि, खड्काले कहिल्यै उक्त जग्गामा भोगचलन गरेका थिएनन्।
खड्काले सो जग्गा २०४७ असोज १ गते लोकमाया खतिवडा, वेदकुमारी बस्नेत र नइद्रप्रसाद भण्डारीलाई बिक्री गरेको जनाइएको छ। तीनैजना व्यक्तिहरू हालसम्म उक्त जग्गाको भोगचलन गर्न आएका छैनन्। नगरपालिकाले सो जग्गाको बिक्री रोक्का गरेको छ।
वडाध्यक्ष सिगुले भने, ‘सरकारी स्वामित्वको जग्गा झुक्याएर हत्याएका भूमाफिया अहिले आएर जग्गा फुकुवा गरिदिनु पर्यो भन्दै मालपोत कार्यालयमा पुगेको थाहा भयो। तर, हामी जनप्रतिनिधि र राजनीतिक दल यो जग्गा भूमाफियाको चङ्गुलमा पर्न दिँदैनौँ।’
पूर्व नगरप्रमुख चन्द्रकुमार शर्माले २०४६ सालको तरल राजनीतिक परिस्थितिमा कर्मचारीसँग मिलेर भूमाफियाले जग्गाको धनीपूर्जा निकालेको जानकारी दिए। उनले उक्त जग्गा सरकारी स्वामित्वमा फर्काउन आफ्नो नेतृत्वकालमा पहल गरेको पनि बताए।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पर्शुराम ढुंगानाले सरकारी जग्गा भूमाफियाबाट फर्काउन सबै राजनीतिक दल एकमत रहेको बताए। उनका अनुसार प्रदेश र सघीय सरकारलाई पनि यस विषयमा ध्यानाकर्षण गराउनु पर्नेछ।
वडा सदस्य दीपक पोखरेलले भने,’जसले जग्गाको स्वामित्व दाबी गरिरहनुभएको छ, उनीहरू नगरका बासिन्दा होइनन्, उनीहरूलाई जग्गाको साँध सिमाना थाहा छैन, भोगाधिकार पनि छैन तर केही बिचौलिया जग्गा फुकुवा गरेर कमाउने प्रयासमा छन्।’